Logo
Logo

नेपालको प्रस्ताव ओलीले गरे अस्वीकार


दृष्टि संवाददाता


काठमाडौं । एमाले अन्तर्विरोध दुर्घटनाउन्मुख भएकै वेला प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र माधवकुमार नेपाल संवादमा बसे पनि विनानिष्कर्ष टुंगिएको छ । बुधबार होटेल मेरियटमा भएको ‘वान अन वान’ संवादमा विवाद समाधानका लागि माओवादीसँग एकतापूर्वकै अवस्था (२ फागुन ०७५) मा फर्कनुपर्ने नेपालको प्रस्ताव ओलीले अस्वीकार गरेपछि संवाद निष्कर्षविहीन बनेको हो ।

‘पार्टी विवाद समाधानका लागि म तयार नै छु । तर, यसका लागि सबैभन्दा पहिला फागुन २८ यताका सबै निर्णय खारेज हुनुपर्छ । पार्टीलाई माओवादीसँग एकतापूर्वकै अवस्थामा पुर्‍याउनुपर्छ,’ भेटमा ओलीसँग नेपालको प्रस्ताव थियो, ‘सहमतिको प्रस्ताव बिन्दु त्यही मात्रै हो ।’

नेपालको प्रस्तावलाई ओलीले अस्वीकार गरेका छन् । भेटपछि नेता नेपालले निकट नेताहरूसँग गरेको ब्रिफिङअनुसार ओलीको भनाइ थियो, ‘तपाईंहरूले गरेको गतिविधिका आधारमा पार्टीले निर्णय लिएको छ । ती निर्णय कार्यान्वयन गरेर जानु नै अहिलेको उत्तम विकल्प हो । अन्य विषय तपसिलका कुरा हुन् ।’

स्रोतका अनुसार भेटमा ओलीले ‘तपाईंहरूले ममाथि निरन्तर आक्रमण गर्नुभयो । यतिसम्म कि अध्यक्षबाट मात्रै होइन पार्टीबाट समेत कारबाही गर्नुभयो । प्रचण्ड एमाले सिध्याउन लागेका छन् । मैले चालेका कदम यसैका जवाफ हुन्’ भनेका थिए । जवाफमा नेपालको भनाइ थियो, ‘तपाईंले एकपछि अर्को प्रतिगमनकारी कदम चाल्नुभयो ।

अदालतले एमाले र माओवादी ब्युँताइदिएपछि अदालतको निर्णयको पनि अवज्ञा गर्नुभयो । सत्ताको बलमा जे पनि गर्न सकिन्छ भन्ने सोच देखियो । पार्टीभित्र असन्तुष्टका मत सुन्ने होइन, कारबाही गरेर तह लगाउने नीति लिनुभयो । यसले सही ठाउँमा पुर्‍याउँदैन ।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

 

प्रतिक्रिया दिनुहोस्