Logo
Logo

प्रहरी नेतृत्वमा गुट, संगठनमा फुट


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेपाल प्रहरीमा गुटबन्दीको रोग नयाँ होइन । विगतमा आइजिपी र एआइजीबीच कुटाकुट भएकै घटना समेत भएका छन् ।

अहिले प्रहरीमा त्यो तहको विवाद त छैन र नेतृत्व तहमा मिलाप भने छैन । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल दुवैमा नेतृत्व तहमा असझदारी छ । गत साताका दुई घटनाले पनि त्यसलाई सार्वजनिक रुपमै पुष्टि गरेको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल बिमस्टेकको सुरक्षासम्बन्धी बैठकमा भाग लिन गत बुधबार थाइल्याण्ड गएका थिए । विदेश भ्रमणको क्रममा पहिलो नम्बरको एआइजीलाई निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी दिने प्रचलन छ । तर, खनालले दोस्रो बरियताका एआइजी ठूले राईलाई निमित्त महानिरीक्षकको जिम्मेवारी दिए । संयोगले पहिलो नम्बरमा एआइजी पुष्कर कार्की त्यसबेला बिदामा थिए । तर, आफू बैंकक जान लागेकोबारे कार्कीलाई जानकारी नै नगराएको स्रोत बताउँछ । यो घटनाले प्रहरी नेतृत्वमा रहेको असमझदारी प्रष्ट हुन्छ । जुनियर एआइजीको निमित्तको जिम्मेवारी दिएको विषयले संगठनभित्रै पनि आश्चर्यका साथ हेरिएको थियो ।

सशस्त्र प्रहरी बलको नेतृत्वमा पनि कुन तहको विवाद छ भन्ने गत साता देखियो । एआइजी नारायणबाबु थापाले फेसबुकमै आइजिपी शैलेन्द्र खनालको आलोचना गरे । एसपी बढुवाको विषयलाई लिएर उनले आलोचना गरेका हुन् । एसपी बढुवाबारे कुनै छलफल नगरिएको उनको भनाइ थियो । उनले फेसबुकमा लेखेका थिए, ‘प्रमोसन सिफारिस भएको वेभसाइटबाट थाहा पाइयो । हुने सबैलाई एक मुष्ठ बधाई । अब सशस्त्र बन्छ भन्ने हाम्रोे ठम्याइ छ । जय नेपाल ।’ एआइजी थापाको यो फेसबुक स्टाटसले सशस्त्र प्रहरी बलभित्र हंगामा भयो ।

मानव स्रोत विभागकै एआइजीले यसरी वेडसाइटबाट बढुवाको जानकारी पाउनुले सशस्त्र प्रहरीभित्र रहेको गुटबन्दी प्रष्ट हुन्छ । पछि एआइजीले नै संगठनको अनुशासन पालना नगरेको कुरा उठेपछि उनले त्यसलाई हटाएका थिए ।

थापा मात्र होइन, एआइजी पुष्पराम केसीसँग पनि आइजिपी खनालको राम्रो सम्बन्ध छैन । तर, संगठनभित्रको असन्तुष्टि सामाजिक सञ्जालमा व्यक्त गरेर संगठनलाई नै कमजोर बनाउने गतिविधि देखाएकाले एआइजी थापामाथि कारबाही गर्नुपर्ने माग सशस्त्र प्रहरीभित्र उठेको छ ।

आइजिपीले एआइजीहरुलाई अधिकार प्रत्यायोजन नगर्ने र एआइजीहरुले आइजिपीलाई असहयोग गर्ने प्रवृत्ति दुवै संगठनमा यसपटक पनि देखिएको छ । नेतृत्वमा रहेको गुटबन्दीले नै संगठनमा राजनीतिक हस्तक्षेप बढ्दै गएको छ भने तल्लो तहमा नैराश्यता छाएको छ ।

प्रतिक्रिया दिनुहोस्