Logo
Logo
प्रतिनिधिसभा बैठक

आज विश्वासको मत लिँदै प्रधानमन्त्री, पाउलान् त विश्वासको मत ?


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज (सोमबार) नयाँ प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन् ।

ओलीले विभिन्न राजनीतिक उतारचढावबीच विश्वासको मत लिन लागेका हुन् । आफ्नै पार्टी एमालेको तिक्ततापूर्ण कलहबीच उनी आफूमाथि संसद्को विश्वास खोज्दैछन् ।

उनले विश्वासको मत लिन बोलाएको प्रतिनिधिसभा बैठक आज १ बजे बस्दैछ । आजको प्रतिनिधिसभा बैठकका लागि सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीको विश्वासको मत समेटिएको छ ।

संसद् बैठकको सुरुवातमा सभामुख सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ । त्यसपछि उनले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम १ बमोजिम अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्ने कार्यतालिका तय भएको छ ।

कार्यसूची अनुसार आजै पुनः प्रतिनिसभा अर्को बैठक बस्ने र अविश्वास प्रस्तावउपर कारबाही प्रक्रिया अघि बढ्नेछ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागे पनि त्यसका लागि आवश्यक संख्या भने पुगेको छैन ।

ओलीलाई चुनौती
प्रधानमन्त्री ओलीलाई आज विश्वासको मत पाउने निकै मुस्किल देखिएको छ । एमालेकै माधव–झलनाथ समूहले ओली पक्षमा मतदान नगर्ने संकेत गरेका छन् । उनीहरूले आज ९ बजेसम्म ओलीको निर्णय पर्खने र यो समयसम्ममा पनि ओलबाट ठोस निर्णय नभए अप्रिय निर्णय गर्ने चेतावनी दिइसकेका छन् । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पनि ओलीलाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन् ।

यस्तै जनता समाजवादी पार्टी (जसपा)ले पनि प्रधानमन्त्री ओलीलालाई मत दिने/नदिने भन्नेबारे तटस्थ छ । जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव समूहले विश्वास मतको विपक्षमा मतदान गर्ने जनाएका छन् । प्रधानमन्त्री पदमा कायम रहन ओलीले १ सय ३६ सांसदको समर्थन लिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्