Logo
Logo

जसपाका दुवै पक्षलाई आयोगको पत्र, कारबाही प्रमाणित हुने विवरण माग


दृष्टि संवाददाता



काठमाडौं । जसपाका दुवै पक्षले एक–अर्को समूहका शीर्ष नेतालाई निष्कासन गरेपछि निर्वाचन आयोगले दुवै पक्षसँग थप विवरण माग गरेको छ । दुवै पक्षले दल दर्ताको पुस्तकबाट निष्कासित व्यक्तिको नाम हटाउन पठाएको पत्रको जवाफ दिँदै आयोगले विवरण हेरफेरका लागि राजनीतिक दलसम्बन्धी नियमावलीअनुसार फारम भर्न भनेको हो । साथै आयोगले महन्थ ठाकुर पक्षलाई पार्टी केन्द्रीय कार्यकारिणी समितिको हस्ताक्षर र निर्णयको प्रतिलिपिसमेत पठाउन भनेको छ ।

आयोगका प्रवक्ता तथा सहसचिव राजकुमार श्रेष्ठले पत्रको अध्ययन गरेपछि दुवै पक्षले माग गरेबमोजिम कारबाही अगाडि बढाउन आवश्यक आधार नपुगेकाले पत्र पठाइएको बताए । ‘दुवै पक्षले पठाएको पत्रको अध्ययन गरेपछि उहाँहरूले माग गरेबमोजिम प्रक्रिया अगाडि बढाउन अपुग आधारहरू माग गरिएको छ । दल दर्ताको विवरण हेरफेर गर्ने भनेपछि सम्बन्धित दलको विधान र दलसम्बन्धी नियमावलीबमोजिम आधारहरू चाहियो । दलसम्बन्धी नियमावलीमा माग गरिएबमोजिम त्यहीँ व्यवस्था गरिएको अनुसूची १८ को फारम भरेर पठाउन भनेका छौँ । विवरण आएपछि थप प्रक्रिया अघि बढाउँछौँ,’ आयोग प्रवक्ता श्रेष्ठले भने ।

आयोगले पत्रमा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवलाई राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १८ मा रहेको ‘दलको विवरण हेरफेर भएको निवेदनको ढाँचा’को फारम भर्न भनेको छ । उक्त ढाँचामा दलको नाम, कार्यालयको ठेगाना, गठन भएको मिति, दल दर्ता भएको मिति तथा दर्ता नम्बर र दलको विवरण हेरफेर गर्ने गरी केन्द्रीय समितिबाट निर्णय भएको मितिसँगै साबिकको विवरण र हेरफेर भएको विवरण भर्नुपर्ने हुन्छ । यससँगै दलको विधान तथा नियमावली र केन्द्रीय समितिले विवरण हेरफेर गर्ने गरी गरेको निर्णयको प्रतिलिपिसमेत बुझाउनुपर्छ ।, यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्