Logo
Logo

१० करोड डोज खोप गरीब देशलाई उपलब्ध गराउने बेलायतको घोषणा


दृष्टि संवाददाता


काठमाडौं । बेलायतले आफूलाई चाहिनेभन्दा बढी रहेको दश करोड डोज कोरोना खोप गरिब देशहरुलाई वितरण गर्ने भएको छ । धनी देशहरूको समूह ‘जी-सेभेन’ बैठकको पूर्वसन्ध्यामा बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आगामी केही साताबाट खोप उपलब्ध गराउन थाल्ने घोषणा गरेका छन् ।

यसै वर्षको अन्त्यसम्ममा ३ करोड डोज वितरण गरिने प्रधानमन्त्री जोनसनको भनाइ छ । बाँकी खोप अर्को वर्षभित्रमा वितरण गरिने जोनसनले बताएको स्काइ न्यूजले उल्लेख गरेको छ ।

यसअघि अमेरिकाले पनि न्यून र मध्यम आय भएका देशहरुलाई ५० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको थियो । शुक्रबार कोर्नवालमा सुरु हुने जी(सेभेनको बैठकमा अन्य सदस्य देशका सरकार तथा राष्ट्र प्रमुखहरुले कोरोनाविरुद्धको सामूहिक लडाइँमा खोप उपलब्ध गराउने घोषणा गर्नसक्ने अपेक्षा गरिएको छ ।

अन्तर्राष्ट्रिय अन्तरसरकारी आर्थिक संगठन जी-सेभनमा सात प्रमुख विकसित देशहरू अमेरिका, बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटली र जापान सदस्य छन् । बेलायतले अनुदान दिने खोपको पाँच भागमध्ये एक भाग देशहरूसँग सोझै सम्झौता गरेर र अन्य कोभ्याक्स कार्यक्रममार्फत वितरण हुने बीबीसीले जनाएको छ । बेलायतले यसअघि कोभ्याक्स कार्यक्रमलाई ५० करोड पाउन्ड उपलब्ध गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्