Logo
Logo

महामारीमा हत्या र आत्महत्याको श्रृङखला


दृष्टि संवाददाता


काठमाडौं । कोरोना महामारीकै बीचमा देशमा डरलाग्दा अपराध बढ्न थालेका छन् । खासगरी हत्या र आत्महत्याका घटना बढ्न थालेको प्रहरीले जनाएको छ । पछिल्लो केही सातामा देशैभरी हत्याका घटना भएका छन् । त्यसमध्ये कतिपय योजनाबद्ध त कतिपय आवेगप्रेरित घटना छन् । धेरै जसो हत्या सामान्य विवादमा भएका छन् । जसमा समाजमा बढ्दै गएको बिचलन प्रष्ट हुन्छ ।

सन्तोषी सुब्बाको हत्या
जनावरको आवाज निकालेर चर्चित बनेकी सन्तोषी सुब्बाको गत साता दक्षिणकालीमा बिभत्स हत्या भयो । यो हत्या गरिबी, अतृप्त यौन तृष्णा र मदिरासँग जोडिएको छ । चरम गरिबीको कारण सन्तोषीले ज्यान गुमाउन पुगिन् । उनलाई बस्ने ठाउँको व्यवस्था गर्ने भन्दै सुरेश तिमल्सिनाले यौन सम्बन्ध राख्न खोज्दा विवाद भएपछि उनले हत्या गरेका थिए । काठमाडौं महानगरपालिका–७ कालोपुल बस्दै आएकी सुब्बाको शव क्षतविक्षत अवस्थामा दक्षिणकाली मन्दिर छेउको शौचालयमा भेटिएको थियो ।

सन्तोषी सुब्बासँग जंगली जनावर तथा चराचुरुंगीको आवाज नक्कल गर्न सक्ने विलक्षण क्षमता थियो । यही क्षमतालाई नै उनले जीवन गुजाराको माध्यम बनाउँदै आएकी थिइन् । युट्युवमा पनि यही कलाका कारण उनी चर्चित बनेकी थिइन् ।

निषेधाज्ञाको समयमा आर्थिक समस्या भएपछि उनी बुबा भेट्न भनेर दक्षिणकाली गएकी थिइन् । तर, उनी बजारतिरै बसिन् । जनावर तथा चराको आवाज निकाल्दै केही सहयोग मागिरहेकी थिइन् । तिमिल्सनाले उनलाई वाच गरिरहेका थिए । तिमल्सिनाले सन्तोषीसँग कुरा गर्न थाले । सन्तोषीले आफूलाई बस्ने ठाउँको समस्या रहेको बताएपछि तिमिल्सनाले आफ्नो बसमा बस्ने व्यवस्था मिलाउने आश्वासन दिए । त्यही क्रममा दक्षिणकाली पार्कतर्फ गएर उनले सम्बन्ध राख्ने प्रस्ताव गरे ।

सन्तोषीले नमानेपछि आवेगमा आएर उनी हत्या गरी भागेका थिए । प्रहरीले प्राविधिक अनुसन्धान गरी उनको संलग्नता पत्ता लगाई भोलिपल्टै उनलाई पक्राउ गर्न सफल भयो । यो घटनाले गरिबी र यौन तृष्णाले कसरी हत्या जस्तो घटना हुन्छ भन्ने देखाएको छ । साथै तिमल्सिना मदिराको नसामा भएकाले पनि उनले हत्या गरेको प्रहरीको आशंका छ । सुरुमा सलले घाँटी बाधेर पछि ढुंगाले टाउकोमा हानी उनले हत्या गरेको प्रहरीले जनाएको छ ।

रिसइवीमा प्रधानाध्यापकलाई खोलामा बगाइयो

म्याग्दीको बेनीमा गत साता प्रधानाध्यापकको हत्या भयो । बेनी नगरपालिका वडा नम्बर ५, बगुवाखोलास्थित बालजागृति आधारभुत विद्यालयका प्रधानाध्यापक भक्तबहादुर कार्कीलाई हत्यापछि म्याग्दी नदीमा बगाइदिएको थियो । तीनदिनदेखि बेपत्ता कार्कीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेका स्थानीय ३१ वर्षीय सञ्जय बानियाँले ब्यक्तिगत रिसिबीका कारण हत्या गरेको बयान दिए ।

असार ६ गते विहान फोटोकपी गर्न विद्यालयमा आएका प्रअ कार्कीलाई विद्यालयबाट करिब डेढ सय मिटर पश्चिमतर्फ पैदल हिडिरहेको अवस्थामा पछाडीबाट आक्रमण पश्चात् हत्या गरी शवलाई म्याग्दी नदीमा फालेर बगाइएको थिए ।

‘आरोपीले अचेत अवस्थामै म्याग्दी नदीमा बगाइदिएको प्रारम्भिक बयान दिएका छन्,’ म्याग्दीका डिएसपी श्याम कुमार राईले भने । कार्कीले प्रतिबाद गर्न खोजेपछि उनलाई बेपत्ता बनाउने उदेश्यले त्यसरी खोलामा बगाइदिएका थिए ।

घटनालगत्तै घरमा पुगेर रगतले लतपतिएको कपडालाई फालेर भकिम्ली आसपासको घटनास्थलको पारीबाट पर्वतको मालढुंगा हुदै ट्रकमा चढेर भारततर्फ जान खोजेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । आरोपी बानियाँकी श्रीमती विद्यालयमा रहेको वौद्धिक अपाङ्ता स्रोतकक्षाकी कर्मचारी हुन् । प्रअ कार्कीसँग आरोपी बानियाँले यसअगाडि समेत पटक–पटक विवाद गर्दै आएका थिए । उनी करिब ५ वर्ष मलेसिया र केहीबर्ष भारतमा रोजगारी गरी फर्किएका थिए । बिद्यालयको सामान्य विवादमा उनले प्रअको हत्या गरेपछि यो घटनाले म्याग्दीबासी नै स्तब्ध बनेका छन् ।

महोत्तरीमा अर्काे डरलाग्दो घटना

महोत्तरीमा गत १९ जेठदेखि बेपत्ता भएकी एक महिलाको हत्या भएको खुलेपछि अनुसन्धान भइरहेको छ । लोहारपट्टी नगरपालिका–७ घर भएका मुकेश ठाकुरकी श्रीमती सुजितादेवी ठाकुरको शव खेतमा गाडिएको अवस्थामा फेला परेको छ । उनी १९ जेठदेखि बेपत्ता थिइन् ।

उनको माइती पक्षले ससुरा ५० वर्षीय पतिराम ठाकुर, देवर २६ वर्षीय रूपेश ठाकुर र देउरानी २५ वर्षीया रोमी ठाकुरविरुद्ध प्रहरीमा किटानी जाहेरी दिन खोजेकोमा तत्काल प्रहरीले उक्त जाहेरी लिन इन्कार गरेको थियो । त्यसपछि खोजतलासका लागि पीडित परिवारले निवेदन दिएका थिए । उनीमाथि परिवारबाटै हिंसा हुँदै आएको थियो ।

छोराबाट दुई बुबा मारिए

गत साता आफ्नै छोराबाट दुई बुबाको हत्या भएको छ । धनुषामा अंशको विवादलाई लिएर एक युवकले बुबाको हत्या गरे । धनुषाधाम नगरपालिका–१ काशीपुर बस्ने ७० वर्षीय विशो यादवलाई आफ्नै कान्छो छोरा श्रीकृष्ण यादवले १० असारको राती हत्या गरेका हुन् ।

राती घरमा सुतिरहेका बुबालाई कृष्णले मसला कुट्ने खल प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए । केही दिन अघिदेखि परिवारमा अंशबन्डाको विषयलाई लिएर विवाद हुँदै आएको थियो ।

प्रहरीले शुक्रबार बिहानै घटनाको अनुसन्धान गरी घटनामा संलग्न कान्छो छोरालाई पक्राउ गरेको छ । अभियुक्तलाई घरबाटै पक्राउ गरिएको उपरीक्षक रानाभाटले जानकारी दिए ।

उता खोटाङमा शनिबार छोराले आफ्नै बाबुको हत्या गरेका छन् । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्मानिवासी २८ वर्षीय सुवर्ण राईले ७२ वर्षीय बाबु चन्द्रबहादुर राईको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बिहान पौने ५ बजे छोरा सुवर्णले वृद्ध बुबा चन्द्रबहादुरको गर्धनमा खुकुरी प्रहार गरी हत्या गरेका थिए । बाबुको हत्या गरी फरार भएका सुवर्णलाई जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले सोही वडाको अल्छेढुंगाबाट पक्राउ गरेको छ । पारिवारीक विवादले हत्या भएको बताइएको छ ।

बलात्कार प्रयासपछि बालिकाको हत्या

सप्तरीमा गत साता नै एउटा दर्दनाक हत्या भयो । ४ असारमा डाक्नेश्वरी नगरपालिका–३ हटैलकी नौ वर्षीया शिवानी यादवको बलात्कार प्रयासपछि हत्या भएको खुलेको छ ।

हत्या आरोपमा प्रहरीले गाउँका १९ वर्षका युवक रोहितकुमार यादवलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार करणी प्रयासको पोल खुल्ने डरले उनको हत्या भएको हो । यादवलाई नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा आइतबार राति पक्राउ गरिएको सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।

प्रहरीका अनुसार गत शुक्रबार शिवानी र उनकी बहिनी बाख्रा चराउन र घाँस काट्न सँगै घरबाट निस्केका थिए । बहिनी बाख्रा हेर्न गएका वेला शिवानी आँप टिप्न छिमेकीको बगैँचामा गएकी थिइन् । त्यही वेला भेटिएका रोहितले आँप दिने लोभ देखाएर करणी प्रयास गरेको एसपी धमलाले बताए ।

सामान्य विवादमा, वडाअध्यक्षको हत्या

गत साता नै सर्लाहीको ईश्वरपुरमा स्काभेटरको बकेटले हानेर वडाध्यक्षको हत्या भयो । शुक्रबार राति करिब ११ बजेतिर ईश्वरपुर नगरपालिका–३, का वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको हत्या भएको हो ।

यो हत्या पनि सामान्य विवादमा भएको प्रहरीले जनाएको छ । वडाध्यक्ष र डोजर चालकबीच विवाद भएको र चालकले डोजरको बकेटले हानेर श्रेष्ठको हत्या गरेका हुन् ।

उनीहरू पहिला घटनास्थलनजिकैको होटेलमा बसेर खाजा खाएका थिए । खाजा खाँदै जाँदा उनीहरूबीच मनमुटाव भएको थियो । विवाद बढेपछि चालकले अचानक नजिकै रहेको स्काभेटर स्टार्ट गरी बकेटले हानेर वडाध्यक्षको हत्या गरी हिलो माटोले पुरेका थिए ।

प्रहरीले जेसिबीका ठेकेदार ईश्वरपुर नगरपालिका–३ निवासी ३५ वर्षीय प्रेमराज दाहाल र जेसिबीका चालक हरिपुर नगरपालिका–१ ‘हजार विगाह’का ३८ वर्षीय रविन भन्ने हर्कबहादुर तामाङलाई नियन्त्रणमा लिएको छ ।

दैनिक २० भन्दा धेरै आत्महत्या

कोरोना महामारीपछि आत्महत्याका घटना पनि बढेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार दैनिक २० भन्दा धेरैले नेपालमा आत्महत्या गर्ने गर्दछन् । कोरोना महामारीको समय थप तनाव बढेको हुनसक्ने र त्यसका कारण पनि आत्महत्या बढेको हुनसक्ने प्रहरीको आँकलन छ । महामारीपछि कतिपयमा आर्थिक समस्या समेत बढेको छ । आर्थिक समस्याका कारण पनि नेपालमा ठूलो संख्यामा आत्महत्या हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्