Logo
Logo

कर्णालीबाट राजनीतिक ‘डिपार्चर’


दृष्टि संवाददाता


काठमाडौं । कर्णाली प्रदेशमा माओवादी, कांग्रेस र एमालेको खनाल–नेपाल समूहले नयाँ सत्तासमीकरण बनाएका छन् । एमालेले समर्थन फिर्ता लिएका महेन्द्रबहादुर शाहीले कांग्रेस र खनाल–नेपाल समूहका केही सांसदको समर्थन लिएर विश्वासको मत हासिल गरेका छन् ।

संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको ५ पुसको कदमपछि राजनीतिक रूपमा भत्किएको वाम गठबन्धनको सत्तासमीकरण पनि तोडिने क्रम सुरु भएको छ । योसँगै प्रदेशमा कांग्रेस पहिलोपटक सत्तारुढ दल बनेको छ भने चार सांसदले फ्लोर क्रस गरेपछि एमालेको आन्तरिक विवाद वारपारको निर्णायक बिन्दुमा पुगेको छ । संसद् पुनस्र्थापनपछि प्रधानमन्त्री ओलीमाथि कर्णाली घटनाले ठूलो राजनीतिक दबाब पैदा गरेको छ ।

कांग्रेसले कर्णालीमा नयाँ समीकरण एमालेभित्रको अन्तर्विरोधको प्रतिफल भएको बताएको छ । कांग्रेस केन्द्रीय सदस्य एनपी साउदले कर्णालीबाट एमालेबाहेकका शक्तिहरूको गठबन्धन बनाउने पहल बलियो भएको बताए । ‘कर्णालीमा उत्पन्न राजनीतिक घटनाक्रम एमालेभित्रको अन्तर्विरोधको प्रतिफल हो । पार्टीभित्रको अन्तर्विरोध सघन रूपमा बढिरहेका वेला पदभन्दा पनि चिन्तनमा विभाजन आएको देखिन्छ ।

यो घटनाले एमाले विभाजनलाई थप निश्चित बनाएजस्तो देखिन्छ । अहिले सिंगो एमाले सत्तारुढ पार्टी हो,’ साउदले भने, ‘हामी प्रतिपक्षी हौँ । त्यसैले सत्तारुढ दल एमालेबाहेकका शक्तिहरूको गठबन्धन बनाउने प्रयास हुन्छ । देशभरि एमालेबाहेकको गठबन्धनकै लागि गृहकार्य भइरहेको छ । कर्णाली सरकारमा एमालेभित्रको अन्तर्संघर्षबाट प्राप्त परिणाम पनि हाम्रो अभियान अर्थात् हाम्रै ट्र्याकभित्रै आएको छ ।’

नेता साउदले एमालेबाहेकको गठबन्धन सरकारका लागि प्रयास जारी रहने बताए । ‘हामीले गरिरहेको प्रयत्न भनेको एमालेबाहेकको गठबन्धन सरकार हो । त्यसका लागि अहिले जसपाभित्रको अन्तर्संघर्षले अलमल भइरहेको छ ।

जसपाले पार्टीभित्रको अन्तर्संघर्षलाई सम्बोधन गरेर ओलीको विकल्प खोज्ने विषयमा एउटा निर्णय लिएर आयो भने हामी गैरएमाले गठबन्धन सरकारका लागि तयार छौँ । त्यसैले संसद्मा बहुमतका लागि जसपाले आफ्नो पोजिसन क्लियर गर्नुपर्ने हुन्छ,’ उनले भने ।, यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्