Logo
Logo

व्यवसायी केडिया अपहरणमा प्रहरी नै मिलेको आशंका, ३० लाख दिएको दाबी


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २६ फागुन
। व्यवसायी सुरेश केडियाको अपहरणमा नेपाल प्रहरीले नै सहयोग गरेको आशंका गरिएको छ । बिहीबार पक्राउ परेका अपहरण गिरोहका मुख्य नाइके भारतीय नागरिक बब्लु पासवानले अपहरणका बेला नेपाल प्रहरीलाई समेत पैसा दिएको बताएका छन् ।

पर्साको भिस्वा नाकाबाट भारत बिहारको रक्सौल नगर परिषद् वडा नम्बर १७ का ३५ वर्षीय बब्लु पासवान र राजहर्नाही ग्राम पन्चायत वडा नम्बर ३ का २५ वर्षीय नन्की भन्ने विजय महतो कुशवाहालाई पक्राउ गरेको थियो।
पक्राउ परेका दुवैलाई सार्वजनिक गर्न शनिवार जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित पत्रकार सम्मेलनमा अपहरणकाण्डका मुख्य नाइके भनिएका पासवानले केडियाको अपहरणपूर्व नै आफूहरूले बाराका प्रहरी अधिकारीहरूलाई १८ लाख भारु (करिब ३० लाख नेपाली रुपैया ) बुझाएको बताएका हुन्। कुन प्रहरीलाई पैसा बुझाएको भने उनीहरुले प्रष्ट पारेका छैनन् । पासवानका अनुसार केडियालाई अपहरण गरेर भारतीय भूमिसम्म लैजाने क्रममा बाटोमा नेपाल प्रहरीले कुनै प्रकारको रोकटोक नगर्ने शर्तमा उक्त रकम बुझाइएको थियो ।

अपहरणका मुख्य योजनाकार बब्लु दुवे भन्ने मिथिलेश मिश्राले १८ लाख भारु (३० लाख नेपाली रुपैयाँ) बुझाएपछि प्रहरी अधिकारीले ’कुनै समस्या हुँदैन’ भनेको पासवानले सुनाए। केडिया अपरहरणमा प्रहरी अधिकरीको पनि संलग्नता रहेको उनको दाबी छ। पत्रकार सम्मेलनमा पासवानले अपहरणकाण्डका मुख्य योजनाकार रहेका कुख्यात अपराधी भारतीय नागरिक बब्लु दुबे भन्ने मिथिलेश मिश्राको हत्या आफूले नै गरेको दाबी पनि गरे।
हत्या, अपहरण, फिरौती लगायतका मुद्दामा भारतीय जेलमा रहेका बेला बब्लु दुबेलाई भारतीय प्रहरीले २०७४ बैशाख २८ गते भारतको पटना उच्च अदालतमा हाजीर गराउन लगेका बेला अदालतकै अगाडी अपरिचित दुई हतियारधारीले गोली प्रहार गरि बब्लु दुबेको हत्या गरेका थिए। केडियाको अपहरणकाण्डमा १० करोड रुपैयाँ फिरौती असुली गरिए पनि ब्बलु दुबेले सम्झौता अनुसार फिरौती रकम बाँडफाँड नगरी एक्लै कुम्ल्याएकाले आफूले उनको हत्या गरेको पासवनको दावी छ।

पासवानले भने मुख्य योजनाकार बब्लु दुबेले आफूहरूसँग भएको पूर्व सहमतिअनुसार फिरौती बापत् आएको १० करोड मध्ये एक करोड रकम नदिएपछि उनको हत्या गरेको दाबी गरे।

‘बब्लुकै योजना मुताबिक अपहरण गरिएको थियो, फिरौती बापत १० करोड रकम आएको थियो तर बब्लुले सहमतिअनुसार एक करोड हामीलाई दिएनन् ,’ पासवानले भने ‘पुलिस प्रशासनको खतरा मोलेर सबै काम हामीले गर्ने, अनि रकम जति सबै ऊ एक्लैले लिएपछि उसको हत्या गरिदिएको हँु ।’
प्रहरीलाई पैसा बुझाएको विषयमा प्रदेश प्रहरी कार्यालयले छानबिन थालेको छ । सीमा क्षेत्रमा कार्यरत प्रहरीलाई उनीहरुले आर्थिक प्रभावमा पारेको हुनसक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्