Logo
Logo

चरम शुल्क असुल्दै निजी अस्पताल




काठमाडौं । गम्भीर प्रकृतिका कोरोना संक्रमित बढ्न थालेको मौका छोप्दै केही निजी अस्पतालले विभिन्न शीर्षकमा चरम शुल्क असुल्न थालेको पाइएको छ ।

विरामीका आफन्तका अनुसार ‘नर्मल बेड’मा एकैदिन राखेको १५ हजारदेखि २० हजार रुपैयाँसम्म लिने गरिएका छन् । संक्रमितका आफन्त भने चर्को शुल्क तिर्न बाध्य बनेका छन् । काठमाडौं मेडिकल कलेजले प्रतिदिन १० हजारदेखि ३० हजारसम्म लिने गरेको छ ।

सो कलेजद्वारा जारी सूचनामा ‘कोभिड क्याबिन सिंगल बेडको प्रतिदिन २० हजार, कोभिड क्याबिन डबल बेडको प्रतिदिन १० हजार, कोभिड क्याबिन डिलक्स प्रतिदिन २५ हजार र कोभिड क्याबिन सुपर डिलक्सको प्रतिदिन ३० हजार रुपैयाँ दररेट निर्धारण गरिएको’ उल्लेख छ ।

यो सरकारले निर्धारण गरेको शुल्कभन्दा अत्यधिक हो । त्यस्तै, ह्याम्स अस्पतालले ७ हजारदेखि ५० हजारसम्म लिएको पाइएको छ । सो अस्पतालद्वारा जारी कोभिड–१९ उपचारसम्बन्धी मञ्जुरीनामाअनुसार जनरल बेडको ७ हजार, आईसीयू बेडको २२ हजार, चार्ज आइसोलेसन÷सुइट रुमको ५० हजार रुपैयाँ शुल्क पर्छ ।

अन्य केही निजी अस्पतालले समेत सरकारले तोकेभन्दा दोब्बर शुल्क लिन थालेका छन् । सरकारी मापदण्डअनुसार निजी अस्पतालले आइसोलेसन शुल्क दैनिक ३ हजार ५ सय, मध्यम जटिल केस का लागि दैनिक ७ हजारको ५० प्रतिशत जोडेर लिनसक्ने प्रावधान छ ।

गम्भीर विरामीको आईसीयूमा भेन्टिलेटरसहितको उपचारका लागि दैनिक १५ हजारको ५० प्रतिशत जोडेर लिनसक्ने व्यवस्था छ । तर, केही निजी अस्पतालले यो नियम बेवास्ता गर्दै अत्यधिक शुल्क लिइरहेका छन् ।, यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्