Logo
Logo

बाँकेमा हतियार कारखाना भेटियो


- दृष्टि न्युज/संवाददाता



बाँके, १५ चैत ।
बाँकेमा बन्दुक बनाउने कारखाना भेटिएको छ । प्रहरीले नेपालगञ्जको डिएसपीरोडमा रहेको हतियार मर्मत गर्ने एउटा पसलमा छापा मारेर हतियार बनाउन प्रयोग हुने सामानहरु बरामद गरेको छ ।


नेपाल प्रहरीको प्रदेश नम्बर ५ अनुसन्धान समूह र वडा प्रहरी कार्यालय नेपालगञ्जको टोलीले शुक्रबार नेपालगञ्ज–५, डिएसपीरोडका ६० वर्षीय जङ्गवीर नेपालीले सञ्चालन गरिरहेको हतियार मर्मत गर्ने पसलमा छापा मारेको हो ।
हतियार मर्मतको अनुमति लिएको भए पनि नेपालीको हतियार मर्मत गर्ने तरिका र भण्डारण वैध नदेखिएका कारण हतियार निर्माणका सामानसहित उनलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रहरी निरीक्षक नारायण डांगीले जानकारी दिए ।
प्रहरीले जंगबहादुरको साथबाट हतियारमा प्रयोग हुने लामो नाल १० थान, काठको कुन्दा एक थान नयाँ सहित ७ थान, हतियारमा नम्बर राख्न प्रयोग हुने साँचो २६ थान, सानो एयर गन पेस्तोल १ थान, लामो स्प्रिंग ३ थान, हतियार बनाउन प्रयोग हुने बाकस, आरन लगायतका सामाग्री बरामद गरेको छ ।

यसैगरी हतियारमा प्रयोग हुने साँचो समेत बरामद भएको छ । जंगवीरले पुस्तैनीदेखि नै हतियार मर्मतको कार्य गर्दै आएको पाइएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्