Logo
Logo

जसपाको तत्कालीन चुनौती र अवसर


टंक सेलिङ


  • टंक सेलिङ

पार्टी निमार्णको आधार आन्दोलन र वैचारिकी नै हो । तर, सत्ता निर्माणको प्रश्नमा शक्ति विन्यासको आधारले प्रमुख भूमिका खेल्छ । नेपालको सन्र्दभमा, शक्तिराष्ट्रहरूको स्वार्थले पार्टीका निर्णयहरूमा असर पारेको देखिन्छ । त्यसैले, बन्दै गरेका पार्टीहरू आफ्नो आर्दश र सिद्धान्तमा कतिको निष्ठावान् छन् ? त्यसले भविष्य निर्धारण गर्दछ ।

जनता समाजवादी पार्टी (जसपा) वैकल्पिक शक्तिको उद्घोषसहित स्थापित शक्ति हो । जसपा विभिन्न आन्दोलनको जगमा स्थापित राजनीतिक दल हो । जसपा जनयुद्ध, मधेस विद्रोह, आदिवासी जनजाती आन्दोलन, दलित, मुस्लिम, महिला र उत्पीडित वर्गको संयुक्त रूप हो । यसैले, यो पार्टी कुन आन्दोलनको जगमा उभिने ? भन्ने चुनौती सधै रहन्छ ।

उत्पीडनमा पारिएका समुदायले आफ्नो आत्मसम्मान र समानताको निम्ति आवाज उठाउने पार्टीको रूपमा जसपालाई लिएका छन् । तर, सत्ता र कुर्सीको खेलले त्यो विश्वास गुम्ने खतरा उत्तिकै छ । वैकल्पिक राजनीतिक शक्ति बन्ने सुनौलो अवसर सधैं खतरामा रहन्छ ।

अर्कातिर, विभिन्न राजनीतिक आन्दोलन, विश्वास पद्धति र दर्शनबाट निर्देशित झुण्डहरूको समूहसमेत रहेकोले वैचारिक र साङ्गठनिक हिसाबले यसको तारतम्य मिलाउन चुनौती छँदैछ । वैकल्पिक पार्टी निर्माणको अवस्था र अवसरलाई सदुपयोग गर्ने नेतृत्व कौसलताको चुनौती उत्तिकै छ ।

हिमाल, पहाड र मधेसलाई जोड्ने वैचारिक रसायनको उत्पादन जसपाको शक्ति हो । पृथ्वीनारायण शाहको पालादेखि निर्माण भएको पहाडे भाष्यलाई चिन्तनको हिसाबले मान्छेको दिमागमा नयाँ भाष्य ‘प्लान्टेड्’ गरिदिनु कम चुनौतीको विषय होइन । सर्वप्रथम, नेता र कार्यकर्ता गलत भाष्यहरूबाट मुक्त हुनुपर्छ । तबमात्र जनतामा नयाँ चेतना निर्माण गर्न सकिन्छ ।

यसले मधेस र पहाडलाई नवीन ढङ्गले बुझाउने छ । खस–आर्य, आदिवासी जनजाती र मधेसी बिचमा रहेको वैमनस्यतालाई हल गर्न सक्दछ । यद्यपि, पार्टी निमार्णका क्रममा दार्शनिक ढङ्गले यस्ता बिषयहरूलाई विभिन्न आयामहरूमा बहस गर्न जरुरी छ ।

नेपालको सन्र्दभमा दार्शनिक राजनेताको अभाव छ । ‘जबसम्म दार्शनिकहरू सत्ता सञ्चालन गर्दैनन् तबसम्म मान्छेको मुक्ति सम्भव हुँदैन’ भन्ने प्लेटोको उक्ति अझै सान्र्दभिक छ । यस अवस्थामा जसपाले दार्शनिक नेता जन्माउनुपर्ने चुनौती छ । नत्र, वैकल्पिक पार्टी निमार्णको बहस नारामा सीमित हुन्छ ।

ओली प्रतिगमनविरुद्ध देशभर संघर्ष गरेको जसपाले अमुक नेतृत्वको नीहित स्वार्थमा ओलीलाई नै विश्वासको मत दिन सक्दैन । ‘सत्ताको लालची’ आरोप खण्डन गर्ने नेतृत्व वर्गका लागि यो महत्वपूर्ण अवसर हो ।

जात, भूगोल र धर्मको नाममा विभाजित नेपाली मनोविज्ञान जोड्ने चुनौतीसँगै जसपालाई अवसर पनि छ । राजनीतिक विचारलाई परिष्कृत गर्दै पूर्ण समानुपातिक समावेशी संगठनात्मक ढाँचा निर्माणको जरुरत उत्तिकै छ । विशेषगरी, पहिचान र मधेस, पहाडबीच रहेको गलत भाष्यलाई ‘करेक्सन’ गर्ने अवसर जसपासँग छ ।

तीन जातीय समूह– खस–आर्य, आदिवासी जनजाति र मधेसीबीचको समावेशी आधार नै यो पार्टीको वैज्ञानिक संरचनागत आधार हो । ‘बिग फाईभ’ र ‘कार्यकारिणी समिति’ यसै अवधारणामा निर्माण भएकोले जसपा उत्पीडित समुदायको पार्टी हो भन्ने आधार छ ।

समावेशी सिद्धान्तलाई आत्मसात गरेको पार्टी हो, भन्न सकिन्छ । यही एजेण्डालाई जनता माझ लान जरुरी छ । जनतालाई बुझाउन आवश्यक छ । यो अवसरबाट पार्टी पछि पर्नु हुँदैन ।

अहिलेको सन्दर्भमा, प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत लिँदैछन् । यस पटक निर्णायक जसपाले विश्वासको मत दिन्छ या दिँदैन ? आम र प्रमुख चासोको विषय हो । किनभने, जसपा ओली प्रतिगमनविरुद्ध देशभर संघर्ष गरेको शक्ति हो । ओली प्रतिगमनविरुद्ध संघर्ष गरेको शक्तिले ओलीलाई नै विश्वासको मत दियो भने पार्टीको नैतिक धरातल कता पुग्छ ? प्रश्न पेचिलो छ ।

‘मधेसी र आदिवासी जनजातिलाई मन्त्री बनाए पुग्छ’ भन्ने गैरराजनीतिक सोंचलाई मलजल पुग्ने काम गर्नु राजनीतिक बेइमानी हुन्छ । त्यसैले, जसपाले प्रतिगमनका नाइकेलाई सत्ताच्यूत गर्नु अहिलेको आवश्यकता हो । कुनै पनि अवस्थामा जसपाले ओलीलाई विश्वासको मत दिन सक्दैन र दिनु हुँदैन । ‘सत्ताको लालची’ आरोप खण्डन गर्ने नेतृत्व वर्गका लागि यो महत्वपूर्ण अवसर हो ।

पार्टी निमार्णका सवालहरू नेतृत्वको स्वार्थ मिलेर मात्र हुँदैन । कार्यकर्ताहरूको विचार र आत्मलाई पनि बुझ्न जरूरी छ । चुस्त र दुरुस्त संगठन निमार्ण हुन जरुरी छ । ‘गणेश प्रवृत्ति’को विकासलाई कम गर्न नेतृत्व आफैं अगाडि बढ्न जरुरी छ ।

‘मानव मुक्तिका निम्ति राजनीति हो’ भन्ने नव भाष्य निमार्णका निम्ति सैद्धान्तिक वैचारिक काम गर्न जरूरी छ । कुनैपनि पार्टीको मुटु भनेको ‘स्कुल विभाग’ हो । स्कुल विभागलाई मजबुत बनाउँदै, अनुसन्धानात्मक विधिलाई प्रयोग गर्दै अनुसन्धानबाट प्राप्त परिणामलाई अद्यावधिक गर्दै नीति तथा कार्यक्रम बनाउन जरुरी छ ।

पार्टीले गर्ने जुनसुकै रणनीतिक कार्यक्रमहरू स्कुल विभागद्वारा अनुसन्धान र बहस गरी प्राप्त परिणामका आधारमा हुन आवश्यक छ । पार्टीलाई वैज्ञानिक हिसाबले सञ्चालन गर्न सके जसपालाई नेपालको सन्दर्भमा वैकल्पिक पार्टी बन्ने अवसरबाट कसैले रोक्न सक्दैन ।

अन्त्यमा, पार्टीको तात्कालिक निर्णयले पार्टीको ‘रूप’ र ‘सार’ पक्षमा असर पार्दछ । तत्कालीन सोभियत सङ्घका अन्तिम राष्ट्रपति गोर्वाच्चोवले समाजवादी अर्थनीतिलाई विस्थापन गर्दै खुलाबजार र पुँजीवादी उत्पादन पद्धतिलाई सँगै अनुसरण गर्दा सोभियत सङ्घ ढलेको थियो ।

किनभने ‘सोभियत डक्ट्रिन’ समाजवाद हुँदै साम्यवादको यात्रा भएकाले त्यही वैचारिकमा आधारित अर्थव्यवस्था, नीति र कार्यक्रमको वकालत र प्रयोग हुनुपर्दथ्यो । तर भिन्न ढङ्गले गोर्वाच्चोव अगाडी बढेकाले सोभियत सङ्घ ढलेको हो ।

जसपा पनि ठ्याक्कै त्यस्तै परिस्थितिमा रहेकोले आफ्नो सैद्धान्तिक आर्दश र त्यसको प्रयोगमा तालमेल हुन जरुरी छ । हिजो प्रतिगमन भनेर आन्दोलन गर्ने आज प्रतिगमनका नाइके केपी ओलीलाई विश्वासको मत दिने जस्तो ‘भयङ्कर गल्ती’ नेतृत्वले गर्नु हुँदैन । जातीय र क्षेत्रीय सङ्कीर्णतालाई तोड्दै सिद्धान्तनिष्ठ भई विश्वासको विपक्षमा मत हाल्ने सुनौलो अवसर जसपालाई आएको छ । हुने हार, दैव नटार नहोस् ।

[email protected]

प्रतिक्रिया दिनुहोस्