Logo
Logo

नेपालमा पहिलो लिक्विड अक्सिजन प्लान्ट बन्दै, प्रधानमन्त्रीले गरे शिलान्यास


दृष्टि संवाददाता



काठमाडौं । कोरोना महामारीको बेला २४ अ‍ैं घन्टा उद्योग चलाएर अक्सिजन सप्लाई गर्दै आएको शंकर ग्यास प्रालिले नेपालमा पहिलोपटक लिक्विड अक्सिजन प्लान स्थापना गर्ने भएको छ । रुपन्देहीको रोहिणीमा स्थापना हुन लागेको अक्सिजन प्लान्टको प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार भर्चुअल माध्यमबाट शिलान्यास गरेका छन् भने लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले निरीक्षण गरेका छन् ।


करिब १ अर्ब रुपैयाँको लागतमा आगामी एक बर्षभित्रै सञ्चालनमा ल्याउने लक्ष्यसहित रोहिणी गाउँपालिका वडा नम्बर ४ मा प्लान्ट स्थापना हुन लागेको हो । त्यसबाट ६० टन लिक्विड अक्सिजन र एक टन नाईट्रोजन ग्यास प्रति दिन उत्पादन गर्न सकिने कम्पनीका सञ्चालक शंकर अग्रवालले बताए ।
२०५६ सालमा पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा १०० क्युबिक मिटर प्रतिघण्टाको उत्पादन क्षमताको अक्सिजन ग्यास प्लान्ट जडान गरि उत्पादन सुरु गरेको सो कम्पनीले यो क्षेत्रमा लगानी बढाउँदै लगेको छ ।
२०६० सालमा काठमाण्डौंको बालाजु औद्योगिक क्षेत्रमा १०० क्युबिक मिटर प्रतिघण्टा क्षमताको प्लान्ट जडान गरेकोमा त्यसले अपुग भए पछि पुनः सोही स्थानमा २५० क्युबिक मिटर प्रतिघण्टा र ८० क्युबिक मिटर प्रतिघण्टा समेत गरी जम्मा ४३० क्युविक मिटर क्षमताको प्लान्ट जडान गरेको र २०७१ सालमा रुपन्देहीको रोहिणी गाउँपालिकामा पनि २५० क्युबिक मिटर प्रतिघण्टा क्षमताको प्लान्ट जडान गरि सेवा प्रदान गर्दै आएको छ ।


‘कोभिड–१९ को दोश्रो लहरको कारण मुलुकभर अक्सिजनको अभाव हुदा हामीले पूर्ण क्षमतामा सञ्चालन गरेर आपूर्ति गरे पनि त्यसले पर्याप्त भएन र अक्सिजनको हाहाकार भएकोले नेपालमै पहिलो पटक लिक्विड अक्सिजन प्लान्टको सुरुवात गर्न लागेका छौं,’ कम्पनीले भनेको छ,‘ करिब १ अर्ब रुपैयाँको लागतमा आगामी एक बर्षभित्रै सञ्चालनमा ल्याउने लक्ष्यसहित रोहिणी गाउँपालिका वडा नम्बर ४ मा स्थापना हुन लागेको प्लान्टबाट ६० टन लिक्विड अक्सिजन र एक टन नाईट्रोजन ग्यास प्रति दिन उत्पादन गर्न सकिने प्लान्टको आज २०७८ जेठ ३० गते आइतबार सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीबाट शिलान्यास गराउन पाउँदा हामी निकै गौरवान्वित महशुष गरेका छौं ।’
लागत, ढुवानी लगायतको खर्चमा कमी हुने भएकोले सामान्य अक्सिजन ग्यास भन्दा यसको मूल्य कम पर्ने कारणले एउटै मूल्यमा देशभर अक्सिजन उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
नेपालमै पहिलो लिक्विड अक्सिजन प्लान्टको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अक्सिजनमा आत्मनिर्भरता कायम गर्ने प्रयास सह्रानीय भएको बताए ।
‘महामारीको दोस्रो लहरले हामीलाई एक्कासी अक्सिजनको अभाव, सिलिन्डरको अभाव आदिले ग्रस्त बनायो । त्यतिबेला हामीले महंगो मूल्य तिरेरै पनि अक्सिजन सिलिन्डर किन्यौं’, सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीले भने, ‘अक्सिजनमा आत्मनिर्भरता बढाउन अक्सिजन प्लान्ट स्थापना गर्न आयात गर्नुपर्ने उपकरणमा कर, भन्सार छुट तथा सहुलियत कर्जाको प्रबन्ध सरकारले कार्यान्वयनमा ल्याएको छ ।’ उनले देशभित्रै अक्सिजनको पर्याप्त उत्पादन गर्ने सोच राख्दै हरेक १ सय शैय्याभन्दा बढी भएका अस्पतालले अनिवार्य रूपमा आफैंले अक्सिजन प्लान्ट राख्नुपर्ने व्यवस्था गरेको स्मरण गराए ।
प्रधानमन्त्रीले उद्योग सञ्चालनले जनतालाई मात्र नभई उद्यागीलाई पनि अवसर प्रदान गरेको बताउँदै लिक्विड अक्सिजन प्लान्ट स्थापनामा सरकारले यसअघि घोषणा गरेको सहुलियत प्रदान गरिने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री माननीय श्री हृदयेश त्रिपाठीले संकटको समयमा अक्सिजनको बिषयमा सरकार, सरकारी निकाय र समाजका सबै अङ्गहरूको सामूहिक प्रयासले नै यसलाई समाधान गरिएको उल्लेख गरे । अक्सिजन प्लान्ट स्थापनाको लागी उद्योगका सञ्चालकले सरकारलाई गरेको आग्रह मानेर नै प्रधानमन्त्रीले पनि उद्योग स्थापनाको लागी सहज बनाउन पहल गर्नुभएको पूर्व स्वाथ्यमन्त्री त्रिपाठीले बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री माननीय भोज प्रसाद श्रेष्ठले उद्योगलाई प्रदेश सरकारले पनि दिन सक्ने सहुलियत प्रदान गर्ने उल्लेख गरे छ । यसअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले उद्योगको अवलोकन गरे ।
कार्यक्रममा रोहिणी गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादव, रुपन्देहीका सुरक्षा निकायका प्रमुखहरू, स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्