Logo
Logo

ओलीको गृहनगरमा विपन्नमाथि अत्याचार : गउँपालिकाले घर भत्काइदिएपछि सुकुम्बासीको बिचल्ली


दृष्टि संवाददाता


दमक । दमक– ७ स्थित सुकुम्बासी बस्ती पञ्चमुखी टोलकी धनमाया विश्वकर्मा शनिबार राति सुत्ने तरखरमा थिइन् । उनका लागि ओत लाग्ने छानो आकाश र सुत्नका लागि धरतीको डसना थियो । खुला आकाश उनको वासस्थान बनेको दुई दिन भयो ।

बिहीबार उनको परिवार हाँसीखुसी सुतेको थियो । शुक्रबार बिहान दमक नगरपालिकाको डोजरले घर भत्काइदिएपछि उनी घरविहीन छिन् । सुकुम्बासी बस्तीमा घर बनाएर बसेको २० वर्षपछि उनी सडकमा आइपुगिन् ।

सुकुम्बासी बस्तीमा रहेको छाप्रोमा नगरपालिकाले डोजर चलायो । डोजरले उनीहरूको परिवार मात्र चिल्लबिल्ल बनाएन, नगरपालिकाले लुगाफाटा र पकाउने सबै सामग्री लगिदियो । ‘भएको सबै लगिदियो । त्यसैले त आकाशलाई छानो बनाएर सुतेको छु ।

म्याट ओछ्याएर निदाउने कोसिस गर्दै छु,’ शनिबार राति ९ बजे नयाँ पत्रिकासँग धनमायाले भनिन्, ‘पकाएर खान भाँडाकुँडा लगिदियो । छिमेकीले दुई छाक त ल्याएर खुवाए । अब के खाने ?’

धनमायाका श्रीमान् गत वर्ष बिते । परिवार चलाउने जिम्मा उनकै काँधमा छ । उनी मुटुकी रोगी हुन् । केही समयअघि मात्र शल्यक्रिया गरेकी उनको चिकित्सकका अनुसार ‘आराम’को समय हो ।

तर, बस्ने आधार नै नगरपालिकाले उठाइदियो । घर भत्काएर टिन र भाटा छरपस्ट छन् । धनमाया शनिबार दिनभर टोलाइन् । उनको दिमागमा एउटै प्रश्न छ– अब के गर्ने ?

सुकुम्बासीलाई उठीवास लगाएर दमक नगरपालिकाले त्यहाँ सपिङ कम्प्लेक्स बनाउँदै छ । हाटखोलामा ४० करोडको साततले सपिङ कम्प्लेक्स बनाउने डिपिआर तयार भएको छ । पञ्चमुखी टोलमा पनि सपिङ कम्प्लेक्स नै बनाउने निश्चित भएको दमक नगरपालिकाका नगर प्रमुख रोमनाथ ओली बताउँछन् ।

यो नगर प्रधानमन्त्री केपी ओलीको गृहनगर हो । नगरका मेयर पनि साइनोले उनका भतिजा हुन् । उनले केही निर्णय गर्नुपर्दा प्रधानमन्त्री ओलीसँग परामर्श गर्ने गरेका छन् । प्रधानमन्त्री ओलीले १६ फागुनमा सुकुम्बासीका लागि सरकारले काम गरेको दाबी गरेका थिए ।

घर नभएका सुकुम्बासीलाई घर दिएर सरकारले घरविहीन हुन नदिएको दाबी गरेका थिए । तर, उनकै गृहनगरका सुकुम्बासीको भएको घर पनि भत्काएर नगरपालिकाले प्रधानमन्त्री ओलीको उद्घोषको धज्जी उडाएको छ । , यो समाचार आजको नयाँ पत्रिका दैनिकमा चिरञ्जीवी घिमिरेले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्