Logo
Logo

शब्दयात्रा प्रकाशनले विभिन्न तीन विधाका स्रष्टालाई सम्मान गर्दै


दृष्टि संवाददाता


काठमाडौं । शब्दयात्रा प्रकाशनले आख्यानकार गीता केशरी, भाषा व्याकरण संरक्षणकर्मी शरच्चन्द वस्ती र चार वेदलाई नेपालीमा अनुवाद गर्ने अनुवादक तिलकप्रसाद लुइँटेललाई सम्मान गर्ने भएको छ ।

प्रशासनिक क्षेत्रमा लागेर अन्य विधामा महत्वपूर्ण योगदान गर्ने महिलालाई समर्पण गरिने प्रशासनिक महिला प्रतिभा सम्मान २०७८ सालका लागि आख्यानकार केशरी (काठमाडौँ)लाई समर्पण गरिने प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले राससलाई जानकारी दिए । यो सम्मानको आर्थिक व्यवस्थापन पूर्वसचिव तथा गायिका उर्मिला श्रेष्ठले गरेकी हुन् ।

यसैगरी अघिल्लो वर्ष सञ्चार माध्यमबाट प्रकाशित र प्रसारित लेख रचनामध्ये पाठकमतबाट उत्कृष्ट ठहरिएका स्तम्भकार वा लेखकलाई समर्पण गरिने स्तम्भकार सम्मान २०७८ सालका लागि नेपाली भाषा–व्याकरणको संरक्षण–सम्वद्र्धनमा उल्लेख्य योगदान गरेकामा शरच्चन्द्र वस्ती (सुनसरी) लाई समर्पण गरिने भएको छ । यस सम्मानको आर्थिक व्यवस्थापन पत्रकार हरिगोपाल प्रधानले गरेका हुन् ।

कुनैपनि विधाबाट राष्ट्रिय जागरणका क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्तित्वलाई समर्पण गरिने राष्ट्रझङ्कार सम्मान २०७८ सालका लागि चारै वेदलाई नेपाली भाषामा अनुवाद गरी प्रकाशन गाएका लुइँटेल (तेह्रथुम)लाई समर्पण गरिने भएको छ । यस सम्मानको आर्थिक व्यवस्थापन साहित्यकार कृष्णहरि मैनालीले गरेका हुन् ।

प्रकाशनले अन्वेषक भरत जङ्गम, प्राडा नन्दीश अधिकारी र निर्मला श्रेष्ठलाई सम्मान गर्ने घोषणा एक महिनाअघि गरेको थियो । प्रकाशनले प्रत्येक वर्ष नौ जना स्रष्टालाई सम्मान गर्ने गरेकामा बाँकी तीनजनाको नाम पनि छिट्टै सार्वजनिक गरिने जनाइएको छ । छनोट समितिले चयन गरेका व्यक्तित्वलाई नै प्रकाशनले सम्मान समर्पण गर्ने गरेको छ ।

प्रकाशनद्वारा प्राचार्य लोकेन्द्र ढकालको संयोजकत्वमा गठित सम्मानित व्यक्तित्व चयन समितिले अनलाइन बैठक बसी नाम छनोट गरेर नामावली उपलब्ध गराएका आधारमा घोषणा गरिएको उनले जानकारी दिए ।

उक्त समितिले शब्दयात्रा प्रकाशनबाट २०७८ सालको प्रथम चरणमा समर्पण गर्नुपर्ने नौ विधाका सम्मानबाट सम्मानित व्यक्तित्वमध्ये छ जनाको नाम छनोट गरेको छ । बाँकी तीन जनाको नाम पनि छिट्टै सार्वजनिक गरिने जनाइएको छ ।दोस्रो चरणमा पनि नौ गरी प्रकाशनले प्रत्येक वर्ष १८ जनालाई स्रष्टालाई सम्मान गर्ने गरेको छ । सम्मानपत्र र नगद रु पाँच हजार राशिसहित सम्मानित गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्