Logo
Logo

सेनामा ‘विप्लव आतंक’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले राजनीतिक आवरणमा अपराधिक गतिविधि बढाउँदै लगेपछि सरकारले उसलाई प्रतिबन्ध लगाएर कारबाहीमा तिव्रता दिएको छ । सरकार आक्रामक बनेपछि सो समूहका हिंसात्मक घटना नियन्त्रणमा आएका छन् ।

तर, विप्लव प्रकरण नेपाली सेनामा भने ठूलै तरंग निम्त्याएको छ । विप्लव प्रकरणको समाधान राजनीतिक माध्यमबाटै गर्नुपर्ने पक्षमा सेना रहेको खबर सार्वजनिक भएपछि यसले तरंग उत्पन्न गरेको हो । सेनाका प्रवक्ता याम प्रसाद ढकालकै भनाईसहित यस्ता समाचार आएपछि सरकारले प्रधान सेनापति पूर्णचन्द्र थापासँग स्पष्टिकरण सोधेको थियो । सेनापतिले गलत समाचार आएको बताए । तर, यही कारण तीन महिनामै सैनिक प्रवक्ता भने फेरिएका छन् ।

राम्रोसँग मिडिया ह्यान्डल गर्न नसकेको आरोपमा प्रवक्ता ढकाल तीन महिनामै फेरिएका छन् । स्रोतका अनुसार उनीमाथि झंकर कडायतको नेतृत्वमा छानबिन भएको थियो । हुन त उनले सरकारको विरोधमा बोलेको प्रमाण भेटिएन तर पनि मिडियालाई राम्रोसँग बुझाउन नसकेको भन्दै सरुवा गरिएको छ । प्रवक्ताको जिम्मेवारी सहायकरथी विज्ञानराज पाण्डेलाई दिइएको छ ।

त्यस्तै केही पूर्व सैनिक अधिकारीले समेत यो विषयलाई चर्काउने प्रयास गरेका छन् । निवर्तमान सेनापति राजेन्द्र क्षेत्रीले विप्लव प्रकरणमा सरकारको आलोचना गरेका छन् । सरकारले सो समुहमाथि बल प्रयोग गर्न नहुने बताएका छन् । उनले सेना र सरकारबीच नै फाटो ल्याउने किमिसका अभिव्यक्ति दिएका थिए । त्यस्तै अर्का अवकाशप्राप्त सैनिक अधिकारी प्रेमसिंह बस्नेतले पनि त्यस्तै अभिव्यक्ति दिएका थिए । उनीहरुमाथि कारबाही गर्नूपर्ने माग समेत कतिपयले गरेका छन् । सरकारविरुद्ध लागेकाले पेन्सन नै रोक्नुपर्ने आवाज समेत उठेको छ ।

त्यसो त अवकाशपछि संगठनको आलोचना गर्नेहरुलाई सेनाले कारबाही गरी उनीहरुको सुविधा खोस्ने गरेको छ । सहयोग फिर्ता बोलाउनेदेखि औपचारिक कार्यक्रम नबोलाउने गरेको छ । तर, सरकारविरुद्ध लाग्ने र संवेदनशील विषयमा अनाबश्यक प्रचारवादी गर्ने पूर्व सैनिकमाथि भने कारबाही हुने गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्