Logo
Logo

‘ओलीले राजनीतिक नैतिकताको धज्जी उडाए’


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रले वर्तमान सरकारलाई दिइएको समर्थन फिर्ता लिएसँगै केपी शर्मा ओलीले सत्ताका लागि फोहोरी खेल खेलेको आरोप लगाएको छ ।

माओवादीले बुधबार संसद सचिवालयमा बुझाएको समर्थन फिर्ता पत्रमा प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने असंवैधानिक कदम चालेको, मुलुकका राष्ट्रिय मुद्दालाई सौदावाजीको विषय बनाएको आरोप लगाएको छ । ओलीले सत्ताको आडमा संविधानको ठाडो उलंघन गरेको, लोकतान्त्रिक मूल्यमान्यता एवं राजनीतिक नैतिकताको धज्जी उडाएको माओवादीको आरोप छ ।

माओवादी केन्द्रले ओलीले राष्ट्रिय मुद्दालाई सौदाबाजीको विषय बनाइ देशलाई बाह्य शक्तिको क्रिडास्थल बनाउँदै लगेकोसमेत आरोप लगाएको छ । प्रधानमन्त्री ओलीले लोकतान्त्रिक र संसदीय मान्यताविपरित आदेशबाट शासन चलाउने निरंकुश अभ्यासतिर उद्दत् हुँदै गएकाले सरकारलाई दिएको समर्थन फिर्ता गरेको पत्रमा उल्लेख छ ।

सर्मथन फिर्ता गरिएको पत्रमा भनिएको छ, ‘सर्वोच्च अदालतको फागुन २३ को निर्णयपश्चात ३० दिनभित्र विश्वासको मत लिनुपर्ने ठाउँमा नलिएको र नियमित अधिवेशन बोलाउनुपर्ने समयमा संविधान र परम्परा मिच्दै वैशाख २७ गते विश्वासको मतका लागि सदन बोलाउने काम गरिएकाले माओवादी केन्द्रको निर्णय र नेकपा माओवादी संघीय संसदीय दलको निर्णयअनुसार प्रम केपी शर्मा ओलीको सरकारलाई दिएको समर्थन आजैका मितिदेखि लागु हुनेगरी फिर्ता लिएको जानकारी गराउँछु ।’

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा जारी पत्रमा ओली नेतृत्वको सरकार कोरोना महामारी नियन्त्रणमा समेत असफल भएको आरोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्