Logo
Logo

कालीगढ अभावः सुनका गरगहनाको आयात बढ्यो


दृष्टि संवाददाता


काठमाडौं । चालू आर्थिक वर्ष (आव) को तेस्रो त्रैमाससम्ममा नेपालमा १४ करोड बराबरको सुनका गरगहना आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आवको ९ महीनाको तथ्यांकले यस्तो देखाएको हो ।

परिमाणका आधारमा साढे ३२ केजी बराबरको सुनको गरगहना आयात भएको छ । चैत महीनामा मात्र रू। ७ करोड २८ लाख ३९ हजारको सुनका गरगहना आयात भएको छ । गत फागुन मसान्तसम्ममा नेपालमा रू. ६ करोड ७३ लाख ६७ हजार बराबरको सुनका गरगहना आयात भएको थियो ।

चैत मसान्तसम्म आउँदा त्यो बढेर १४ करोड २ लाख ६ हजार रुपैयाँ पुगको हो । चालू आवको ८ महीनाको अवधिमा जति सुनका गरगहना आयात भएको थियो, त्यो भन्दा बढी चैत १ महीनामै आयात भएको छ ।

८ महीना (साउनदेखि फागुनससम्म) मा ६ करोड ७३ लाखको सुनका गरगहना आयात भएको थियो भने चैत १ महीनामै ७ करोड २८ लाख रुपैयाँ बराबरको सुनका गरगहना आयात भएको छ ।

कोरोना संकटका कारण सुनका गरगहना बनाउने कालीगढको अभाव भएपछि गरहगनाको आयात बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले कालीगढहरूको अभाव भएको र सुनको माग बढेकाले गरगहनाको आयात बढेको बताए ।

‘नेपाली सुनचाँदी बजारमा करीब ७५ प्रतिशत भारतीय कालीगढ छन् । तर, कोरोनाका कारण उनीहरू पर्याप्त मात्रामा यहाँ आउन सकेका छैनन् । यहाँका कालीगढ पनि छरिएका छन् ।

वैशाखमा हुने विवाह कार्यक्रमका लागि माग बढ्दै गएपछि त्यसअनुसार सुनका गरगहना बनाउन सक्ने अवस्था भएन,’ उनले भने, ‘त्यसको असरले चैतमा सुनका गरगहनाको आयात ह्वात्तै बढेको हो ।’ सामान्यतया नेपालमा बन्न नसक्ने विदेशी डिजाइनका गरगहना आयात गरिन्छ । यसपटक नेपालमा कालीगढको अभाव भएपछि नेपालमै बन्ने डिजाइनका गरगहना पनि आयात गरिएको व्यवसायीहरू बताउँछन् ।, यो समाचार आजको आर्थिक अभियान दैनिकमा मिलन विश्वकर्माले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्