Logo
Logo
विचार

धङधङीको मुर्छित राष्ट्रवाद


उमेश बन्जाडे


परिवर्तन र अग्रगमनका मुद्दालाई सधैँ परै बसेर गिज्याउने एउटा– पश्चागामी सोंच । आम जनताले नयाँ बिहानका लागि संघर्ष गरिरहेका बेला पुरातनको मझेरीबाट धारे हात लगाउँदै आत्मरति लिने एउटा– निरंकुश विचार । विदेशी शक्तिकेन्द्रसँग घाँटी जोडेर आफ्नै मातृभूमिमाथि बारम्बार प्रहार गरिरहने एउटा– अन्धो दृष्टिकोण । डाहा, इष्र्या र लालचले भरिएर पुक्क फुल्लिएको एउटा– मनुष्य आकृत बेलुन ।

अँध्यारो खोपीभित्र खिचडीहरु अनेक तरिकाले पकाइए । खलपात्रहरु यत्रतत्र खटाइए । हजारौं जनताको रगतले लेखिएको संविधान कुनै हालतमा जारी हुन नपाओस् भनेर दिल्लीका दूतहरु आफ्नो भरपर्दो मर्यादापालकको खोजीमा निस्किए । बाटोमा कुनै कष्टबिना विगत महाकाली सन्धिदेखिकै बफादार सुसारेलाई भेटेपछि प्रभुलाई पनि के चाहियो ?

यता सत्ताको बुइगलमा पुग्न कुनै जुक्ति नपाएर चौबाटोमा रुद्राक्ष जपिरहेको खलपात्र पनि भूमिका पाएको प्रति मख्ख बन्यो । यता संविधान जारी भयो । उता नाकाबन्दी हाबी भयो । र, भारतीय नाकाबन्दीको अनैतिक गर्भाधानबाट देशमा एकाएक एउटा सन्की राष्ट्रवाद जन्मियो । काँध थापेपछि नुनको सोझो त गर्नुपर्यो । होइन भने फेरि अर्कै कुनामा मिल्क्याइने पो हो कि भन्ने त्रास ।

फलतः त्यो राष्ट्रवादले विकास र समृद्धिमा उत्पातै मच्चाउन थाल्यो । यतिसम्म कि– यतै विकास, उतै समृद्धि, यहाँ शिलान्यास, त्यहाँ उद्घाटन भनेर उखान टुक्कासहितका फेहरिस्त बयान गर्दागर्दै समय बियाँलेर आसेपासे रिझाउने कर्ममै लिप्त रह्यो । सपनामा समेत दुईतिहाइ बहुमतको सरकार भनेर बर्बराउने सत्तासेठको काम गर्ने ढाँचा उँधोगति र फुर्ति धुर्तमति हुन पुग्यो ।

‘विधि र पद्धतिलाई पैताला मुन्तिर राखेर सनक र दनकको भरमा राज्यसत्ता हाँक्छु’ भन्ने दुस्साहसलाई उँधोगतितर्फ डोर्यायो । निरंकुुश महाराजाझैँ प्रस्तुत हुने शैलीबाट सबै आजित बने र अझै पनि बनिरहेका छन् । उदय हुनेबित्तिकै यो राष्ट्रवादले समृद्धिको छाल यसरी ल्यायो कि, अन्य दलहरु फुटाउने मात्रै होइन, आफ्नै दुईतिहाइ शक्तिशाली बहुमतको छातिसमेत चिराचिरा पार्यो । जनस्तरमा ओली सरकारले के गर्यो ? भनेर नसोधौं । भुइँमान्छेका कुरा गर्दा यो सत्तालाई रिंगटा लाछ ।

शीतल निवासको प्रेमपत्र देखाएर जनता तर्साउन खोज्ने राष्ट्रवाद प्रेमीहरुको पनि एउटा आफ्नै खेमा छ । सायद ‘भावनात्मक उत्तेजना’मा आएर होला, त्यो खेमाले रातदिन ‘बिरालोलाई सिरकले छोपेर म्याउँ गर्दैन’ भन्ने भ्रम छरिरहेको छ । दासहरुलाई दास बन्न नपाउँदा बडो पीडा हुन्छ रे ! सायद त्यसैको उपज हुनुपर्छ । उनीहरुको राष्ट्रवाद उदांगो भइसकेर सारा लोक लाजले भुतुक्कै हुँदासमेत उनीहरु लजाउँदैनन् । बरु हुट्टिट्याउँले झैँ आकाश थाम्छौं भनेर नांगो राष्ट्रवादको बलेनिमा उत्तानो परेका छन् ।

खोक्रो राष्ट्रवादलाई बहुमतको धङधङी लाग्यो । चौतर्फी असन्तोष व्यक्त हुँदा बेसुरे बन्यो । दैनिक उत्दण्ड र उखारमाउलो बन्दै गयो । यता जनआक्रोशको आगो दन्किँदै गइरहेको छ । खम्बामा टाँसिएर उदाएको मुर्छित राष्ट्रवादले अन्ततः भित्तामा पुगेर आफू अस्ताउन आतुर रहेको विभिन्न झलकहरु हाम्रो माझमा प्रष्ट देखाइरहेको छ ।

त्यसैले यो घमण्डले सुन्निएको रोगी राष्ट्रवादको अन्त्य निश्चित छ । किनकि, सन्की शोषकको बेसुर र विक्षिप्त दिमागले आत्मसमीक्षा गर्ने अनुमति दिँदैन । र यो कुरुप राष्ट्रवादमा त्यो कुरा लागू पनि हुन सक्दैन पनि ।

प्रतिक्रिया दिनुहोस्