Logo
Logo

कोरोना कहरमा दलहरूको ध्यान सत्ता फेरबदलमै


दृष्टि संवाददाता


काठमाडौं । कोरोना संक्रमण तीव्र रूपमा विस्तार भइरहेका बेला प्रमुख दलहरू भने सत्ता फेरबदलको राजनीतिक हिसाबकिताबमा व्यस्त छन् । एमाले र कांग्रेस दुवैले आइतबार पनि आन्तरिक बैठकमार्फत सम्भावित सत्ता समीकरण र जोखिमबारे समीक्षा गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा महाधिवेशन आयोजक कमिटीको बैठक गरेर आफूविरुद्ध आउन सक्ने अविश्वास प्रस्ताव सामना गर्ने रणनीतिबारे छलफल गरे । यता करिब एक महिनाअघिबाट आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने निष्कर्षमा पुगेको कांग्रेसको पूर्वपदाधिकारी र पदाधिकारीहरूको बैठक बस्यो ।

प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा सरकारविरुद्ध अविश्वास प्रस्ताव आए पार्टीका असन्तुष्ट माधव नेपाललगायत केही नेताले फ्लोर क्रस गर्न सक्नेबारे समीक्षा भएको छ ।

‘अहिले अविश्वास प्रस्ताव ल्याउने कोसिस भइरहेका छन्, विपक्षीले ल्याउने कुरा त ठूलो भएन तर कर्णालीमा जस्तै विभिन्न ठाउँमा फ्लोर क्रस गराउने कोसिस भइरहेको हामीले जानकारी पाएका छौं, त्यसबारेमा पार्टीले आवश्यक समयमा निर्णय गर्नुपर्छ भन्ने कुरा भएको छ,’ प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘हामीले स्थितिको समीक्षा गरिरहेका छौं ।’

ओली समूहले पार्टीमा थप हानि पुग्ने खालको गतिविधि गरे जुनसुकै बेला सांसदलाई कारबाही गर्न सक्ने गरी विधानसमेत संशोधन गरिसकेकाले आफूलाई अप्ठ्यारो पर्ने अवस्था आउनासाथ विरोधी समूहका सांसदलाई हटाउने योजनामा छन् । आइतबारको बैठकमा ओलीले उपयुक्त समयमा पार्टीले निर्णय लिने बताए ।

यस्तो निर्णय लिने अधिकार महाधिवेशन आयोजक कमिटीले स्थायी कमिटीलाई दिएको छ । उक्त जिम्मेवारीअनुसार ओलीले चाहेका बेलामा निर्णय गर्न सक्नेछन् । , यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्