Logo
Logo

प्रधानमन्त्री ओलीको गृहनगरमा चार अर्बको चलखेल


दृष्टि संवाददाता



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा रंगशाला निर्माणको नाममा करोडौंको चलखेल भएको छ । मदन भण्डारी रंगशालाको टेण्डर प्रक्रिया मिलाएर करोडौं हिनामिना हुन लागेको हो । प्रधानमन्त्री ओलीकै नाम जोडेरमा यसमा डिल भइरहेको स्रोत बताउँछ ।


हिनाहिनाको आशंकापछि सार्वजनिक खरिद अनुगमन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका निकायले छानबिन थालेका छन् । सार्वजनिक खरिद ऐन तथा निर्देशिका पालना नभएको उजुरीका आधारमा छानबिन सुरु भएको हो ।
करिब चार अर्बको लागतमा निर्माण हुन लागेको सो रंगशाला निर्माणको लागि राष्ट्रिय खेलकुद परिषद्ले गत १६ बैशाखमा बोलपत्र आह्वान गरेको थियो । अन्तर्राष्ट्रिय बोलपत्रमा ४५ दिनको समय दिनुपर्नेमा ३० दिनमात्र दिइएको र सार्वजनिक खरिद नियमावलीका अन्य प्रावधान समेत मिचिएको प्रारम्भिक छानबिनमा खुलेको छ । किरातेश्वर कन्ट्रक्सन लगायत निर्माण व्यवसायीकै उजुरीका आधारमा छानबिन थालिएको कार्यालयले जनाएको छ । प्रि–बिड बैठकमा दिएका सुझावहरु कार्यान्वायन नगरिएको र कुनै कम्पनी बिशेषलाई मिल्ने गरी प्राविधिक योग्यता राखिएकाले यसमा मिलेमतो गरी ठूलो अनियमितता गर्न लागिएको उजुरीमा उल्लेख छ । स्रोतका अनुसार राखेपका सदस्य सचिव रमेश सिलवालले एचएन कन्ट्रक्सनका मालिक करुण श्रेष्ठसँग मिलेर यसमा अनियमितता गर्न लागेका हुन् । सिलवालले प्रधानमन्त्रीलाई समेत आफुले मिलाउने भन्दै डिल गरेका छन् ।
ठूला तथा जटिल प्राविधिक क्षमता आवश्यक पर्ने आयोजनाका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयले गत बैशाखमा मात्र इन्जिनियरीङ प्रोक्युरमेन्ट कन्ट्रक्सन(इपीसी) सम्बन्धि निर्देशिका ल्याएको थियो । सुरुङमार्ग, रंगशाला, फ्लाइओभर जस्ता जटिल प्रकृतीका निर्माणसम्बन्धि प्रक्रियालाई सह जगर्न सो निर्देशिका ल्याइएपनि यो टेण्डरमा त्यसका प्रावधानहरु पालना नभएको सार्वजनिक खरिद अनुगमन कार्यालयका एक अधिकारीले बताए ।
त्यो त सो रंगशालाको योजना पहिलेदेखि नै विवादमा पर्दै आएको छ । १० वर्षअघि नै झापाको कमल गाउँपालिका– ५ मा आदिवासी रंगशाला निर्माणका लागि त्यहाँ चिहान समेत हटाउने काम भएको थियो । २०६७ को बैशाखमा तत्कालिन रक्षामन्त्री रहेकी राष्ट्रपति भण्डारीबाट शिलान्यास समेत भइसकेको थियो । त्यो योजना रद्द गरी हाल दमकमा मदन भण्डारीको नाममा रंगशाला स्थापना गर्न लागेपछि स्थानीय आदिवासी जनजाती आक्रोशित छन् । विवादको क्रममा टेण्डरको विवाद पनि थपिएको छ । दमक–३ हम्सेदुम्सेमा सामुदायिक वन रहेको क्षेत्रमा रंगशाला निर्माण गर्न लागिएकोमा त्यहाँ समेत जग्गाको विवाद छ । विकासको नाममा प्रधानमन्त्रीकै गृहनगरमा हुन लागेको यो अनियमितताले ओलीको छवीमै ठूलो दाग लाग्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्