Logo
Logo

उपत्यकामा एक सातामा ११ हजार सक्रिय संक्रमित घटे


दृष्टि संवाददाता



काठमाडौं, ५ जेठ
पछिल्लो एक साता उपत्यकामा कोरोना संक्रमण घटीरहँदा उपत्यका बाहिरका जिल्लामा भने संक्रमण बढ्दै गएको छ । खासगरी बागमीतका उपत्यकाका बाहिरका जिल्ला, प्रदेश नम्बर १ र २ का जिल्लाहरुमा संक्रमण दैनिक बढीरहेको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङकअनुसार बुधबार देशमा ८ हजार ९ सय ८० जनामा संक्रमण पुष्टि हुँदा दुई हजार ३ सय १८ जना उपत्यकाका छन् । यसअघि एकैदिन उपत्यकामा करिब चार हजार दुई सयसम्मलाई संक्रमण पुष्टि भएको थियो । एक सातायता निरन्तर रुपमा उपत्यकामा नयाँ संक्रमण घटेको छ ।


उपत्यकामा नयाँ संक्रमित भन्दा निको हुनेको संख्या बढेकाले संक्रिय संक्रमितको संख्या पनि घट्दै गएको छ । उपत्यकाका सक्रिय संक्रमितको संख्या एक हप्तामै ११ हजार घटेको छ । १ जेठमा उपत्यकाका सक्रिय संक्रमितको संख्या ४२ हजार दुई सय २५ रहेकोमा शनिबार ३१ हजार दुई सय ३२ रहेको छ ।
१ जेठमा काठमाडौंमा सक्रिय संक्रमितको संख्या ३० हजार एक सय २४, ललितपुरमा सात हजार एक सय १ र भक्तपुरमा पाँच हजार थियो । ८ जेठमा सक्रिय संक्रमितको संख्या काठमाडौंमा २० हजार एक सय ६६, ललितपुरमा ६ हजार चार सय ४८ तथा भक्तपुरमा चार हजार ६ सय १८ छ । उपत्यकाका आसपासका जिल्लाहरूमा भने संक्रमण बढेको छ ।


प्रदेश नम्बर १ र २ मा बढ्दै
प्रदेश नम्बर १ मा पाँच दिनको बीचमा नयाँ संक्रमितको संख्या करिब दोब्बर भएको छ । शनिबार ११ सय चार जनामा संक्रमण पुष्टि भएको छ । १ जेठमा ६ सय ९५ जनामा संक्रमण देखिएको थियो ।
प्रदेश नम्बर १ का मोरङ, झापा,सुनसरीमा संक्रमण बढ्दो छ ।
प्रदेश नम्बर २ मा शनिबार पाँच सय ३४ मा संक्रमण पुष्टि भएको छ । १ जेठमा यहाँ नयाँ संक्रमितको संख्या चार सय ७४ थियो । केही दिन बढेकामा शनिबार प्रदेश नम्बर २ मा थोरै घटेको छ ।
प्रदेश नम्बर २ का धनुषा, बारा र महोत्तरीमा धेरै संक्रमण देखिएको छ ।

कैलालीमा उच्च
लुम्बिनी प्रदेशमा संक्रमण बढीरहँदा सुदुुरपश्चिम प्रदेशमा भने घट्न सकेको छैन । खासगरी कैलालीमा संक्रमण व्यापक भएको छ । कैलालीमा दैनिक पाँच सय भन्दा धेरैलाई संक्रमण हुने गरेको छ । सुदुरपश्चिममा शनिबार एक हजार २३ जनामा संक्रमण पुष्टि भएको छ, त्यसमध्ये ६ सय ६१ जना कैलालीका मात्र छन् ।

प्रतिक्रिया दिनुहोस्