Logo
Logo

‘नेपालमा विदेशी लगानीकर्ता तीन कारणले आउन खोज्छन्’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १० चैत । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले लगानीका लागि रुचि देखिनु पहिलो चरण भएको उल्लेख गरेका छन् । उनले विदेशी लगानीकर्ता तीन कारणले नेपाल आउन चाहेको समेत बताएका छन् ।
लगानी सम्मेलनको संघारमा प्रबन्ध निर्देशक चौधरीले नयाँ पत्रिकासँगको कुराकानीमा नेपालमा लगानी सम्मेलन आयोजना गर्न लागेकोमा खुसी व्यक्त गर्दै लगानी बोर्डलाई धन्यवाद दिएका छन् । उनले उल्लेख गरेका छन्, ‘हामीले देशमा धेरै सम्भावना देखिरहेका छौँ, जसलाई अवसरका रूपमा बदल्न प्रयास गरिरहेका छौँ । बोर्डले विदेशी लगानीकर्तालाई पनि यहाँको सम्भावना देखाउन खोज्दै छ, जुन सकारात्मक छ । लगानीका लागि रुचि देखिनु लगानीको पहिलो चरण हो । विदेशी लगानीकर्ता तीन कारणले नेपाल आउन खोज्छन् ।’
उनले भनेका छन्, ‘पहिलो, नेपाल सकारले बोलायो जाऊँ न त भनेर औपचारिक रूपमा आउँछन् । अर्काे कर्पाेरेटले बजार तयार भएको निक्र्योल गरेर लगानीको रुचि राख्छन् । अर्थात, बजारका विविध आयामलाई उनीहरूले नियालिरहेका हुन्छन् । उनीहरूले सरकारले दिने छुट, इन्सेन्टिभ्स आदि हेर्दैनन् । यसरी बजारको विविध आयाम हेरेर विगतमा नेपाल आउने लगानीकर्तामा युनिलिभर, डाबर, सूर्य नेपाल र टेलिकम क्षेत्रका लगानीकर्ता पर्छन् । तेस्रोखाले लगानीकर्ताले नेपालमा लगानीका लागि उपयुक्त वातावरण छ कि छैन भनी हेर्छन् । लगानीका लागि वातावरण कस्तो छ ? श्रम कानुन कस्तो छ ? अन्य छुटका सम्भावना के छन् ? निर्णय प्रक्रिया कस्तो छ ? भन्ने हेरेर लगानी गर्छन् ।’
समयमा गरिने निर्णय लगानी आकर्षित गर्न अहिलेको सन्दर्भमा सबैभन्दा महत्ववपूर्ण भएको भन्दै उनले ‘नेपालमा सिमेन्ट, हाइड्रो, बैंकिङ क्षेत्रमा उद्यमशील सोचाइ निकै विकसित भएको छ । मलाई लाग्छ, नेपालमा सबै क्षेत्रमा असीमित सम्भावना छ । यसलाई लगानी बोर्डले विशिष्टीकृत रूपमा अघि लगिरहेको छ । त्यसैले बोर्डमार्फत सम्भावित राम्रा लगानीकर्ता मुलुकमा भित्रिइरहेको’ जनाएका छन्  ।
विदेशी लगानीकर्ता नेपाल आउनुअघि स्वदेशी लगानीकर्ताले कुन क्षेत्रमा कस्तो काम गरिरहेका छन् भनेर हेर्ने बताउँदै प्रबन्ध निर्देशक चौधरीले भनेका छन्, ‘नेपाली लगानीकर्तासमेतले निश्चित प्रतिशत लगानी गर्नेगरी परियोजना अगाडि बढाउने हो भने विदेशी लगानीकर्ता सहजै आउँछन् । हाम्रो कम्पनीले साझेदारीमा कुनै लगानीकर्ता ल्याएका छौँ भने उनीहरूले ५० प्रतिशत विश्वास हामीजस्ता स्थानीय साझेदारलाई गर्छन् । यस्तो अवस्थामा बाँकी ५० प्रतिशत विश्वासचाहिँ लगानी बोर्डजस्ता निकायले कस्तो भूमिका निर्वाह गर्छन् त्यसमा भर पर्छ । हामीले मात्रै यो वर्षको लगानी सम्मेलनमा ५ वटा परियोजना ल्याउँदै छौँ । यस्तो अवस्थामा अहिले पछिल्लो समयमा बोर्डले गरिरहेको प्रयासमा हाम्रा साझेदार सकारात्मक रहेको पाइएको छ ।’
बोर्डले बनाएको धेरैवटा परियोजना सुचिमा विदेशी लगानीकर्ता आइसकेको बताउँदै उनले ती परियोजनामा स्वदेशी लगानीकर्ताले पनि लगानी गर्ने हो भने विदेशी लगानीकर्ता पनि मनोबलसहित आउने वातावरण बन्छ । किनकि यहाँका स्थानीय समस्या र अवसरबारे स्थानीय व्यवसायीलाई नै थाहा हुने जनाएका छन् ।
उनले भनेका छन्, ‘हाम्रो कम्पनीले साझेदारीमा कुनै लगानीकर्ता ल्याएका छौँ भने उनीहरूले ५० प्रतिशत विश्वास हामीजस्ता स्थानीय साझेदारलाई गर्छन् । यस्तो अवस्थामा बाँकी ५० प्रतिशत विश्वासचाहिँ लगानी बोर्डजस्ता निकायले कस्तो भूमिका निर्वाह गर्छन्, त्यसमा भर पर्छ ।’
नेपाललाई यहाँकै उद्यमशील र व्यावसायिक संगठनले बुझ्ने उनको भनाइ छ । उनले भने, ‘अहिलेको विश्वव्यापी परिवेशमा कुनै पनि नयाँ क्षेत्र बुझ्नका लागि आफै सिक्नुपर्दैन । विशेषज्ञता भएको कुनै पनि विश्वव्यापी वा क्षेत्रीय कम्पनीलाई साझेदारका रूपमा ल्याउन सक्छौँ । त्यसो भएमा प्रविधि हस्तान्तरण पनि हुन्छ, नेपालीको क्षमता पनि विकास हुन्छ । नेपालमै कमाएको पैसा नेपालमै लगानी ग¥यो भने त्यो पुँजी नेपालमा रहन्छ, पुँजी वृद्धि हुन्छ ।’
चौधरी ग्रुप नामको एउटा नेपाली कम्पनीले एक वर्षमा ४५ अर्ब लगानी गरिरहेको बताउँदै यो सानो रकम नभएको उनको भनाइ छ । ‘नेपाली कम्पनीले के–कस्ता समस्या भोगिरहेका छन्, सरकारले समस्या समाधान गरिदिएर काम गर्न सहज गरिदिने हो भने हामीजस्ता स्वदेशी कम्पनी नै विदेशी लगानी ल्याउन अगाडि बढ्नेछौँ । हामी नै सरकारको प्रवक्ता बन्न सक्छौँ, ‘उनले भनेका छन्, ‘हामीले उनीहरूसामु हामी यी–यी क्षेत्रमा काम गरिरहेका छौँ र हाम्रो मनोबल उच्च छ भनेर प्रस्तुत हुन्छौँ । नेपाली लगानीकर्ताको क्षमता र उनीहरूले गरिरहेका कामको पनि अवमूल्यन गर्नुहुँदैन । किनभने नेपालको उतार–चढावको वातावरणमा नेपाली लगानीकर्ताले गरिरहेको कामलाई कम आक्न मिल्दैन ।’
उनले अगाडि उल्लेख गरेका छन्, ‘मेरै दुईवटा उदाहरण दिन चाहन्छु । वाईवाई चाउचाउको विस्तारका लागि हामी एकपटक बहराइन गएका थियौँ । उनीहरूको इन्भेस्टमेन्ट बोर्डले गाडी नै पठाएर लिन आयो । उनीहरूसँग छलफल भयो । छलफलपछि आफ्नो मुख्य कार्यालय घुमाउन लगे । कार्यालयमा यो डेस्कबाट प्रक्रिया सुरु हुन्छ, यहाँ कम्पनी दर्ता गर्ने हुन्छ, यो डेस्कमा बैंकिङसम्बन्धी काम हुन्छ भनेर देखाए । २४ घन्टामा कम्पनी दर्तादेखि लगानी स्वीकृतिसम्म सबै काम हुन्छ भनी बोर्डका सिइओले प्रत्यक्ष प्रस्तुत गरे । यस्तो भएपछि लगानीकर्ताको मनोबल नै उच्च भइहाल्छ । पक्कै पनि त्यसो गर्न सकिन्छजस्तो लाग्छ ।’ सरकारले स्थानीय रूपमा रोजगारी सिर्जना गर्ने उद्देश्यसहित लगानीकर्तालाई छुट दिने गर्छन् । त्यस्तो छुट भनेर नगद छुटलाई मात्रै बुझ्न नहुने भन्दै उनले करमा वा कच्चा पदार्थको भन्सार आदिमा छुट दिन सकिने बताएका छन् ।
प्रबन्ध निर्देशक चौधरीले भनेका छन्, ‘हामीले सिमेन्ट क्षेत्रमा १८ देखि २० अर्ब लगानी गरेका छौँ । भइरहेका क्षेत्रमा कतिपय अवस्थामा निर्णय गर्न ढिला भएका होलान्, तर अवरुद्ध भने भएका छैनन् । हाम्रो अनुभवको हिसाबले भन्नुपर्दा कतिपय यति राम्रा–राम्रा क्षेत्रमा हामीले प्रस्ताव ल्याएका थियौँ । तर, ती विषयमा सरकारले तत्काल निर्णय दिन सकेन । निर्णय लिँदा कतै केही हुन्छ कि भन्ने आत्मविश्वास गुमाउने गरेको देखिन्छ । उदाहरणका लागि हामीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई सुधार गर्न चार–पाँचपटक प्रस्ताव ल्यायौँ ।’

हाल १२ वटा क्षेत्रीय विमानस्थल चलाइरहेको कम्पनीको साझेदारीमा अहिले भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई सुधार्न प्रस्ताव राखेको भन्दै उनले भनेका छन्, ‘सबै लगानी हामी गर्छौं, सरकारले अहिले पाइरहेको राजस्व पनि बढाएरै दिन्छौँ, हरेक वर्ष १० प्रतिशतभन्दा वृद्धि गर्दै लैजान्छौँ । त्यहाँका कर्मचारी हटाउँदैनौँ, उनीहरूलाई नै दक्ष बनाउँछौँ भन्ने प्रस्ताव गरेका थियौँ । जुन–जुन सरकारी निकायसँग हामीले छलफल ग¥यौँ, सबैले राम्रो प्रस्ताव भने । तर, निर्णय गर्न भने कसैले पनि सकेनन् । यस्तो सन्दर्भमा लगानी बोर्डजस्तो संस्था हुनु र यसले लगानी सम्मेलन गर्नु आफँैमा सकारात्मक पक्ष हो ।’

प्रतिक्रिया दिनुहोस्