Logo
Logo

तेस्रो मुलुक जान भारतीयहरु नेपालको विमानस्थल प्रयोग गर्दै


दृष्टि संवाददाता


काठमाडौं । तेस्रो मुलुक जान भारतीय नागरिकले नेपालको बाटो प्रयोग गर्न थालेका छन् । भारतमा कोरोना संक्रमण रफ्तारमा बढेपछि कतिपय मुलुकले भारतको उडानमा रोक लगाएका छन् । अहिले उनीहरु नेपालको हवाई रुट प्रयोग गर्दै तेस्रो मुलुक जान थालेका छन् ।

विदेश जानका लागि चाहिँने ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिन काठमाडौंस्थित भारतीय दूतावासमा भिड हुने गरेको छ । दूतावासले कोरोना संक्रमण बढेसँगै भारतीय नागरिकलाई एनओसी आवश्यक परे दूतावासको वेबसाइटमा रहेको इमेल ठेगानामा सम्पर्क गर्ने र त्यसपछि क्रमिक रूपमा बोलाउने एडभाइजरी जारी गरेको थियो ।

दूतावासले दैनिक ५० जनालाई एनओसी दिने सूचना जारी गरेपनि दैनिक ३ देखि ४ सयसम्म आइरहेका छन् । पछिल्लो १२ दिनमा मात्रै १७ सय जना भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउदी अरब उडेका छन्।

भारतमा कोरोना संक्रमणको दर ह्वात्तै बढेपछि साउदीले भारतसँगको हवाई मार्गमा प्रतिबन्ध लगाएको छ। जसका कारण रोजगारीका लागि त्यहाँ जाने भारतीय नागरिकले नेपालको विमानस्थल प्रयोग गर्न थालेका छन्।

भारतमा केही दिनयता दैनिक एक डेढ लाख बढीमा कोरोना संक्रमण देखिन थालेको छ। जोखिम बढेपछि गन्तव्य देशले प्रतिबन्ध लगाउँदा त्यहाँका नागरिकले गन्तव्य मुलुक पुग्न पाएका छैनन्। त्यसैले विदेश जाने भारतीयहरु नेपाल हुँदै आउने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्