Logo
Logo

कांग्रेसकाे आठ बुँदे सुझाव- देशले फेरि लकडाउन धान्‍न सक्दैन


दृष्टि संवाददाता


काठमाडौं । नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण गर्न सरकारलाई आठ बुँदे सुझाव दिएको छ । सहमहामन्त्री डा प्रकाशशरण महत संयोजक रहको कोभिड-१९ अनुगमन समितिले संक्रमण रोक्न आवश्यक कार्य तत्काल अगाडि बढाउन सरकारसँग माग गरेको हो ।

अहिले संक्रमितको संख्या ह्वातै बढेको र गम्भीर बिरामी भएर आईसीयूमा बस्नुपर्ने बिरामीहरुको संख्या र मृतकको संख्या पनि बढ्दो रहेकोप्रति कांग्रेसले ध्यानाकर्षण गराएको छ ।

‘कोभिड-१९ को कू-व्यवस्थापन, चरम आर्थिक दुरुपयोग, स्वास्थ्य सामग्री खरीदमा भएको व्यापक भष्ट्राचारको नेपाली कांग्रेसले निरन्तर विरोध गर्दै आएको हो। कोभिड-१९ को संक्रमण कम हुँदै गए पनि फेरि संक्रमण विस्तार हुनसक्ने र विश्वका अन्य देशहरुमा देखिएका कोभिड-१९ को नयाँ भेरियन्ट नेपालमा प्रवेश गर्ने सम्भावनाप्रति सरकार उदासीन भएका कारण अहिले फेरि कोभिड-१९ को संक्रमण फैलँदो छ,’ समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

महामारी रोक्न कांग्रेसकाे ८ सुझाव

(१) गम्भीर बिरामीहरुको बढ्दो संख्यालाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सामग्रीको तत्काल आपूर्ति सुनिश्चित गरियोस्।

(२) अन्तर्राष्ट्रिय उडानबाट आउनेहरु र सीमा नाकाबाट आउनेहरुलाई व्यवस्थित चेक जाँच र क्वारेन्टाइनको व्यवस्था सुनिश्चित गरियोस्।

(३) कन्ट्रयाक्ट ट्रेसिङलाई प्रभावकारी बनाई सम्भावित संक्रमितहरुलाई लक्षित गरी पीसीआरको परीक्षण दायरालाई व्यापक गरियोस्।

(४) कोभिड-१९ को विरुद्ध आमजनतालाई खोप पुर्‍याउने कामलाई स्पष्ट कार्ययोजनासहित अगाडि बढाइयोस्। खोप आपूर्ति सुनिश्चित गर्न उच्च कूटनीतिक पहल गरियोस्।

(५) स्वास्थ्यकर्मीहरुलाई जोखिमभत्ता दिने घोषणा गरेर पनि सरकारले कार्यान्वयन गरेको छैन। यसले गर्दा स्वास्थ्यकर्मीहरुको मनोवल खस्किएको छ। स्वास्थ्यकर्मीहरुको बिमा र जोखिमभत्तालाई तत्काल कार्यान्वयनमा ल्याइयोस्। साथै, अस्पतालहरुमा स्वास्थ्यकमीहरुको संख्यामा देखिएको कमीलाई ध्यानमा राखी आवश्यक स्वास्थ्यकर्मीहरुको व्यवस्था तत्काल गरियोस्।

(६) पूर्वाग्रही ढंगले लामो समयदेखि प्राविधिक स्वास्थ्य सचिव रिक्त राख्‍ने सरकारी रवैयाको भर्त्सना गर्दै तत्काल प्राविधिक स्वास्थ्य सचिवको व्यवस्था सुनिश्चित गर्न माग गर्दछौं।

(७) देशले फेरि लकडाउनको अवस्था धान्‍न सक्दैन। यस परिस्थितिमा हरेक व्यक्तिले मास्क अनिवार्य लगाउने र भौतिक दूरीमा जोड दिने व्यवस्थालाई कार्यान्वयन गर्न सरकारसँग माग गर्दछ। साथै, कार्यालय तथा अन्य कार्यस्थलमा स्वास्थ्य मापदण्ड सुनिश्चित गर्ने र अनुगमनलाई मजवुत गर्नसमेत माग गर्दछौं।

(८) समग्रमा कोभिड-१९ को रोकथाम र उपचारका सम्बन्धमा कुरा मात्र गर्ने काम नगर्ने प्रवृत्ति छोड्न सरकारको गम्भीर ध्यानाकर्षण गर्दछौं।

प्रतिक्रिया दिनुहोस्