
काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिले कोरोना (कोभिड–१९) सङ्क्रमण तीव्र गतिमा फैलन थालेपछि आफू चढ्ने सवारीसाधन सङ्क्रमित बोक्न र स्वास्थ्य प्रयोजनका लागि प्रयोग गर्न थालेका छन् ।
सङ्क्रमित एम्बुलेन्स नपाएर घरमै छटपटाइरहँदा उहाँहरूकै करबाट खरिद गरिएको सरकारी गाडी चढेर हिँड्न आफूहरूलाई नैतिकताले नदिने भन्दै स्थानीय तहका जनप्रतिनिधिले धमाधम आफूले चढ्ने सवारीसाधन एम्बुलेन्स र स्वास्थ्य प्रयोजनका लागि प्रयोग गर्न थालेका हुन् ।
आफू नागरिककै सेवाका लागि निर्वाचित भएको र नागरिक अस्पतालसम्म पुग्न सवारीसाधनको अभाव भएपछि आफूहरूले चढ्ने सवारीसाधन एम्बुलेन्सका रूपमा प्रयोग गर्न थालिएको स्थानीय तहका जनप्रतिनिधिले बताएका छन् । कतिपय सवारीसाधनमा अक्सिजनसहितको सिलिन्डरको व्यवस्था गरी सवारीसाधनलाई अस्थायी एम्बुलेन्स बनाइएको छ भने कतिपय पालिकाले कोरोनाका सङ्क्रमित बोक्नका लागि मात्र सवारीसाधन प्रयोग गर्न थालेका छन् ।
काठमाडौँका टोखा, रुपन्देहीको तिलोत्तमा, चितवनको रत्ननगर नगरपालिकाका र रसुवाको कालिका गाउँपालिकाका प्रमुखले चढ्दै आएको सवारीसाधन एम्बुलेन्स र स्वास्थ्य सामग्री बोक्न प्रयोग गर्ने गरेका छन् । रसुवाको कालिका गाउँपालिका अध्यक्ष सीताकुमारी अधिकारी (पौडेल)ले समुदायमा कोरोनाको सङ्क्रमण बढ्दै जाँदा आफूले प्रयोग गरिरहेको सवारीसाधन सङ्क्रमित बोक्न प्रयोग गर्नु आफ्नो दायित्व सम्झेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “गाउँपालिकामा दुईवटा एम्बुलेन्स छन्, सार्वजनिक सवारीसाधन नचलेको र सङ्क्रमित बढ्दै जाँदा दुईवटा एम्बुलेन्सले पनि नभ्याउने अवस्था छ । महामारीभरि आफूले चढ्ने सवारीसाधनलाई एम्बुलेन्सका रूपमा प्रयोग गरेको छु ।” काठमाडौँको टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारीले पनि आफ्नो सवारीसाधन स्वास्थ्य सामग्री ओसारपसार र प्रशासनिक कार्यमा प्रयोग भइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अहिलेलाई कोरोना सङ्क्रमित बोक्न एम्बुलेन्स छ, भोलि स्थिति भयावह बन्दै गयो भने एम्बुलेन्सकै रूपमा पनि प्रयोग गर्नुपर्ने परिस्थिति आउन सक्छ ।” नगरपालिकाको उपप्रमुखले चढ्दै आएको सवारीसाधन नन–कोभिड बिरामी बोक्न प्रयोग गर्न थालिसकिएको उहाँले जानकारी दिनुभयो । आफूले मोटरसाइकल चढेर कार्यालयमा आवतजावत गर्ने अधिकारीले बताउनुभयो ।, यो समाचार आजको गोरखापत्र दैनिकमा नगेन्द्र सापकोटाले लेखेका छन् ।












