Logo
Logo

सामाजिक संजालमा ओली सरकारको अनुहार


 एमपी सुब्बा


क्युवाली कम्युनिष्ट पार्टीका प्रमुख राउल क्यास्ट्रोले केही समयअघि पद त्यागको घोषणा गरे । पद त्याग्दा उनले भने, ‘नयाँ पुस्तालाई पनि अवसर दिनपर्छ ।’

८९ वर्षीय क्यास्ट्रोले पदत्याग गरिरहँदा आफ्ना उत्तराधिकारी भएर पार्टी नेतृत्वमा रहने नेताहरुलाई राष्ट्रियता, समाजवाद, नैतिकता र संस्कृतिको महत्व नभुल्न सचेत गराउँदै भने, ‘मैले मेरो जिम्मेवारी र योजनाहरु पूरा गरेको छु, त्यसैले अब पार्टीको जिम्मेवारीबाट मुक्त हुने निर्णय गरेँ ।’

क्युवाली क्यास्ट्रोको यो भनाइले नेपाली कम्युनिष्ट नेतृत्यप्रति ब्यंग्य गर्छ । यो लेखमा कम्युनिष्ट नेता क्यास्ट्रोको प्रशंग जोड्नुको कारण यो हो कि, केही दिनअघि एकजना नेपाली सोसल मिडिया युजरले लेखेका थिए, ‘बा’ नेताहरुको हालीमुहाली गर्ने देशमा युवा रमितेमात्रै भयौँ । बुढाहरु जुधिरहेको देख्दा एलर्जी हुन थाल्यो ।’

‘स्वतन्त्र युवा’ ट्विटर ह्याण्लबाट पोस्ट भएको उक्त भनाइमा आम नेपाली युवाको असन्तुष्टि उजागर, अर्कोतिर ‘साँढे जुधाइ’ गर्दै सत्तालिप्सा ‘बा’ नेताहरुमाथि शाब्दिक प्रहार पनि । जो यतिखर सत्ताकै लागि नेपाली राजनीति भीरबाट लड्न लागेको ‘साँढे’जस्तै भएको छ ।

हुन त हामी कहाँ राउल क्यास्ट्रोसँग दाँज्न नेता छैनन् । आफूलाई कम्युनिष्ट भन्नेहरु धार बिर्सेर ‘कमाउनिष्ट’ बनेका छन् । ‘बाँचुञ्जेल सत्ता मै चलाउँ’ भन्ने विकृत भावनामा अभिसप्त नेताहरु एक–अर्कालाई मौका पाए भीर लडाउन बेर लगाउँदैनन् ।

आम जनतामात्र होइन, आफ्नै नेता र कार्यकर्ता रुष्ट र असन्तुष्ट हुँदासमेत ‘बा’ नेपाली कम्युनिष्ट नेताहरु रमिता देखाउन अव्यस्त छन् । असफल नेतृत्वको रमिता हेरिरहेका युवा कतिसम्म असन्तुष्ट छन् भन्ने सोसल मिडियामा आइरहेका अभिव्यक्तिहरुले बताउँछ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई यतिखेर ‘प्रधानमन्त्री’ पद जोगाउन हम्मेहम्मे छ । प्रधानमन्त्री ओलीको अहिलेको मती देख्दा राउल क्यास्ट्रोका दाजु, जो अमेरिकी साम्राज्यवादविरोधी कम्युनिष्ट नेताको रुपमा विश्वभर स्थापित फिडेल क्यास्ट्रोको भनाइलाई स्मरण गर्न मन लाग्यो । फिडेल क्यास्ट्रोले भनेका थिए, ‘आफूमात्रै जान्ने हुनु नेताको गुण होइन । नेता जसलाई भनिन्छ, उ सधैँ आफूभन्दा अरु चलाख र बुद्धिमान हुन्छ भन्ने सोच्छ ।’

फिडेल क्यास्ट्रोले संसारबाट विदा हुनुअघि भनेको यो कुरा प्रधानमन्त्री ओलीले आत्मसात गरेको भए अहिले सत्ता टिकाउन हम्मेहम्मे हुने थिएन । प्रधानमन्त्री ओलीले कार्यकर्ता र नेताहरुलाई रुष्ट र असन्तुष्ट बनाउने काममात्र गरेका छैनन् । नेपाली कम्युनिष्ट आन्दोलनलाई धरापमा पुर्याउने काम गरेको उनीमाथि आरोप लाग्न थालेको छ ।

बिग्रहको राजनीतिदेखि युवापुस्ता दिक्क हुन थालेका छन् । पहिले सडकमा देखिने युवाको असन्तुष्टि र आक्रोश अहिले शोसल मिडियामा पोखिरहेको छ । पर्खाल पोतेर नेता बनेका ‘बा’ नेताहरुका लागि फेसबुक, ट्विटरलगायतका सामाजिक सञ्जाल अर्को चुनौती बनेको छ ।

‘सरकार काम गर्दैन, गफमै भुलाउँछ । ‘बा’को उखान कति सुन्नु अब, उखानमै रमाएर पछि लाग्ने युवाले गर्दा बुढाहरुलाई जोश आइरहेको छ’ । ‘अकेला जीवन’ ट्विटर ह्याण्डलबाट पोष्ट भएको यो भनाइले सरकारको कामकारबाहीप्रति मात्र होइन, प्रधानमन्त्री ओलीको ‘सतालिप्सा’कै ब्यंग्य हो । सरकारको प्रतिगन र अलोकतान्त्रिक कदमप्रति ओलाचना र विरोध गरिएका पोष्टहरु त हेरिसाध्य छैन ।

पार्टी नेतृत्व र सरकारप्रति असन्तुष्टि हुँदै गएका युवाजमात ‘पुस्ता परिवर्तन’को आवाजसमेत उठाउन थालेका छन् । केही दिनअघि एक पत्रकारले ट्विट गरे, ‘प्रधानमन्त्री हुने तिनै अनुहार हुन्, जो हामीले पटक–पटक देखिसकेका छौँ, भोगिसकेका छौँ । त्यसैले सत्ता होइन, अब पुस्ता परिवर्तनको आवाज उठाउँ ।’

पछिल्लो समय प्रभावकारी मानिएको सोसल मिडिया सरकारको आलोचना र विरोधका ‘शब्दबाण’ले रंगिँदै गएको छ । सरकारको नेतृत्व गर्ने व्यक्ति जनताको आवाज सुन्न छाडेर प्रतिपक्षभन्दा कडारुपमा ‘सत्ताको राजनीति’मा लिप्त हुँदा महंगी, भ्रष्टाचार र हत्या हिंसाका घटना बढ्दै गएको छ । तर, सत्ताको नेतृत्व गरिरहेका प्रधानमन्त्री ओली आफूले गरेको सुशासन र विकासको कुरा गरेर थाक्दैनन् ।

कम्युनिष्ट सरकारको नेतृत्व गरेपछि मेट्रो रेलदेखि गाउँगाउँमा सिंहदरबारजस्ता मीठो सपना बाँडेका प्रधानमन्त्री ओली अझैपनि त्यही सपना बाँड्छन् । दुई ठूला कम्युनिष्ट पार्टीको एकतालाई सर्वोच्च अदालतले मान्यता नदिएपछि नेपाली राजनीतिमा देखिएको बिग्रह यतिखेर उत्कर्षमा छ । तर, प्रधानमन्त्री ओलीसँग अझै दुई तिहाइ बहुमतको दम्भ राखेर बालुवाटारबाटै सोम शर्माले जस्तै सपनामा सडक र पुल उद्घाटन गरिरहेका छन् ।

‘सबथोक मै हुँ’ भन्ने प्रधानमन्त्री ओलीको दम्भकै कारण नेकपा एमाले विभाजनको संघारमा पुगेको छ । एमालेका अध्यक्षसमेत रहेका ओलीकै कारण तत्कालीन अवस्थामा दुई तिहाइ बहुमत पाएर निर्माण भएको कम्युनिष्ट नेतृत्वको सरकार अहिले अल्पमतमा परेको छ । एकातिर आफ्नै दलभित्रै अल्पमत पर्नु र अर्कातिर सरकारको कामकारबाहीप्रति जनता असन्तुष्ट हुनु ओली नेतृत्वको सरकारको चुनौती बनेको छ ।

बिग्रहको राजनीतिदेखि युवापुस्ता दिक्क हुन थालेका छन् । पहिले सडकमा देखिने युवाको असन्तुष्टि र आक्रोश अहिले शोसल मिडियामा पोखिरहेको छ । पर्खाल पोतेर नेता बनेका ‘बा’ नेताहरुका लागि फेसबुक, ट्विटरलगायतका सामाजिक सञ्जाल अर्को चुनौती बनेको छ ।

हुन त प्रधानमन्त्री ओलीले नबुझेको केही छैन । सोसल मिडियामा समेत सक्रिय प्रधानमन्त्री ओली बुझ पचाउँछन् । बुझ पचाएकै कारण यतिखेर नेपालकै ठूलो कम्युनिष्ट पार्टी एमाले सिध्याउँदैछन् । केही महिनाअघि नेता भीम रावलले त्यतिकै भनेका होइनन् । उनले भनेका थिए, ‘मलाई ओलीका साइबर सेनाले बदनाम गराउन खोजे ।’

प्रधानमन्त्रीको कुर्सीबाटै सडकदेखि सदनसम्म आफ्ना आलोचक र विरोधीहरुलाई ‘ठेगान लगाउने’ रणनीतिमा रहेका ओलीले सोसल मिडियामा भइरहेका आलोचनालाई पनि दबाउन प्रयत्नरत छन् । यसैको एउटा उदाहरण हो, पटक–पटक ‘सामाजिक सञ्जालसम्बन्धी निर्देशिका’ ल्याउने प्रयास ।

२०७५ फागुनमै संसदमा प्रस्तुत उक्त विधेयक एक वर्षअघि १३ पुस ०७६ मा ‘विकास तथा प्रविधि समिति’ले पारित गरेको थियो । तर, विधेयकको अधिकांश दफा विवादास्पद भएपछि सदनमा पेस भएन । र, विधेयक पारित नभई प्रतिनिधिसभा विघटन भएको थियो । सामाजिक सञ्जाल नियन्त्रण गर्नेगरी मनसायसहित सरकारले ल्याउने तयारी गरेको विधेयक संसद् विघटनपछि निष्क्रिय बन्यो । संसद पुर्नस्थापनापछि पुनः निर्देशिका जारी गर्ने प्रयास गरिएपनि तत्काललाई स्थगित गरियो ।

त्यसबीच, सोसल मिडियाको आलोचनालाई डिफेन्स गर्न ‘साइबर सेना’ गठन गराए । ओली निकट एमाले नेता महेश बस्नेतले गत पुसमा ललितपुरको एक कार्यक्रममा भने, ‘अब बन्दुक बोक्नुपर्दैन, साइबर सेना बनाएर फेसबुक चलाउनुहोस्, मिडियामा लेख्नुहोस्, प्रतिवाद गर्नुहोस् । प्रतिरोध गर्नुहोस् ।’
फेसबुकमा ‘नेकपाको साइबर सेना’, ‘साइबर सेना’, ‘साइबर सेना एक हौँ’, ‘साइबर सेना कर्णाली प्रदेश’, ‘नेकपा साइबर सेना जाजरकोट’ लगायतका पेज र समूह सक्रिय छन् । ट्वीटरमा पनि ‘नेकपा साइबर सेना’ नामको ट्वीटर ह्याण्डल बनाइएको छ ।

त्यसो त सत्ता टिकाउन भारतमा समेत सत्तारुढ दलले यस्तै आईटी सेललहरु बनाएको छ, जसका माध्यमबाट त्यहाँको सत्तारुढ दल भारतीय जनता पार्टीले सामाजिक सञ्जालमा प्रोपोगाण्डा मच्चाउँदै आएको छ ।

भाषण र गफले फिडेल क्यास्ट्रो बन्ने प्रयास गर्दै आएका ओली आफ्नै सहयोद्धाहरुलाई चिढाएर ‘सत्ता कब्जा’को नीतिमा पुगेका छन् । फिडेल क्यास्ट्रोले राजनीति जीवनकालभर विदेशी हस्तक्षेप अस्वीकार गरेर युबाली जनताका लागि गौरवशाली नेता बनेका थिए । तर, विडम्वना, उनै महान नेता क्यास्ट्रोकै भनाइजस्तै ‘म मात्रै जान्ने बुझ्ने’ सोचको अहँमताले ओलीलाई कमजोर बनाउँदैछ ।

प्रतिक्रिया दिनुहोस्