Logo
Logo

ओलीलाई साथ भारतको, खोप चीनको ?


दृष्टि संवाददाता


काठमाडौं । नेपालको राजनीति फेरि एकपटक भारतको नियन्त्रणमा पुगेको छ । राष्ट्रवादी छवीका कारण अघिल्लो निर्वाचनमा सफलता पाएर प्रधानमन्त्रीमा निर्वाचित भएका केपी शर्मा ओलीले सत्ता टिकाउन यसपटक देशको राजनीति फेरि आफैँले भारतको हातमा पु¥याएका हुन् । व्यक्तिगत दम्भका कारण दुई तिहाईको बहुमतबाट हाल अल्पमतको र असंवैधानिक सरकारको नेतृत्व गरिरहेका ओलीका कारण देशले यसको मूल्य चुकाउन थालिसकेको छ ।

फाइल फाेटाे

भारतकै डिजाइनअनुसार संविधान मिचेर उनले चुनावको घोषणा गरेका छन् । चुनाव हुने सम्भावना देखिदैन । त्यस्तो अवस्थामा देश संवैधानिक संकटमा जाने छ । त्यसपछि नयाँ संविधानलाई पनि धरासायी बनाउने र फेरि हिन्दु राष्ट्रतर्फ लैजाने रणनीति बनिरहेको छ । जसको योजना भारतमै बनेको र त्यसलाई ओलीले कार्यान्वायन मात्र गरिरहेको स्रोतहरु बताउँछन् । जसकारण प्रतिनिधिसभा पुर्नस्थापना भएपनि भारतको साथमा ओली नै सरकारमा रहिरहने विश्लेषण भइरहेको छ । ओलीसँग जसपाको महन्थ ठाकुर र राजेन्द्र महतोको निकटताले पनि त्यही देखाउँछ ।

सरकारलाई राजनीतिक रुपमा भारतले साथ दिंदा महामारीबाट जोगाउन भने अर्काे छिमेकी चीनको साथ चाहिएको छ । तर, चीन यतिबेला नेपालसँग सकारात्मक छैन । जसकारण उसले खुलेर नेपाललाई सहयोग नगरेको परराष्ट्र स्रोत बताउँछ । पटक पटक हारगुहार गरेपछि मात्र चीनले १० लाख डोज खोप दिन तयार भएको हो । थप खोप बिक्रिका लागि तत्काल कुनै संकेत नदिएको स्रोत बताउँछ । ओली भारततर्फ लाग्दा यसरी चीनले नेपाललाई ठूलो सहयोग नगरेको हो ।

खोप सहयोगका लागि राष्ट्रपति बिद्यादेवी भण्डारीले नै विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकारप्रमुखसँग संवाद गरिरहेकी छिन् । जबकी प्रधानमन्त्री ओलीले यसमा खासै चासो दिएका छैनन् । आलंकारीक राष्ट्रपतिले पहल गर्ने तर कार्यकारी प्रधानमन्त्रीले चासो नदिएको घटनालाई समेत धेरै असामान्य भनेका छन् । कांग्रेस नेताहरुले त यसको आलोचना नै गरेका छन् । एमालेकै नेता भिम रावलले समेत यसलाई राष्ट्रपतिका अधिकार बुझाउने असंवैधानिक बाटोतर्फ अग्रसर भएको आरोप लगाएका छन् । उनले भनेका छन्,‘कोरोनाबाट त्रसित जनताको मनोदशाको शोषण गर्दै राष्ट्रपतिले कार्यकारी प्रमुख झैं विभिन्न देशका राष्ट्रपतिलाई खोप याचना पत्राचार गर्नु संविधान र प्रणालीको उल्लंघन हो।यसले,के प्रमं र सरकार निकम्मा भई राष्ट्रपति कहाँ अधिकार बुझाउने असंवैधानिक बाटोमा अग्रसर हो भन्ने गम्भीर प्रश्न उठ्छ ।’

जति पहल गरेपनि तत्काल खोप आउने सम्भावना देखिएको छैन । भारतले सन् २०२१ मा कोभिसिल्ड दिन नसकिने जनाइसकेको छ । नेपालमा १३ लाख जनताले कोभिलिल्डको पहिलो डोज लगाएका छन् । दोस्रो डोज लगाउन नपाउँदा पहिलो डोज त्यसै खेर जाने अवस्था छ । बेलायतले पनि कोभ्याक्समार्फत खोप दिने तर कहिले दिने टुंगो लागेको छैन ।

प्रतिक्रिया दिनुहोस्