Logo
Logo

कांग्रेसमा महाधिवेशनको सरगर्मी, सदस्यता छानबिन सुरु


दृष्टि संवाददाता


काठमाडौं । नेपाली कांग्रेसभित्र महाधिवेशनको सरगर्मी सुरु भएको छ । आजदेखि काँग्रेसले क्रियाशील सदस्यता छानबिन सुरु गर्ने भएको छ ।

शनिबार बसेको शीर्ष नेतासहितको केन्द्रीय पदाधिकारी बैठकले भदौ १६ देखि १९ गतेसम्म १४औं महाधिवेशन गर्ने गरी कार्यतालिका संशोधन गरेको हो ।

असार मसान्तभित्र क्रियाशील सदस्यता टुंग्याउनुपर्ने समयसीमा संशोधित कार्यतालिकामा उल्लेख छ । कांग्रेसको वैधानिक व्यवस्था अनुसार पार्टीको स्थानीयदेखि केन्द्रीय नेतृत्वसम्म चयन प्रक्रिया सुरु गर्नुअघि क्रियाशील सदस्यता टुंग्याउनुपर्ने छ ।

१३औं महाधिवेशनमा पाँच लाख क्रियाशील सदस्य रहेको कांग्रेसमा यसपटक दोब्बर बनाइएको हो । यो संख्या १४औं महाधिवेशनमा १० लाखभन्दा बढी हुनेछ । कांग्रेसमा यसबीचमा विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिक कांग्रेससँग एकीकरण भएको थियो भने सुनिल थापाको नेतृत्वमा राप्रपाका नेताहरु कांग्रेस प्रवेश गरेका थिए ।

हरेक महाधिवेशनमा कांग्रेसमा क्रियाशील सदस्यतालाई लिएर विवाद हुँदै आएको छ । क्रियाशील सदस्यमार्फत् नै वडादेखि केन्द्रीय नेतृत्वसम्म चयन हुने गर्छन् । क्रियाशील सदस्यबाटै पार्टीका महाधिवेशन प्रतिनिधि चयन हुन्छन् । तिनीहरुले नै केन्द्रीय नेतृत्व छनौट गर्ने भएकाले महाधिवेशनको परिणाम आफ्नो पक्षमा पार्न कांग्रेसमा क्रियाशील सदस्यतामै चलखेल हुने गर्छ ।

यस्तै कांग्रेसले साउन १२ गतेदेखि पार्टीका तल्ला तहमा अधिवेशन सुरू गर्ने भएको छ । महामन्त्री पूर्णबहादुर खड्काले गाउँ, नगरका वडा अधिवेशन साउन १२ गतेदेखि गर्ने गरी संशोधन गरिएको कार्यतालिका बिहीबार केन्द्रीय समिति बैठकमा पेश गरेका थिए ।

यो प्रस्तावमाथि आज पनि केन्द्रीय समितिमा छलफल हुने भएको छ । यसअघि कांग्रेसले असार ६ देखि वडा अधिवेशन गर्ने भनेको थियो । क्रियाशील सदस्यता टुंग्याउनै समय लागेकोले एक महिना पर अधिवेशन धकलिने भएको छ ।

केन्द्रीय समितिमा पेश भएको कार्यतालिका
गाउ/ नगर वडा अधिवेशन-२०७८ साउन १२ गते
गाउँ/नगरपालिका अधिवेशन-२०७८ साउन १६गते
प्रदेश सभा क्षेत्रीय अधिवेशन-२०७८ साउन २० गते
प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनरएक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिबेशन-२०७८ साउन २३ गते
एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन-२०७८ साउन २६ गते
प्रदेश अधिवेशन-२०७८ भदौ १ र २ गते
केन्द्रीय महाधिवेशन-२०७८ भदौ १६, १७, १८ र १९ गते काठमाडौंमा।

प्रतिक्रिया दिनुहोस्