Logo
Logo
समाचार विश्लेषक

सत्ता टिकाउन एमसीसीको अस्त्र


दृष्टि संवाददाता


काठमाडौं । सत्ताका लागि नेकपा एमाले पार्टीमात्र नभई देश र जनतालाई नै दाउमा राखेका प्रधानमन्त्री केपी शर्मा ओलीले कुनैपनि बेला अर्को कुटिल चाल चल्ने संकेतहरु देखाइसकेका छन् ।

उनले सत्ताकै लागि फेरि अमेरिकी सहयोग सम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई कार्डका रुपमा फालेका छन् । अमेरिकाले सामरिक स्वार्थका लागि सैन्य रणनीतिका साथ अगाडि सारेको (एमसीसी)प्रति ओलीको चासो सत्ता जोगाउने चालका रुपमा लिइएको छ ।

नेपाली काँग्रेसलाई एमसीसीको एजेन्डामा नजिक्याएर आफूविरुद्ध बन्दै गरेको सत्ता समीकरणबाट शेरबहादुर देउवालाई पछि हट्ने अवस्था सिर्जना गर्न ओलीले (एमसीसी) कार्ड फालेको राजनीतिक विश्लेषण गरिएको छ ।

 

गत शनिबार बालुवाटारमा सर्वदलीय बैठक डाकेर ओलीले एमसीसी पारित गराउन संसदमा प्रस्ताव बढाउने विषयमा राजनीतिक सहमतिमा जोड दिएका थिए । संसदलाई छल्नेदेखि संसद नै विघटन गर्ने सम्मको बितण्डा मच्चाएका ओलीले शक्ति केन्द्रलाई खुशी पार्न संसदको सहारा लिन खोजे । स्मरणय रहोस्, ओलीले प्रतिनिधि सभा विघटन गराएका थिए ।

तर, सर्वोच्च अदालतले उनको कदमलाई असंवैधानिक ठहर गरेपछि संसद ब्युँतिएको छ । उनी यही संसदबाट एमसीसी पारित गराउन चाहन्छन्, जसको उनले हत्या प्रयास गरेका थिए । उनले संसदलाई सरकारबाट विजनेशसम्म नदिएर सोमबारबाट चालु अधिवेशन नै अन्त्य गराए । संसद आफ्नो व्यक्तिगत स्वार्थका लागिबाहेक चल्नुहुन्न भन्ने ध्येयले ओली चलेको देखियो । उनले संसदलाई विदेशीको हितमा समेत प्रयोग गर्न खोजे ।

प्रधानमन्त्री ओली फेरि संसद विघटन गर्ने परिस्थिति निर्माण गर्दैछन् । त्यो परिस्थिति बन्न नसके संकटकाल सम्मको विकल्प ओलीले सोचिसकेका छन् ।

ओलीले सत्ताका लागि अन्य विदेशी शक्ति केन्द्रसँग पनि भित्री सहमतिहरु गरेको खुल्दै गइसकेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीको यस्तै गतिविधिका कारण देशलाई बन्धकी बनाएको टिप्पणी गरेका छन् । ओली प्रधानमन्त्री हुँदा भारतीय गुप्तचर निकाय ‘रअ’का प्रमुख सामन्तकुमार गोयल बालुवाटारमा छिरेर छलफल गरे ।

नेपालको इतिहासमा विदेशी खुफिया एजेन्सीका प्रमुख देशको प्रधानमन्त्रीको निवासभित्र खुलेआम पसेको यो पहिलो घटना हो । यसलाई ओलीले आफ्नो शक्ति प्रदर्शनका रुपमा प्रस्तुत गरे । उनका प्रेस सल्लाहकार सुर्य थापाले ‘रअ’ प्रमुख गोयलसँगको भेटघाटको औपचारिक सूचनामार्फत् खुलाएका थिए । ओलीले नबोलाएको भए गोयल आउँदैन थिए । उनले भारतको साथ लिनेबारे छलफलका लागि बोलाएका थिए ।

गोयलको भ्रमणपछि ओलीको भूमिकामा यु–टर्न भयो । उनले सीमालगायत विषयमा उठाउँदै आएको मुद्दालाई आफै ओझेलमा पारे । यसबाट गोयलसँग कुनै खास सम्झौता भएको बुझ्न कठिन भएन । ओलीले चुच्चे नक्शालाई पनि राजनीतिक अस्त्रका रुपमा फालेको घटनाक्रमले पुष्टि गर्दै लगेको छ ।

उनले कालापानीलगायत नेपाली भूमि फर्काउन देखावटी गतिविधि बाहेक गम्भीर कूटनीतिक पहल गर्न छाडेका छन् । अहिले यो विषय उठ्नै छाडेको छ । ओलीको यो खालको भूमिकाप्रति नेपाली काँग्रेसका नेता प्रदीप गिरीले टिप्पणी गर्दै चुच्चे नक्शालाई सतरञ्जलको पासा भनेका छन् ।

संसदमा बोल्दै गिरीले ओलीले सतरञ्जको पासाका रुपमा चुच्चे नक्शा ल्याएको भनिरहँदा लम्पसारको शैली देखिदै गएको छ । मुखले आलोचना गरेजस्तो गर्ने व्यवहारले देशहित विपरित गएर विदेशीलाई लाभ पुर्याउन भूमिका निभाउने ओलीको कार्यशैली खुल्दै गएको छ । यसबाट उनको खोक्रो राष्ट्रवाद उदांगिदै गएको छ ।

देशभित्र एकपछि अर्को असंवैधानिक कदम चालेको अदालतले नै पुष्टि गरिसक्दा पनि ओली सत्तामा रहनुमा विदेशी शक्तिको साथ नै मुख्य कारण देखिएको छ । उनी अझै पनि सत्तामा रहन देश र जनतालाई दाउमा राखेर भएपनि सम्झौताहरु गर्न तत्पर छन् । उनीहरुको स्वार्थ पूरा गर्ने कदम चाल्न खोजिरहेका छन् ।

ओलीका लागि देश र जनता नभई विदेशीको स्वार्थ प्राथमिकतामा छन् भन्ने देखिइसकेको छ । त्यसैले उनले पार्टी नै छिन्नभिन्न पार्ने सम्मको कदमहरु चाल्दै आएका छन् । उनको भूमिकाका कारण नेकपा विभाजन भयो । अदालतको आदेशले ब्युँतिएको नेकपा एमाले पनि औपचारिक विभाजन हुन मात्र बाँकी छ । ओलीले एमालेभित्र लामो संघर्ष गरेका नेताहरुलाई निलम्बनसम्मको निर्णय गरे ।

१५ वर्ष महासचिव रहिसकेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको अपमान गरे । विचार, पद्धति र सिद्धान्तमा विश्वास गर्ने पूर्वप्रधानमन्त्री झलनाथ खनालको समेत अपमान गरे । जीवन नै नेकपा एमालेमा समर्पित गरेका नेताहरुलाई राजनीतिक जीवनको उत्ताराद्र्धमा गरेको अपमान सामान्य होइन । भिन्न विचार राख्नेलाई अलिकति पनि ठाउँ नराखेर नेताहरुलाई पेलेको पेल्दै पर्दा उनले ‘गर या मर’को अवस्थासम्म पुर्याए । जसले नेपालको राजनीतिमा कहिले नघटेका घटनाहरु विकास हुनथाले ।

कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदा एमालेका ४ सांसदले ह्वीप नै उल्लंघन गरेर फ्लोर क्रस गरे । नेपालको संसदीय इतिहासकै फ्लोर क्रस पहिलो घटना हो । जुन ओली प्रधानमन्त्री र पार्टी अध्यक्ष हुँदा भएको छ । माधव नेपालको भनाईमा ‘मर्ता क्या नहीं कर्ता’ भएपछि कर्णालीमा देखाइदिए ।

फ्लोर क्रसका घटनाहरु अन्य प्रदेश हुँदै प्रतिनिधि सभासम्म पनि नहोला भन्न सकिदैन । यसमा ओलीको एकछत्र प्रभाव जमाएर विरोधीलाई सिध्याउन खोज्ने चाल जिम्मेवार छ । पार्टी एक बनाएर जान खोज्ने नेताहरुलाई कमजोर ठानेर फेरि पेल्न खोज्नु र कारबाही गर्नु ओलीको महाभूल थियो । उनले केही समयका लागि सत्ता टिकाउन त सक्लान् तर यही शैलीमा पार्टीलाई नै सिध्याउने हुन् भन्ने खतरा बढेको छ ।

ओलीले पार्टी र देशभन्दा पनि आफूलाई माथिको देख्न थालिसकेका छन् । त्यसैले उनीमा ‘म नै देश हुँ’ भन्ने भावना विकास भइसकेको छ । जुन पार्टीले उनलाई अध्यक्ष हुँदै सत्ताको चुलीमा पुर्यायो त्यो पार्टी छिन्नभिन्न पार्न लागेका छन् ।

आफू र आफ्ना सिमित झुण्डहरु भए पार्टी चलिहाल्छ भन्ने महत्वाकांक्षा ओलीमा जागेको छ । उनी जनताको कुरा सुन्दैनन्, बरु दिनरात विदेशीलाई रिझाउन व्यस्त छन् । उनी देशको कुरा सोच्दैनन् कसरी हुन्छ विदेशीको स्वार्थ पूरा गरेर सत्तामा टाँसिइरहन सकिन्छ भन्ने ठान्छन् । राष्ट्रवाद ओलीको सतरञ्जको पासामा सिमित भएको छ ।

अहिले ओलीले एमाले सिध्याउने गृहकार्य पाए बमोजिम गरिरहेको विश्लेषणहरु भइरहेको छ । उनी कम्युनिस्ट नाममा मात्र सिमित भएका छन् । उनी कम्युनिस्ट आन्दोलन नै समाप्त पार्नतर्फ भूमिका निभाइरहेका छन् ।

कम्युनिस्टको नाम नै सुन्न नचाहने अमेरिकाको स्वार्थ पूरा गर्न ओलीको कदम बढिरहेको छ । हिन्दुवादी भाजपा भारतको प्रधानमन्त्री बनेका नरेन्द्र मोदीलाई रिझाउन सक्रिय छन् । उनका गतिविधि त्यसै दिशातर्फ केन्द्रित छ । तर, ओलीका चालहरु खुल्दै गएपछि जनतामा चरम असन्तुष्टि बढेको छ ।

ओली अझै पनि देशलाई जुवाको खालमा हाल्न खोजिरहेका छन् । उनी फेरि संसद विघटन गर्ने परिस्थिति निर्माण गर्न खोजिरहेका छन् । त्यो परिस्थिति बन्न नसके संकटकालको सम्म विकल्प खोजेर बढ्न खोजेका छन् ।

कोरोना भाइरसको दोस्रो लहरको महामारी देखाएर संकटकाल लगाएर केही महिना सत्ता लम्ब्याउने सम्ममा ओलीको ध्येय देखिन्छ । उनले देश र जनतालाई नै दाउमा राखेर भएपनि सत्तामा टिकिरहने शैली फेरि पनि अपनाउन खोजेका छन् । यसमा अहिलेसम्म ओली सफल पनि भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्