Logo
Logo

चिकित्सकहरूले भने- ‘सरकार गैरजिम्मेवार भए जनस्वास्थ्यमा ठूलै समस्या आउँछ’


दृष्टि संवाददाता


काठमाडौं । कोरोना नियन्त्रण गर्न नसक्ने भन्दै सरकारले हात झिकिसकेपछि त्यसको दबाब चिकित्सक र अस्पतालमा परेको छ । उपचारमा आफूहरू खटिने प्रतिबद्धता जनाएका चिकित्सकहरू सरकारले नै आँट नदिएपछि थप डराएका छन् । अक्सिजन अभाव हुँदा सरकारले आवश्यक समन्वय नगरिदिएको चिकित्सकको गुनासो छ । सरकार गैरजिम्मेवार भए जनस्वास्थ्यमा ठूलै समस्या आउने चिकित्सकहरूको भनाइ छ ।

‘अस्पतालहरूमा अक्सिजन अभाव भइरहेका बेला सरकार थाहा नपाएझै गरेको छ,’ करुणा हस्पिटलका मेडिकल डाइरेक्टर सौगात पौडेलले भने, ‘सरकारको साथ नभएपछि अस्पतालले मात्र अक्सिजन जोहो गर्न मुस्किल पर्छ ।’ सरकारले अक्सिजनमात्रै सहज ढंगले उपलब्ध गराउन सके धेरैको ज्यान जोगाउन सकिने उनको भनाइ छ । उनका अनुसार हाल संक्रमितमध्ये २० प्रतिशतलाई अक्सिजन चाहिएको छ । यो संख्या बढ्ने संकेत देखिएको छ ।

अक्सिजन खोज्दाखोज्दै भक्तपुर अस्पतालमा शुक्रबार दुई संक्रमितको ज्यान गएको थियो । त्यस्तै टेकु र बयोधा अस्पतालमा पनि अक्सिजन अभाव भएपछि बिरामीलाई अन्यन्त्रै सारिएको थियो । अस्पतालहरूमा अक्सिजन अभाव हुन थालेपछि नेपाल मेडिकल एसोसिएसनले सहजताका लागि सरकारसँग अपिल गरिसकेको छ । एसोसियसनले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी अक्सिजन अभावमा उपचारमा समस्या हुन थालेको भन्दै सरकारको ध्यानाकर्षण गराएको थियो ।

अस्पताल र चिकित्सकहरूले अक्सिजन आपूर्तिका लागि सरकारी संयन्त्रले काम गर्नुपर्ने बताएका छन् । व्यापारी र डिलरलाई दिँदा अक्सिजनको झनै कालोबजारी हुनसक्ने चिकित्सकको भनाइ छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक सागर राजभण्डारीले संक्रमण नियन्त्रणबाहिर जान सक्ने देखिएकाले निकै सावधानी अपनाउन आवश्यक रहेको बताए । उनले भने, ‘अब अस्पताललाई मात्रै जिम्मा दिएर पनि हुँदैन, सरकारकै कारणले संक्रमण भयावह भएको हो, त्यसैले सरकार र आमनागरिकले साथ दिनुपर्छ, सबै मिल्ने हो भनेमात्रै संक्रमण नियन्त्रण गर्न सकिएला ।’, यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्