Logo
Logo

कहाली लाग्दो व्यापार घाटा र कांग्रेसपथमा सरकार


रवीन्द्र श्रेष्ठ ।


यस आर्थिक वर्षको पाँच महिनामा ५६९अर्ब रुपैयाँ वरावरको व्यापार घाटा भएको छ । यो भनेको गत वर्ष भन्दा ३५.५ प्रतिशतले वढी हो । नेपाल सरकारको वार्षिक वजेट यसपाली १३१५ अर्ब छ । १३१५ अर्ब वार्षिक वजेट भएको नेपाल सरकारको लागि पाँच महिनामा नै ५६९ अर्ब व्यापार घाटा हुनु भनेको कहालीलाग्दो स्थिति हो । 

कम्युनिष्ट प्रधानमन्त्री, कम्युनिष्ट अर्थमन्त्री र वहुमत सहितको स्थिर सरकार भएको वेला पनि यसरी कहाली लाग्दो व्यापार घाटा हुनु भनेको आर्थिक नीतिको गम्भीर असफलता नै हो । 

यसखाले व्यापार घाटाले देश भित्र औद्योगिक र उत्पादनशील क्षेत्रको विकासमा गम्भीर समस्या रहको देखाउँछ । यसले देश भित्र रोजगारी श्रृजनाको संकट पनि स्पष्ट गर्दछ । यसले कम्युनिष्ट अर्थमन्त्रीले पनि पंच र कांगे्रस अर्थमन्त्री कै नीतिलाई निरन्तरता दिएको प्रमाणित हुन्छ । 

नेपालमा पर्यटनको विकासका लागि अरवौं सरकारी वजेट लगानी भैरहेकोछ । तर   विदेशी पर्यटकले नेपालमा खर्च गर्ने रकम  भन्दा नेपालीहरुले विदेशमा खर्च गर्ने रकम यस पाँच महिनामा १० अर्ब वढी खर्च गरेको सरकारी तथ्यांकमा जनाइएकोछ । विदेशी पर्यटकले नेपालमा यस पाँच महिनामा २५०५ करोड रकम खर्च गरेको रहेछ । जबकी नेपालीहरुले विदेश भ्रमणमा ३४९१ करोड रकम खर्च गरेको रहेछ । 

यस कहाली लाग्दो व्यापार घाटा कम गर्ने प्रमुख उपाय भनेको उत्पादनशील उद्योग व्यवसायहरु चलाउन चाहनेहरुलाई व्यापक मात्रामा कर कटौती गर्नु पहिलो शर्त हो । त्यसपछि उनीहरुका लागि चाहिने कच्चा पदार्थ तथा मेशिनरी सामानहरुको भंसारमा व्यापक छुट दिनु दोश्रो शर्त हो । तेश्रो, त्यस्ता कम्पनि स्थापना र संचालनमा ३० वटा कार्यालय धाउनु पर्ने चलन हटाएर एकद्वार प्रणाली स्थापना गर्नु पर्दछ । चौथो, सरकारी भ्रष्टाचार र चन्दा आतंक वन्द गरिनु पर्दछ । 

स्वदेश मै वन्न सक्ने र वन्ने सामानहरु विदेशवाट आयात गर्न निरुत्साहन गर्न आयातमा थप भंसार लगाउनु पर्दछ । अनावश्यक सामानहरुको आयातमा प्रतिवन्ध लगाइनु पर्दछ । 

यस पाँच महिनामा सुन आयातमा मात्रै १४६५ करोड रुपैया वाहिर गएको छ । यसलाई निरुत्साहित गर्न सुन आयातमा भंसार वढाउने र  उत्पादनशील व्यवसायहरुका लागि चाहिने सामानहरुको आयातमा भंसार महसुल सून्यमा झार्न सकिन्छ । 

पाँच महिनामा १६४६ करोड रुपैयाँ वरावरको तयारी पोशाक आयात भएको रहेछ । तयारी पोशाक आयातमा भंसार वढाउने र यहाँका तयारी पोशाक उद्योगका लागि चाहिने मेशिन र कच्चा पदार्थमा भंसार सून्यमा झार्नु पर्दछ । अनि यहाँका तयारी पोशाक उद्योगले थप क्षमता विस्तार गर्दछ, नयाँ पनि स्थापना गर्न प्रोत्साहन हुन्छ, यहाँ चाहिने तयारी पोशाक यहीँ वन्न सम्भव छ । 

नेपालको जुत्ता उद्योगले यहाँको करीव ६५ प्रतिशत माग धानिरहेको छ । यहाँका उद्योगहरु पूर्ण क्षमतामा चलाउने हो भने सबै माग नेपाली उद्योगहरुले आपुर्ति गर्न सक्ने रहेकोछ । त्यसैले विदेशवाट आउने जुत्तामा भंसार वढाउने, स्वदेशी जुत्ताका लागि चाहिने कच्चा पदार्थ र मेशिन आयातमा भंसार शुल्का सून्यमा झार्ने तथा कच्चा पदार्थ उद्योगहरुको विस्तारमा पनि सरकारले प्रोत्साहन दिने हो भने नेपाल जुत्तामा आत्मनिर्भर एक दुई वर्ष मै हुने रहेछ । तर सरकारले यस्तो नीति लागू नगरी दलाल पूँजीवादी नीति अपनाइरहेकोछ । 

पाँच महिनामा १४५५ करोड वरावरको औषधी आयात भएकोछ । सरकारले यहाँका औषधी उद्योगहरुलाई चाहिने कच्चा पदार्थ र मेशिन आयातमा भंसार सुन्य वनाउने हो भने यो रकम वाहिर जान पाउँदैन । नेपाली उद्योगले नै यहाँ चाहिने औषधी केही वाहेक सबै वनाउन सक्दछ । 

तर सरकार पंच र कांग्रेस कै अर्थनीतिमा अघि वढीरहेको छ । पशुपति नाथले कृपा नगरे आगामी वर्षहरुमा सरकारले कर्मचारी सेना प्रहरीलाई तलव खुवाउन पनि नसक्ने स्थितिमा पुग्नेछ । तलव खुवाउन अहिले देखि नै विदेशी सहायता खोज्न पर्ने स्थिति आउन थालेको छ । 

प्रतिक्रिया दिनुहोस्