Logo
Logo

दमौली अस्पतालमा आईसीयू र भेन्टिलेटर कक्ष तयार


दृष्टि संवाददाता


तनहुँ । तनहुँको सदरमुकाममा अवस्थित दमौली अस्पतालले सात आईसीयू र चार वटा भेन्टिलेटरसहितको शय्या तयार पारेको छ । नयाँ भेरियेन्टसहितको कोरोना सङ्क्रमण बढिरहेको अवस्थामा अस्पतालले आईसीयू र भेन्टिलेटर कक्ष तयार पारेको हो ।

स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा अस्पतालले आईसीयू र भेन्टिलेटरको व्यवस्थापन गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी र्दिए । उक्त आईसीयू र भेन्टिलेटर व्यवस्थापनका लागि मन्त्रालयले अस्पताललाई रु दुई करोड बजेट उपलब्ध गराएको थियो ।

आईसीयू र भेन्टिलेटरको व्यवस्था भएपछि अब कोभिडका गम्भीर प्रकृतिका बिरामीलाई पनि बाहिर पठाउनु नपर्ने दमौली अस्पतालका प्रमुख डा सुनिल पौडेलले जानकारी दिए । नयाँ उपकरणको जडान गरिएको भएपनि जनशक्ति भने साविककै दरबन्दीबाट मिलाउनु परेको उनले बताए ।

दमौली अस्पताल परिसरमा अक्सिजन प्लान्ट निर्माण प्रक्रिया पनि शुरु भएको छ । गण्डकी प्रदेश सरकारले अक्सिजन प्लान्ट निर्माणका लागि चालु आर्थिक वर्षमा रु ७५ लाख बजेट उपलब्ध गराएको छ ।

उक्त प्लान्ट निर्माणका लागि टेन्डर प्रक्रिया पूरा भई सम्झौता भइसकेको छ । ढिलोमा जेठ महिनाभित्र अक्सिजन प्लान्ट निर्माण गरी अक्सिजन उत्पादन थालिने अस्पतालले जनाएको छ ।

जिल्लास्तरीय अस्पतालमा सघन उपचार कक्ष नहुँदा पोखरा, भरतपुर वा काठमाडौँ पुगेर स्वास्थ्य सेवा लिनुपर्दा स्थानीयवासीलाई आर्थिक भारसमेत पर्दै आइरहेको छ । पछिल्लो समय अस्पतालले विभिन्न सेवा थप गर्दै लगेको छ । अस्पताललाई व्यवस्थित एवं अत्याधुनिक बनाउने प्रयासस्वरुप थाइराइड, आँखा र दाँत सेवा शुरु भइसकेको छ ।

दमौली अस्पतालबाटै थाइराइड सेवा शुरु भएपछि सर्वसाधारण यसको उपचारका लागि महङ्गो शुल्क तिरेर अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएको छ । गण्डकी प्रदेश सरकारले रु दश लाख मूल्य पर्ने थाइराइड परीक्षण उपकरण उपलब्ध गराएको थियो ।

त्यस्तै अस्पतालमा नयाँ दाँत हाल्ने सेवा पनि थप गर्न लागिएको छ । हाल उक्त सेवा बाहेक सबै दाँतका सेवा अस्पतालबाट प्रदान भइरहेको छ । दाँतको उपचारका लागि डिजिटल एक्सरे मेसिन सञ्चालनमा ल्याइएको छ । उक्त मेसिन खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रकम उपलब्ध गराएको थियो । उक्त मेसिनको करिब रु ५० लाख मूल्य पर्छ ।

विसं २०५९ सालमा अस्पतालको रुपमा स्तरोन्नति भएको दमौली अस्पताल उपकरण थप्ने प्रयासमा जुटेको छ । १५ शय्याको अस्पताललाई ५० शय्यामा स्तरोन्नतिका लागि प्रदेश सरकार मातहत रहेका दुई सरकारी कार्यालयको जग्गा उपलब्ध गराइदिन माग गरिएको छ ।

विसं २०३४ सालमा स्वास्थ्यचौकीको रुपमा स्थापना र विसं २०५५ सालमा प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा स्तरोन्नति भएको यस अस्पताल विसं २०५९ सालमा अस्पतालको रुपमा स्तरोन्नति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्