काठमाडौं । प्रशासनले राप्ती नदीमा एक्जाभेटरलगायत ठूला मेसिन प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन् गर्न रोक लगाएको छ । ठेकेदारहरुले ठूला मेसिन प्रयोग गरेर जथाभावी उत्खनन् गरेको भन्दै स्थानीयले नदीमै पुगेर धर्ना दिएपछि प्रशासनले मेसिन प्रयोगमा रोक लगाएको हो ।
दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले भने, ‘राष्ट्रपति चुरे मधेश संरक्षण विकास समितिलगायत सम्बन्धित निकायले अनुमति नदिएको ठाउँमा मेसिन प्रयोग गरेर उत्खनन् नगर्न स्थानीय तहहरु र जिल्ला प्रहरी प्रमुखलाई निर्देशन दिएर रोक्न लगाइएको छं ।’
राप्ती नदीमा घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, गढवा गाउँपालिका, राप्ती गाउँपालिका,राजपुर गाउँपालिका, लमही नगरपालिका, बबइ गाउँपालिका, दङ्गशिरण गाउँपालिका, बङ्गालाचुली गाउपालिका, शान्तीनगर गाउँपालिकालगायत १० वटा स्थानीय तहले नदीजन्य पदार्थको ठेक्का लगाउने गर्छन् ।
अनुगमन नहुँदा ठेकेदारले ठुला मेसिन लगाएर जथाभावी र तोके भन्दा धेरै परिमाण उत्खनन् गर्दै आएका नागरिक समाज दाङका अध्यक्ष केबी मसालको भनाई छ ।











