Logo
Logo

भारतीय अभिनेता सोनुको सहयोगमा एक नेपालीले पाए नयाँ जीवन


दृष्टि संवाददाता


काठमाडौं । कोभिड–१९ संक्रमणका माझ देशभित्रै वा विदेशमा अलपत्र श्रमिकलाई उद्धार र सहयोग गरेर घर फिर्ता ल्याउन भूमिका खेल्दै आएका भारतीय अभिनेता सोनु सुदले जटिल मानिएको मेरुदण्डसम्बन्धी रोग ‘एंकाइलोजिङ स्पोन्डिलाइटिस’ बाट ग्रसित नेपाली युवकको उपचारमा मद्दत गरेका छन् ।

पर्वत, सिद्रे मूल घर भई हाल पोखरा, काहुखोला बस्दै आएका ३० वर्षीय मधु पौडेल १९ वर्षको उमेरदेखि बाथ रोगले थलिएका थिए । ‘हिँड्दाहिँड्दै कम्मरदेखि तल खुट्टाका आँख्ला (जोइन्ट) दुखेर उसलाई असाध्य हुने गरेको थियो,’ पर्वतमा दुःखजनी गर्दै बसिरहेकी मधुकी आमा सीताकुमारीले फोनमा भनिन्, ‘पछि त्यो दुःखाइ काछ (जाँघ) को जोर्नी (हिप जोइन्ट) मा बेसी हुन थाल्यो । खुट्टा पनि बांगिँदै गए, हिँडडुल गर्नै गाह्रो भयो । स्कुल छाड्नुपर्‍यो, दीर्घरोगीझैं घरवरपर गरिरह्यो । बिहे पनि हुन सकेन ।’

एम्स अस्पतालमा ‘एंकाइलोजिङ स्पोन्डिलाइटिस’ शल्यक्रियापछि बिरामी मधुका साथमा चिकित्सक डा.राजेश मल्होत्रा, डा.दीपक गौतमसहितको सहयोगी टिम । तस्बिर सौजन्य : डा.दीपक गौतम/कान्तिपुर

मधुको यही रोग हो भन्ने चार वर्षअघि मात्रै पोखरामा पत्ता लागेको थियो तर पैसा अभावले राम्रो ठाउँमा लगेर उपचार गर्न सम्भव भएको थिएन । गाउँमा आफन्तको खेतीबारी कमाएर मुस्किलले छाक टार्दै आएकी सीताका श्रीमान् भीमप्रसाद पौडेल (६१) पोखरामा साइकलमा चुरोट बिक्री गर्दै जीवन निर्वाह गरिरहेका छन् ।

‘हामी गरिबको दैव सहाराझैं भयो,’ सीताले भनिन्, ‘खोइ, भारतकै एक जना सहयोगीले छोराको उपचारमा भरथेग गरिदिए रे भन्ने सुनेकी छु । ऊ अस्पतालबाट डिस्चार्ज भइसकेको रहेछ । अब एक महिनाजतिमा घर फिर्न सक्छ रे ।’

आफ्ना तीन छोरामध्ये जेठा मधुले मेरुदण्डसम्बन्धी रोगकै कारण १० कक्षाबाट पढाइ छाडेको र अरू दुई छोरा गोविन्द र विष्णुले एसएलसीसम्म पढाइ पूरा गरेको सीताले बताइन् । सामान्य भाषामा बुझ्दा ‘एंकाइलोजिङ स्पोन्डिलाइटिस’ मेरुदण्ड र कम्मरको तल्लो भागलाई असर गर्ने एक प्रकारको बाथ रोग हो ।

सुरुमा यो रोगले कम्मरको तल्लो भाग र पिठ्युँलाई जोड्ने जोर्नी (स्याक्रो–आइलियाक जोइन्ट) लाई आक्रमण गर्छ तर यो जोर्नी अचल (स्थिर) रहने हुनाले सामान्यतया बिरामी अरू जोर्नीलाई असर गर्न थालेपछि मात्रै अस्पताल पुग्छन् ।

अनि भेटिए सोनु
मधुको तत्कालै दुवै ‘हिप–रिप्लेसमेन्ट’ गर्नुपर्ने भयो तर यति संवेदनशील र महँगो उपचार पद्धतिका लागि खर्चको जोरजाम भएको थिएन । आफन्तजनसँग ब्याजमा खोजेको थोरै पैसा लिएर पोखराबाट दिल्लीसम्म गएका मधु र गोविन्दका लागि नेपाली हिसाबमा ८ लाख रुपैयाँभन्दा बढी लाग्ने यो शल्यक्रिया आफैंमा मुस्किलको कुरा थियो । घरमा बुबा–आमासँग पैसा माग्ने अवस्था थिएन ।

त्यसपछिको चरणमा आर्थिक सहयोग र भरथेगको खोजी गर्दै मधुले भारतीय अभिनेता सोनु सुदको कल्याणकारी अभियानमा भर परेर सहयोगको पुकारा गरेका थिए । मधुले गत फेब्रुअरी १३ मा ट्वीटरमा सोनु सुद र उनको फाउन्डेसनलाई सम्बोधन गर्दै लेखेका थिए, ‘हेलो सर, म मधु पौडेल, नेपालबाट हुँ । विगत १० वर्षदेखि एंकाइलोजिङ स्पोन्डिलाइटिस रोगसँग लडिरहेको छु । मैले कक्षा १० देखि स्कुल पनि छाड्नुपर्‍यो । एम्सका डाक्टरहरूले मलाई सर्जरी गर्नुपर्ने सल्लाह दिएका छन् तर मसँग पैसा छैन । के तपाईं मेरो मद्दत गर्न सक्नुहुन्छ रु’

यही पुकाराको सुनुवाइ गर्दै सुदले मधुको उपचारका लागि आर्थिक सहयोग गर्ने बचन दिएका थिए । यो खर्चको विवरणबारे सोनु सुद फाउन्डेसनले केही नखुलाए पनि गत मार्च १ मा सुदले ट्वीटरमा लेखेका थिए, ‘अतिथि देवो भवः हिंदुस्तान से अपने देश नेपाल बिना लाठी के दौडते हुए जाओगे ।’

एम्स अस्पतालमा उपचारार्थ आएका बेला लट्ठीको सहारामा मधु । तस्बिर सौजन्य : डा.दीपक गौतम

कोरोना महामारीका माझ सोनु सुदले हजारौं बिचल्लीमा परेका र देश–विदेशमा रहेका भारतीय सर्वसाधारणलाई उद्धार र सहयोग गर्दै आएका छन् । भारतभित्रै पनि आर्थिक अभावका कारण स्वास्थ्य उपचार नपाउनेलाई सुदले सहयोग गरेका छन् ।, यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्