Logo
Logo

मेलम्चीको पानी अझै दुई महीना नआउने, नदीकिनारमा नजान सूचना


दृष्टि संवाददाता



काठमाडौं । काठमाडौं उपत्यकामा असार १ गतेदेखि २ महीनाका लागि मेलम्चीको खानेपानी नआउने भएको छ । आउँदो असार १ गतेदेखि सुरुङको पानी खाली गरी निरीक्षण गर्ने र पुनः पानी भर्न २ महीना लाग्ने भन्दै मेलम्ची खानेपानी विकास समितिले २ महीनासम्म पानी नआउने जानकारी दिएको हो ।

असार १ गतेदेखि ६० दिनसम्म काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण हुनेछैन । समितिले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै सुरुङ खाली गर्न १६ दिन लाग्ने र बाँकी समय सुरुङ निरीक्षण, परीक्षण र सुधार कार्य गर्न र पुनः पानी भर्न समय लाग्ने भन्दै समितिले ६० दिनसम्म पानी नआउने जानकारी दिएको हो ।

असारदेखि अन्तिम परीक्षण हुने भएकाले मेलम्चीको पानी पथान्तरणलाई जतिसक्दो छिटो गर्नेगरी काम अघि बढाएको समितिका कार्यकारी निर्देशक ई रामकुमार श्रेष्ठले जानकारी दिए । उनले सुरुङ खाली गर्ने क्रममा मेलम्ची नदी, अडिट टनेल रहेको सिन्धु, ग्याल्थुम, वाग्मती नदीमा पानीको बहाव बढ्न सक्ने भन्दै असार १ गतेदेखि नै नदीकिनारामा नजान र काम विशेषले जाँदा उच्च सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरे ।

मेलम्चीको पानी काठमाडौं उपत्यकामा उपलब्ध नहुने भएपछि अहिले काठमाडौं उपत्यका खानेपानी लिमिटेड र सम्बद्ध शाखाहरूले पानी वितरणको तालिका नै परिवर्तन गर्न थालेका छन् । महाँकाल शाखाका एक अधिकारीले मेलम्चीको पानी आउनुअघिको तालिकाअनुसार पानीको तालिका बनाउन थालेको बताए ।

मेलम्चीको पानी आएपछि उपत्यकावासीले पानीको समस्या खासै भोग्नु परेको छैन । तर, अब केही महीना पहिलाकै जस्तै अर्थात् दैनिक ८ करोड लिटर पानी वितरण हुने देखिएको छ, । वर्षा शुरू भएकाले थप ४ करोड लिटर पानी थपिने हुँदा त्यति समस्या नहुने उल्लेख गरिएको छ ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्