Logo
Logo

बादल समूहलाई समेटेर एमाले राष्ट्रिय प्रतिनिधि परिषद विस्तारको तयारी

पूर्वमाओवादी समूहका ५६० जनाको नाम टुंगो


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही १६ गते दशौँ महाधिवेशन आयोजक समितिको बैठक बोलाएका छन् । बालुवाटारमा बस्ने उक्त बैठकले राष्ट्रिय प्रतिनिधि परिषद विस्तार गर्ने तयारी गरेको छ । जसका लागि पूर्वमाओवादीको बादल समूहले आफ्नो तर्फबाट ५६० जनाको नाम पठाएको छ । हाल परिषदमा ११९९ सदस्य रहेका छन् ।

शनिबार बादलको नेतृत्वमा बसेको पूर्वमाओवादी समूहका नेताहरुको बैठकले राष्ट्रिय प्रतिनिधि परिषदमा पठाउने ५६० जनाको नाम टुंगो लगाएको हो ।

आइतबार बसेको स्थायी समिति बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले १६ असारमा दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक बोलाएका हुन् । उक्त बैठकले परिषदका सबै नामहरु टुंगो लगाउने तयारी गरिएको एमालेका एक नेताले बताए । उनका अनुसार माओवादी त्यागेर एमालेमा लागेकाहरुलाई परिषदमा राख्न ५६० जनाको नाम पठाएको छ ।

गत ५ पुसमा प्रतिनिधिसभा विघटन गरेपछि अध्यक्ष ओलीले ११९९ सदस्यीय केन्द्रीय कमिटी बनाएका थिए । त्यसपछि दोस्रोपटक प्रतिनिधिसभा विघटन गर्दासम्म २६४ सदस्यीय महाधिवेशन आयोजक समिति बनाइएको थियो ।

परिषदमा केन्द्रीय सदस्यहरुसमेत पदेन सदस्य हुने भएकाले हाल एमालेको राष्ट्रिय प्रतिनिधि परिषद ११९९ सदस्यीय रहेका छन् । यसमा ५६० जनाको नाम थप्न बादल समूहले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्