Logo
Logo

लक्षित समूहबाहेकलाई खोप लगाए कारवाही


दृष्टि संवाददाता



कञ्चनपुर । लक्षित समूहबाहेकका व्यक्तिलाई खोप लगाइए जिल्ला प्रशासन कार्यालयले कारवाही गर्ने भएको छ । भेरोसेल खोप ६२ देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई लगाउन शुरु गरिएकामा अन्यले पनि लगाएको गुनासो आएपछि प्रशासन कार्यालयले कारवाही गर्ने जनाएको हो । यसबारे जिल्लाका सबै स्थानीय तहलाई खोप लक्षित वर्गका व्यक्तिलाई लगाउन सहयोग गर्न भनिएको छ ।

प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जिल्ला स्वास्थ्य कार्यालयलाई लक्षित समूहबाहेक अन्य खोप लगाउने व्यक्ति, खोप केन्द्र र केन्द्रका स्वास्थ्यकर्मीको विवरण प्रशासन कार्यालयमा पठाउन निर्देशन दिनुभएको छ । प्रजिअ महतोले जारी गरेको सूचनामा स्वास्थ्य कार्यालयबाट आएको विवरणका आधारमा कारवाही गरिने उल्लेख गरिएको छ ।

ज्येष्ठ नागरिकसँगै छुटेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सरसफाइकर्मी, मेडिकल कलेजका विद्यार्थीलाई समेत खोप लगाइने भएपछि गैरलक्षित समूहका व्यक्ति पनि खोप लगाउन पुगेका छन् । गैरलक्षित समूहका व्यक्तिका कारण ज्येष्ठ नागरिक खोप केन्द्रमा खोप लगाउन असहज अवस्था देखिएको छ । लक्षित समूहका व्यक्तिसँगै उनीहरुका आफन्त पनि केन्द्रमा आउँदा समस्या देखिएको स्वास्थ्यकर्मी बताउँछन् । जिल्लाका सबै स्थानीय तहमा मङ्गलबारदेखि ज्येष्ठ नागरिकलाई खोप लगाउन थालिएको हो । खोप तीन दिनसम्म लगाइने छ ।

पाँच दिनमै लागुऔषधसहित १२ पक्राउ
जिल्लामा लागुऔषधका सेवनकर्ता र कारोवारीलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । पाँच दिनको अवधिमै प्रहरीले १२ जनालाई प्रतिबन्धित लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा अधिकांश १८ वर्षदेखि २७ वर्षसम्मका व्यक्ति छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार शनिबार दोधारा चाँदनी र पुर्नवास नगरपालिकाबाट गरी पाँच तथा आइतबार बेलडाँडी गाउँपालिका क्षेत्रबाट दुई जनालाई पक्राउ गरिएको छ । सोमबार शुक्लाफाँटा नगरपालिका–१० झलारी बजार क्षेत्रबाट प्रहरीले लागुऔषध खैरो हिरोइनसहित तीन जनालाई पक्राउ गरेको छ ।

बुधबार भीमदत्त नगरपालिका–४ सुन्दरटोलस्थित बाह्रसिङ्गा होटल एण्ड लजका सञ्चालक भुवन साहु र बेलडाँडी–९ रतनपुर खजुवाका १९ वर्षीय गोपाल ठगुन्नालाई खैरो हिरोइनसहित प्रहरीले पक्राउ गरेको छ । दुवै जनाको साथबाट प्रहरीले १४ ग्राम लागुऔषध खैरो हिरोइन बरामद गरेको छ ।

गत वैशाखदेखि यही जेठ २६ गतेसम्म मात्रै प्रहरीले लागुऔषध सहित ४८ जनालाई पक्राउ गरेको छ । लागुऔषध ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ । वैशाखदेखि हालसम्म लागुऔषधका ३० मुद्दा दर्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्