
काठमाडौं । धेरैलाई चासो छ– राजनीति अब कता जान्छ ? एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सेरोफेरो घुमेको राजनीतिको भविष्य धेरै हदसम्म उनकै निर्णयमा निर्भर छ। र, जिज्ञासा राख्नेहरूको प्रश्न यो पनि छ- प्रधानमन्त्रीले के गर्लान् ?
एमाले महाधिवेशन आयोजक समितिको सोमबारको बैठकमा अध्यक्ष ओलीले ‘ताजा जनादेशमा तयार रहन’ कार्यकर्तालाई निर्देश गरे। उनको राजनीतिक प्रतिवेदन ‘चुनाव तयारीको दस्तावेज’सरह थियो।
‘प्रतिनिधिसभाको वर्तमान संरचना सरकारलाई असहयोग गर्न र यसलाई सहज ढंगले चल्न नदिन पर्याप्त छ। तर, वैकल्पिक सरकार दिन र देश र जनताको हितमा काम गर्न दिन प्रतिनिधिसभा सक्षम देखिएको छैन। यस्तो स्थिति लामो समयसम्म रहिरहनु उचित हुँदैन’, अध्यक्ष ओलीको प्रतिवेदनमा लेखिएको छ, ‘यस्तो विरोधाभासको विकल्प दुईवटा मात्रै हुन सक्छन्- कि संसद्मा प्रतिनिधित्व गर्ने दलहरूका बीचमा नीतिमा आधारित दिगो समीकरण बनाउने र संसद्लाई सहज ढंगले चलाउने कि त ताजा जनादेशका लागि अगाडि बढ्ने।’
प्रधानमन्त्रीको बुझाइमा समीकरणको सम्भावना क्षीण छ। अर्थात्, चुनावकै सम्भावना बलियो छ। ‘वर्तमानमा एमालेलाई बाहिर राखेर बन्ने समीकरण दिगो हुने सम्भावना छैन।
त्यसले केही व्यक्तिका सत्ता आकांक्षा पूरा गर्नेबाहेक देश र जनताको पक्षमा सकारात्मक योगदान दिने सम्भावना त झनै छैन। तत्काल नेकपा (एमाले)को नेतृत्वमा अर्को कुनै राजनीतिक दल सहभागी भएर दिगो राजनीतिक निकास खोज्ने सम्भावना पनि बलियो देखिएको छैन’, ओलीले भनेका छन् ।, यो समाचार आजको अन्नपुर्ण पोष्टमा छ ।












