Logo
Logo

चैत महिनाभित्र विप्लवका गतिविधि नियन्त्रण गरिन्छ : प्रम ओली


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसात्मक गतिविधि गरिरहेको विप्लव समूहका गतिविधि चैत महिनाभित्र नियन्त्रण गरिसक्ने बताउनुभएको छ ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को संयुक्त संसदीय दलको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । “उहाँहरु सहमतिमा आए ठिकै छ । नत्र विप्लव समुहका अतिविादी क्रियाकलाप चैत भित्रै सरकारले नियन्त्रण गर्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “विकास निर्माणमा अवरोध,शिक्षा स्वास्थ्यमा अवरोध गर्ने ,चन्दा माग्ने,मान्छे मार्ने अनि अनि हंसिया हथौडा अंकित झण्डा प्रयोग गर्ने ? यस्तो प्रवृतिलाई सरकारले नियन्त्रण गर्छ नै ।”


प्रधानमन्त्री ओलीले संसदको हिंउदे अधिवेशन सकिएकोले साँसदहरुलाई जिल्ला र क्षेत्रमा जान निर्देशन दिनुभएको छ । जिल्ला र क्षेत्रका जनतासँग सरकारले गरेका कामहरुको बारेमा प्रचार गर्न र विपक्षीले लगाएका निराधार आरोपको खण्डन गर्न साँसदहरुलाई प्रधानमन्त्री ओलीले निर्देशन दिनुभएको छ । “तपाईंहरु जिल्ला र क्षेत्र जानुहोस । सरकारले गरेका कामहरुको प्रचार गर्नुहोस । जनतामा भएका कुरा लुकाएर नभएका कुराको प्रचार गरिएको छ । त्यसको खण्डन गर्नुहोस । सत्य कुरा भन्नुहोस । जनताका कुरा सुन्नुहोस । आगामी बर्षको नीति र कार्यक्रमका लागि आफ्नो क्षेत्रका योजना र बजेटको फेहरिस्त बोकेर काठमाडौं फर्कनुहोस” प्रधानमन्त्री ओलीले साँसदहरुसँग भन्नुभयो “जनताले सोधेका हरेक कुराको जवाफ नम्र ढंगले दिनुहोस ।”


नेकपाका संसदीय दलका नेता र एवं पार्टी अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री ओलीले स्थानीय तहको पार्टी एकताको बारेमा जनताले साँसदहरुसँग धेरै प्रश्न सोध्न सक्ने बताउनुभएको छ । तर अब पार्टी एकताका लागि धेरै समय नलाग्ने भएकोले त्यसै अनुसार जनता र कार्यकर्तालाई सन्देश दिन प्रधानमन्त्री ओलीले आग्रह गर्नुभएको छ । “केन्द्रमा एकिकरण भएको महिना दिन भित्रै सबै कमिटीको एकता सकिनु पथ्र्यो यसमा अनावश्यक विलम्ब भएको छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “तर अब अध्यक्ष पुष्पकमल दाहाल अमेरिकाबाट फर्कने वित्तिकै एकतामका सबै काम टुंगिन्छन् ।”


प्रधानमन्त्री ओलीले जनतामा नेकपाको लोकप्रियता अझै बढीरहेको बताउनुभएको छ । नेकपाको स्पष्ट नीति र लक्ष्य भएकोले देशलाई कता लैजाने भन्ने कुरामा अलमल नभएको बताउनुभएको छ । “देशमा नेकपा जस्तो स्पष्ट नीति,लक्ष्य भएको अर्को पार्टी छैन । हाम्रो स्पष्ट लक्ष्य छ समृद्धि सहितका सुखी नेपाली” प्रधानमन्त्री ओलीले भन्नुभयो “यही लक्ष्यलाई प्राप्त गर्न सरकार दत्तचित्त भएर लागिपरेको छ ।”

प्रतिक्रिया दिनुहोस्