Logo
Logo

दुबईबाट बिहानै काठमाडौं ओर्ले, साँझसम्म कलंकीकै अलपत्र !


दृष्टि संवाददाता


काठमाडौं । दुबईबाट बिहीबार मात्रै काठमाडौं आइपुगेका मानबहादुर धानुक पनि कलंकीमै गाडी कुरेर बसेका थिए । उनी दुबईबाट बिहान मात्र काठमाडौं ओर्लेका थिए, एयरपोर्टबाट ट्याक्सीले ११ बजेतिर कलंकी पु¥याइदियो ।

पानी परेकाले ओत लागेर बसेका धानुकको भने कैलाली फर्किने कुनै टुंगो थिएन । उनीसँगै गाडी कुरेर बसेका अन्य सर्वसाधारण ट्रकमा झुन्डिएर गए, कैलालीसम्म जान गाडी नभेटिएकाले उनी बेलुकीसम्म सडकमै छन् । ‘उतैबाट काठमाडौं गाडी आएको छ रे, बेलुकासम्म आइपुग्यो भने त्यसमै जान्छु भन्ने आस छ,’ धानुकले भने । काठमाडौंमा आफन्त कोही नभएकाले बस्ने ठाउँ नभएको उनले बताए । भन्छन्, ‘नजिकै भए त लिफ्ट मागेरै या गाडीको पछाडि झुन्डिएरै भए नि जान्थे ।’

छोटो दूरी तय गर्नुपर्ने यात्रुहरू बुधबार नै ठेलमेल गरेर भए पनि उपत्यका छोडिसके पनि लामोदूरीका यात्रुहरू भने सडकमै अलपत्र परेर बस्नुपर्ने बाध्यता छ । कैलाली, कञ्चनपुर, ताप्लेजुङ, झापा पुग्नुपर्ने यात्रुहरूका लागि सवारी पाउन निकै कठिन भएको छ ।

काठमाडौं उपत्यकामा मजदुरी गर्दै आएका भारतीय नागरिकहरू बढी समस्यामा परेका छन् । बुधबार रातिदेखि नै गाडी कुरेर बसेका कतिपय मजदुर अझै गाडी पाइने आशामा सडकमै छन् ।

कतिपय सर्वसाधारण भने बिहीबार पनि काठमाडौंबाट सवारी बाहिरिने आशामा १२÷१४ घन्टा सडकमा कुरिरहेका छन् । तीमध्ये हुन्, झापा जान गाडी कुरिरहेका यमुना गुरागाइँ र विनिता ओझा ।

उनीहरू गाडी पाइन्छ कि भन्ने आसमा बिहान ६ बजे नै कलंकी पुगेका थिए । ‘आज पनि गाडी जान्छ रे भनेर सुनेर आएको । गाडी आउँछ कि भनेर आस गरेर बसेका छौँ । बिहानै ट्याक्सीसमेत नपाएर सुन्धाराबाट बाइकमा लिफ्ट मागेर आएको ।, यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्