Logo
Logo

बाल संगठनबाटै एक बालक १५ वर्षदेखि बेपत्ता, नौ सय बढीको अवस्था अज्ञात !


दृष्टि संवाददाता


काठमाडौं । आफन्तले नेपाल बाल संगठनमा बुझाएका एक बालक १५ वर्षदेखि बेपत्ता छन् । खोजबिनका लागि आफन्तले निरन्तर धाउँदा पनि बालकको अवस्था पत्ता लगाउन सकेका छैनन् ।

ओखलढुंगाको तत्कालीन बर्नालु गाविस– ५ ९हाल सिद्धिचरण नगरपालिका– ५० स्थायी घर भएका पोकलप्रसाद दाहाल बाल संगठनबाटै बेपत्ता भएका हुन् । संगठनले उनलाई एक भारतीयको जिम्मा लगाइएको बताए पनि ती व्यक्तिसँग बालकका आफन्तको सम्पर्क गराउन सकेको छैन ।

संगठनका तत्कालीन कर्मचारीले ०६३ मा पोकलप्रसादलाई भारतको मुम्बई बस्ने धीरजकुमार कोछरको जिम्मा लगाएका थिए । प्रक्रिया नै पूरा नगरी बालक बुझाइएकाले अहिले आफन्तको सम्पर्क हुन नसकेको हो ।

‘०६३ सालदेखि नै भान्जा खोज्न पटक–पटक बाल संगठनमा आएको छु, तर विभिन्न बहाना गरेर सम्पर्क नै गर्न दिइएको छैन,’ पोकलप्रसादका मामा उमाकान्त दाहालले भने, ‘हामीलाई जानकारी नै नदिई कसरी विदेशी नागरिकलाई हाम्रो मान्छे बुझाइयो ?’

पोकलप्रसादलाई १५ जेठ ०६० सालमा बाल संगठनमा भर्ना गरिएको थियो । बाल संगठन टुहुरा बालबालिकाको संरक्षण र शिक्षा दिने सरकारी निकाय हो । संगठनको १५ जेठ ०६३ को निर्णयअनुसार पोकलप्रसादलाई स्थानीय अभिभावकको रूपमा भारतीय नागरिक कोछरलाई १६ वर्षसम्मका लागि भनेर जिम्मा लगाइएको थियो ।

त्यतिवेला उनी पाँच वर्षका थिए । त्यसरी विदेशीलाई बच्चा दिन मिल्ने प्रावधान नभएकाले बच्चाको बिक्री गरिएको हुन सक्ने आशंका आफन्तले गरेका छन् ।

संगठनका पूर्वकार्यकारी निर्देशक बालकृष्ण डंगोलले दाहाललाई भारतीय नागरिक कोछरलाई बुझाइएको भनेर लिखित पत्र मामा उमाकान्तलाई ०६३ सालमै दिएका थिए । त्यसयता पटक–पटक भान्जा खोज्न संगठनमा आउँदा कहिले परीक्षा भएको भनेर त कहिले अर्को वर्ष नेपाल आउने भनेर आफूलाई झुलाइएको उमाकान्तले बताए ।

‘पढाइ सकेपछि नेपाल आउँछ भनेर पर्खाउने काम भयो, तर अझै पनि कुनै जानकारी छैन,’ उनले भने । तत्कालीन कार्यकारी निर्देशक डंगोलले नै आफूलाई त्यसरी झुक्याएको उनको भनाइ छ । उनले हाल संगठनमा भान्जा उपलब्ध गराइदिन भन्दै निवेदन दिएका छन् ।, यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्