Logo
Logo

कोरोना उपचारमा प्रयोग हुने औषधिको उत्पादन बन्द


दृष्टि संवाददाता


काठमाडौं । कोरोना उपचारमा प्रयोग हुने औषधिको उत्पादन बन्द भएको छ । नेपाली औषधि उत्पादक कम्पनीहरूले कोरोना बिरामीको उपचारको क्रममा प्रयोग हुने प्यारासिटामोल, जिंक, भिटामिन ‘सी’ र फोक्सोको संक्रमणको उपचारका लागि प्रयोग हुने डक्सिसाइक्लिन तथा एजिथ्रोमाइसिन एन्टिबायोटिक लगायत औषधि उत्पादन गर्न छाडेका हुन् ।

विगत ३ वर्षदेखि निरन्तर स्वास्थ्य सेवा विभागलाई मूल्य समायोजनका लागि दबाब दिँदै आएको नेपाल औषधि उत्पादक संघले वैशाखयता बारम्बर मूल्य समायोजनका लागि विभागमा पत्र पठाएको छ । संघले विक्री मूल्यभन्दा कच्चा पदार्थको मूल्य बढी भएकाले उत्पादन नै गर्न नसकिने अवस्था आएको बताउँदै आएको छ ।

संघका अध्यक्ष नारायण क्षत्रीले विक्री मूल्यभन्दा लागत मूल्य बढी भएकाले औषधिको उत्पादन गर्न नसकिने अवस्था आएको बताए । १४ वर्षअगाडि सरकारले मूल्य समायोजन गरेकोमा हाल त्यो मूल्यमा औषधि उत्पादन गर्न नसकिने उनले बताए । ‘अहिले नै ठाउँठाउँमा प्यारासिटामोलको अभाव देखिन थालिसकेको छ,’ उनले भने, ‘उत्पादन गरेर घाटा खाइन्छ भने कसले उत्पादन गर्छ रु व्यवसायीले उत्पादन गर्न छाडेका छन् ।’

उनले संघले नै अत्यावश्यक औषधिको मूल्य धेरै हुनु नहुने भन्दै १४ वर्षअघि कम मूल्य तोकेकामा त्यसयता मूल्य समायोजन नभएको बताए ।

२०६४ असोज १० गते संघ र विभागले औषधिको मूल्य समायोजन गरेकोमा त्यसयता मूल्य समायोजन हुन नसकेको व्यवसायीहरूले बताउँदै आएका छन् । ३ वर्षअघि सरकारले २१ प्रकारका औषधिको मूल्य भने बढाएको थियो । हाल विभागले १ सयभन्दा बढी औषधिको मूल्य व्यवसायीले बढाउन नपाउने गरी नियन्त्रण गरेको छ ।

संघका अध्यक्ष क्षत्रीले अहिले कच्चा पदार्थकै मूल्य ४ गुणासम्म बढेकाले उत्पादन मूल्य उच्च भएको बताए । ‘प्यारासिटामोलको मूल्य अहिले पनि प्रतिचक्की १ रुपैयाँ छ,’ उनले भने, ‘तर लागत करीब डेढ रुपैयाँ जति पर्छ, कहिलेसम्म घाटामा उत्पादन गर्नु रु’ उनले अहिले करीब १० टनजति औषधि स्टकमा रहेकाले २ महीना जतिलाई गाह्रो नभए पनि मूल्य समायोजन नभए उत्पादन गर्न नसकी बजारमा औषधिको अभाव देखिने बताए । ‘सी, डी ग्रेडको औषधि सस्तोमा आयात हुनसक्ला,’ उनले भने, ‘तर, गुणस्तरीय औषधिको अभाव हुनेछ ।’, यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्