Logo
Logo

शव व्यवस्थापनमा सक्रिय दुई युवती


दृष्टि संवाददाता


काठमाडौं । युवतीहरू कसैको मृत शरीर देखे भने डराउँछन्, रुन्छन् र कमजोर देखिन्छन् भन्ने हाम्रो समाजको सोच छ । तर भक्तपुरका दुई युवती भने त्यो मान्यतालाई गलत सावित गर्दै कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनमा सक्रिय रूपमा लागेका छन् ।

भक्तपुर नगरपालिका–१ दूधपाटीस्थित भक्तपुर अस्पतालमा रातदिन बसेर उनीहरू कोरोनाबाट मृत्यु भएकाहरूको शव व्यवस्थापनमा जुटिरहेका छन् । भक्तपुरकै २४ वर्षीया पुनम कर्माचार्य र २१ वर्षीया जिया जोशी सो कार्यमा खटेका हुन् । कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनमा लाग्ने उनीहरू देशकै पहिलो महिला रहेको बताइएको छ ।

हुन त शव व्यवस्थापन गर्न अस्पतालमा चर्चित उद्धारकर्मी अरूण सैंजूको नेतृत्वको आरएनए १६ समूह पहिलादेखि नै सक्रिय छ । तर कोरोना संक्रमणबाट मृत्युदर बढ्न थालेपछि यी दुई युवती पनि शव व्यवस्थापनमा जुटेका हुन् । उनीहरू दुवैजना आरएनए १६ का सदस्य पनि हुन् ।

नेपाली सेनासँग आरएनए समूह शव व्यवस्थापनमा स्वयंसेवकका रूपमा खटिरहेको छ । खास शव व्यवस्थापनको काम मेडिकलसम्बन्धी ज्ञान भएका स्वास्थ्यकर्मीले गर्नुपर्ने हो। तर अहिले स्वास्थ्यकर्मी बिरामीको उपचारमै व्यस्त भएकाले शव व्यवस्थापनसम्बन्धी तालिम लिएका र ज्ञान भएका उनीहरू यो काममा जुटेका छन् ।

पिपिई लगाएर कोरोनाबाट मृत्यु भएकाको शव राम्रोसँग ¥यापिट गर्ने गर्छन् उनीहरू । स्वयंसेवकका रूपमा भक्तपुर अस्पतालमा २४सै घण्टा सेवाका लागि बसेका हुन्छन् र उनीहरूले राति बस्नका लागि त्यहाँ टेन्ट पनि बनाएका छन्। अघिल्ला वर्षमा पनि उनीहरू यसरी नै निःस्वार्थ सेवामा लागेका थिए यही कामका लागि । तर त्यो बेला शव व्यवस्थापनमा भने जुटेका थिएनन् । यसबाहेकका काममा उनीहरू खटिएका थिए। तर यो वर्ष उनीहरू अस्पतालमा मात्र होइन, आवश्यक परे घरघरमा समेत शव व्यवस्थापनमा जाने गरेका छन् ।, यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्