Logo
Logo

युके-भारतीय भेरियन्टको ‘हाइब्रिड’ भाइरस भियतनाममा पनि भेटियो


दृष्टि संवाददाता


काठमाडौं । भारत र बेलायतमा देखा परेको कोरोना भाइरसको मिश्रणयुक्त नयाँ भेरियन्ट भियतनाममा पनि देखिएको छ ।

भियतनाम स्वास्थ्यमन्त्री गुयन थान लङ्गले यो हाइब्रिड भेरियन्ट अत्यन्त खतरनाक रहेको बताएका छन् । उनले सरकारको एक बैठकमा यो नयाँ भेरियन्ट हावाबाट पनि तीव्र गतीमा फैलिने खालको रहेको बताएको बीबीसीले जनाएको छ ।

सन् २०१९ को अन्तिममा चीनमा पहिलो पटक फेला परेको भनिएको कोरोना भाइरस हजारौंपटक उत्परिवर्तन भएको पाइएको छ । यसका बेलायत र भारतीय भेरियन्ट ज्यादा खतरनाक भएको वैज्ञानिकहरुले जनाएका छन् ।

बीबीसीका अनुसार भियतनाममा फेला परेको नयाँ भेरियन्टले मानव स्वास्थ्यमा पुर्‍याउने असरबारे अध्ययन हुन भने बाँकी रहेकोछ । भियतनामको नयाँ भेरियन्टको नाम भने राखिएको छैन । हालसम्म जुन देशमा फेला पर्यो त्यही देशको नामबाट भेरियन्टलाई चिनाउने गरिएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले हालसम्म चारवटा भेरियन्ट (भारत, बेलायत, दक्षिण अफ्रिका र ब्राजिल)लाई मात्र पुष्टि गरेको छ । भियतनाममा फेला परेको भनिएको नयाँ भेरियन्टबारे डब्ल्यूएचओका अधिकारीहरुको टिप्पणी सार्वजनिक भएको छैन ।

प्रतिक्रिया दिनुहोस्