Logo
Logo

क्वारेन्टाइनका लागि तोकियो होटेल


दृष्टि संवाददाता



काठमाडौं । सरकारले विभिन्न तीन देशका लागि नियमित उडान खुला गरेपछि नेपाल आउने नेपाली र विदेशी नागरिकलाई क्वारेन्टाइन बस्नका लागि होटेलहरू तोकिदिएको छ । पर्यटन विभागले क्वारेन्टाइनस्थलका रूपमा प्रयोेग गर्ने होटेलहरूको न्यूनतम ९ बुँदे मापदण्ड तोक्दै होटेलहरूको नामावली सार्वजनिक गरेको छ ।

होटेललाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्ने होेटेलहरूले सामूहिक रूपमा खाना खाने स्थल, बुफे, जिम, साउना, इन्डोर तथा आउटडोर गेम पूर्णरूपमा बन्द गर्नुपर्ने मापदण्ड राखिएको छ ।

विभागले कम्तीमा २० कोठा भएको होटेल, स्वास्थ्यसम्बन्धी तोकिएको मापदण्ड पालना गर्नेगरी होटेल परिसरको छुट्टै गेट वा कम्पाउन्ड भएको र सकेसम्म घुमफिर गर्न सक्ने खुला ठाउँ र बगैंचा भएको हुनुपर्ने मापदण्ड तोकेको छ ।

होटेल क्वारेन्टाइनमा रहेका हवाई यात्रुलाई सेवा प्रदान गर्न र स्वाब परीक्षणको नमूना संकलनका लागि पर्याप्त खुला ठाउँ हुनुपर्ने, होटेल कोठामा टेलिभिजन, वाइफाई, अनिवार्य हुनुपर्ने, कोठामा अट्याच ट्वाइलेट र नुहाउन र पिउन तातो पानीको व्यवस्था भएको हुनुपर्ने मापदण्ड तोकेको छ । होटेलमा खाना र अन्य सेवाहरू कोठामा वा प्यासेजमा मात्र प्रदान गर्ने व्यवस्था, मिलाउनुपर्नेछ ।

प्रत्येक कोठामा १ हप्तालाई पुग्ने गरी साबुन, टुथपेस्ट, ब्रस, हेन्डवास र टावेल राखिएको हुनुपर्ने विभागले उल्लेख गरेको छ । सोमवार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘नेपाली तथा विदेशी नागरिकहरू विदेशबाट नेपाल आउँदा पालना गर्नुपर्ने मापदण्ड २०७८’ लागू गरेको थियो । सोहीअनुसार नेपालीहरू नेपालमा आउँदा ७२ घण्टाको पीसीआर रिपोर्ट, होटेल बुक गरेको डकुमेन्ट ल्याउनुपर्ने र ५ दिन अनिवार्य होटेल क्वारेन्टाइन बस्नुपर्ने गरी मन्त्रालयले मापदण्ड बनाएको छ ।, यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्