Logo
Logo

विपद् व्यवस्थापनको पूर्व तयारीमा बस्न गृहमन्त्रीको निर्देशन


दृष्टि संवाददाता


काठमाडौं । गृहमन्त्री विष्णुप्रसाद पौडेलले विपद व्यवस्थापन तथा त्यसबाट हुनसक्ने सबै खालका क्षति न्यूनीकरणका लागि तयारी अवस्थामा बस्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

गृहमन्त्रालयमा बिहीबार बसेको विपद् सम्बन्धी बैठकमा उपप्रधान तथा गृहमन्त्री पौडेलले देशका विभिन्न ठाउँमा अतिवृष्टिबाट सिर्जित जोखिमलाई विशेष ध्यान दिएर आवश्यक तयारी गर्न निर्देशन दिएका हुन् ।

विपत व्यवस्थापन तथा पूर्व तयारीका साथसाथै, उद्धार, राहत र पुर्नस्थापनाको कार्यलाई समेत उच्च प्राथमिकता दिएर काम गर्न उनले निर्देशन दिए । राहत र उद्धारका लागि स्रोतको कुनै अभाव नहुने जानकारी दिँदै गृहमन्त्री पौडेलले विपद्का घटना भएपछि के गर्ने भन्दा पनि पहिले नै कसरी घटनाहरूलाई न्यूनीकरण गर्न सकिन्छ भन्नेमा केन्द्रित हुन पनि आग्रह गरे ।

राहत र उद्धारका लागि अन्तरमन्त्रालय र विभिन्न निकायबीच समन्वय हुनुपर्नेमा जोड दिँदै क्षति न्यूनिकरणका लागि एकीकृत कार्य योजना ल्याउने तयारी भइरहेको उनले बताए ।

सो अवसरमा गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले कोषमा पाँच अर्बभन्दा बढी रकम रहेकाले राहत र उद्धारमा स्रोतको कमी नहुने बताए ।
बैठकमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बाढी पहिरो लगायतले पुर्याएको क्षति र नोक्सानीको एकिन विवरण र आर्थिक लागत निकाली पुर्नस्थापना र पुननिर्माणका कार्यहरु अघि बढाउने तयारी भएको बताए ।

प्रतिक्रिया दिनुहोस्