Logo
Logo

बजेट २०७८ स् के घट्यो, के बढ्यो ?


दृष्टि संवाददाता



काठमाडौँ । सरकारले लघु, घरेलु, साना तथा ठूला उद्योगी व्यवसायीलाई ९० प्रतिशतसम्म आयकर छुट दिने भएको छ  । अर्थमन्त्री विष्णु पौडेलले शनिबार आगामी आर्थिक वर्ष (आव) को बजेट प्रस्तुत गर्दै वार्षिक २० लाख रुपैयाँसम्म कारोबार गर्ने करदातालाई ९० प्रतिशत, २० देखि ५० लाख रुपैयाँसम्म कारोबार गर्नेलाई ७५ प्रतिशत र ५० लाखदेखि एक करोड रुपैयाँसम्म कारोबार गर्नेलाई ५० प्रतिशत आयकर छुट दिने घोषणा गरेका हुन्  ।

चालु आवको तुलनामा आगामी वर्षका लागि करछुटको सीमा बढाइएको हो । यो वर्ष सरकारले वार्षिक २० लाख रुपैयाँसम्म कारोबार गर्ने करदातालाई ७५ प्रतिशत, २० देखि ५० लाख रुपैयाँसम्म कारोबार गर्नेलाई ५० प्रतिशत र ५० लाखदेखि एक करोड रुपैयाँसम्म कारोबार गर्नेलाई २५ प्रतिशत आयकर छुट दिएको थियो  । सरकारले आगामी वर्षका लागि व्यक्तिगत आयकरको सीमा भने यथावत् नै राखेको छ  । कोरोना महामारीबाट अति प्रभावित होटल, ट्राभल, ट्रेकिङ, यातायात तथा हवाई सेवा, चलचित्र उद्योग र सञ्चार गृहको करयोग्य आयमा पनि सरकारले छुट दिने भएको छ  । जसअनुसार आगामी आर्थिक वर्षमा ती क्षेत्रले आफ्नो कारोबारयोग्य आयको १ प्रतिशत मात्र कर तिरे पुग्नेछ  । यसका लागि सम्बन्धित करदाताको वार्षिक कारोबार रकम एक करोड रुपैयाँभन्दा बढी हुनुपर्नेछ  । ती व्यवसायको नोक्सानी सार्न मिल्ने अवधि बढाएर १० वर्ष पुर्‍याइएको छ  ।

यस्तै, आगामी आवमा खासगरी निजी विद्युतीय सवारी साधन (कार) को मूल्य घट्ने देखिएको छ  । ती साधनको आयातमा लाग्दै आएको भन्सार दरमा सरकारले कटौती गरेपछि मूल्य घट्ने अनुमान गरिएको हो  । योसँगै निजी प्रयोगका लागि उपयोग हुने विद्युतीय कारमा लाग्दै आएको कर हटेको छ  ।

चालु आवमा विद्युतीय कारमा करिब २ सय प्रतिशतसम्म कर लाग्दै आएको थियो  । सरकारले आगामी वर्षका लागि सो कर घटाएर पहिलेकै दर १० प्रतिशतमा झारेको छ  । नयाँ व्यवस्थाअनुसार विद्युतीय कारमा १० प्रतिशत भन्सार, १३ प्रतिशत मूल्यअभिवृद्धि कर मात्र लाग्नेछ  ।

‘विद्युत्को आन्तरिक खपत वृद्धि गर्न तथा वातावरणमैत्री यातायातका साधनको प्रयोगलाई बढावा दिन विद्युतीय साधनको आयातमा अन्तःशुल्क पूरै खारेज गरी भन्सार महसुलसमेत उल्लेख्य मात्रामा घटाइएको छ,’ बजेट वक्तव्यमा भनिएको छ, ‘अक्सिजन ग्यास, लिक्विड अक्सिजन, अक्सिजन सिलिन्डर, कन्सन्ट्रेटरलगायत अन्य जीवनदायक सामग्री र औषधि आयात, उत्पादन तथा बिक्रीवितरणमा लाग्ने भन्सार महसुल, मूल्यअभिवृद्धि कर र अन्तःशुल्क २०७८ पुससम्म छुट दिइएको छ ।’, यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्