काठमाडौं । युरोपेली च्याम्पियनसिपको समूह चरणको दोस्रो खेलमा फ्रन्स हारबाट जोगिएको छ । शनिबार भएको खेलमा फ्रन्स हंगेरीसँग १ १ को बराबरी खेलेका हो ।
बार्सिलोनाका फरवार्ड एन्टोइन ग्रिजमनले गोल गर्दै फ्रन्सलाई हारबाट जोगाए । घरेलु टोलीसँग १–० ले पछि परेको अवस्थामा ग्रिजमनले दोस्रो हाफमा गोल गर्दै फ्रान्सलाई हारबाट जोगाएका हुन् ।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा एटिला फिओलाले गोल गर्दै हंगेरीलाई १–० को अग्रता दिलाए । राफयल भरानको कमजोर क्लियरेन्समा रोलान्ड सल्लाईले काउन्टर अट्याकमा अघि फालेको बललाई एटिला फिओलाले गोल गर्न सफल भएका थिए ।
६६औं मिनेटमा एन्टोइन ग्रिजमनले गोल गर्दै खेललाई बराबरीमा ल्याए । फरवार्ड केलियन एम्बाप्पेको क्रसलाई हंगेरीको डिफेन्डरले क्लियर गर्न नसकेको बललाई ग्रिजमनले वान टचमा गोल गरेका थिए ।
यो बराबरीपछि समूह ‘एफ’ मा फ्रान्सले दुई खेलबाट ४ अंक जोडेको छ । हंगेरीले दुई खेलबाट १ अंक जोडेको छ । पोर्चुगलको ३ तथा जर्मनीले अंक जोड्न सकेको छैन । यही समूहको अर्को खेलमा केहीवेरमा पोर्चुगल र जर्मनी खेल्दैछन् ।












