Logo
Logo

काबुलको स्कुल बाहिर विष्फोट हुँदा ३० जनाको मृत्यु


दृष्टि संवाददाता


काठमाडौं । अफगानिस्तानको राजधानी काबुलको एक विद्यालय परिसर बाहिर भएको विष्फोटमा ३० जनाको ज्यान गएको छ । विष्फोटमा अन्य दर्जनौं घाइते भएको समाचारमा जनाइएको छ ।

समाचार एजेन्सी रोयटर्सले घाइतेहरुमध्ये अधिकांश छात्राहरु रहेको र उनीहरुको उपचार जारी रहेको जनाएको छ ।

समाचार अनुसार अधिकारीहरुले के उद्देश्यले र कसलाई लक्षित गरी आक्रमण गरियो भन्ने नखुलेको बताएका छन् । शनिबार काबुलको पश्चिममा अवस्थित दश्त–ए–बार्चीको स्कुल बाहिर विष्फोट भएको थियो, जहाँ छात्राहरु थिए ।

विष्फोटको समयमा सर्वसाधारण नागरिक पनि इद उल फित्रका लागि आवश्यक सामान किन्न नजिकको बजारमा निस्किएका समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ । मुस्लिम समुदायको पवित्र महिना रमजान अन्त्यको समयमा इद उल फित्र पर्व मनाइन्छ ।

विष्फोट भएको स्थानमा शिया हजरा समुदायको बसोबास छ । केही वर्षयता यो क्षेत्र चरमपन्थी समूह इस्लामिक स्टेटको निशानामा पर्दै आएको छ । सोही क्षेत्रमा रहेको सरकारी माध्यमिक विद्यालय स्कुल नजिक ठूलो आवाजका साथ विष्फोट भएको थियो ।

घटनाको जिम्मेवारी कसैले लिएको छैन । तालिवान समूहले पनि यो घटनाको निन्दा गरेको समाचार एजेन्सी एएफपीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्