Logo
Logo

तिजाली-पच्नाली खानेपानी योजनाको ठेक्कामा गडबड

गुणस्तरहीन कार्य भएको स्थानीयको आरोप


हिक्मत बम


डोटी । विकास निर्माणका कार्यमा ठेक्का सम्झौता भएको कम्पनीले अन्य पेटी ठेकदारहरुसंग कमिशन खाएर ठेक्का बिक्री गर्ने जस्ता घिन लाग्दो कार्यले ईमान्दार निर्माण व्यवसायीहरुको बदनाम हुने गरेको पाइएको छ । कुनैपनि निर्माण कार्यको टेन्डर आव्हान भएपछि ठेक्का पार्न सफल हुने व्यवसायीले सरकारी कार्यालयसंग सम्झौता गरेर अन्य पेटी ठेकेदारबाट मनग्य पैसा असुलेर ठेक्का बिक्रि गर्ने र दालली गर्ने परिपाटी हावी हुँदै जान थालेपछि कामको गुणस्तरमा गिरावट आउनुका साथै राज्यको सम्पतिमाथी समेत चरम चुहावट आउने गरेको पाइएको छ ।

त्यस्तै, डोटी जिल्लाको शिखरनगरपालिका अन्तरगत पर्ने तिजाली, पच्नाली मुडभरा खानेपानी आयोजनाको ठेक्का पाएको निर्माण कम्पनीले आफूले काम नगरी पेटी ठेकेदारलाई विक्रि गरेर काम गराउँदा कम गुणस्तरको काम भैरहेको तथ्य बाहिर आएको छ ।

ठेक्का पाएको नागार्जुन जेभिआर कम्पनीले उक्त योजनाको काम पेटी ठेक्कामार्फत गराउँदा कामको गुणस्तरहीन कार्य भैरहेको पाइएको छ ।
ठेक्का पाएको निर्माण कम्पनीले भ्याट बाहेक दुई करोड ९१ लाख ४९ हजार ६४ रुपैयाँ १५ पैसामा ठेक्का सम्झौता गरेको थियो ।

कम्पनीले संघीय खानेपानी तथा ढल व्यवस्थापन विभागको क्षेत्रीय कार्यालय धनगढीसंग छ महिनामा काम सम्पन्न गर्ने गरी ९ असाेज २०७७ मा सम्झौता गरेको थियो । निर्माण कम्पनीले सम्झौता गरेको उक्त योजनाको काम मिति १८ चैत २०७७ मा सम्पन्न गर्ने गरी सम्झौता गरेको भएपनि सम्झौता अवधिभित्र काम सम्पन्न हुन नसकेको स्थानीयले बताएका छन् ।

ठेक्का सम्झौता अनुसारको काम गर्नुपर्ने निर्माण कम्पनी जेभिआरले पेटी ठेकेदारलाई काम बेचेकाले समयमै काम सम्पन्न हुन सकेको देखिदैन । ठेक्का पाएको सो कम्पनीका प्रतिनिधि धनश्याम पाठकले उक्त योजना जोरायल गाउँपालिका वडा नम्बर १ घण्टेश्वर बस्ने खेमबहादुर मगरलाई विक्रि गरेको तथ्य बाहिर आएको छ । पाठक पहिलो पक्ष बनेर दोस्रो पक्ष खेमबहादुर मगरलाई ठेक्का रकमको ६० प्रतिशत पाउने गरी विक्रि गरको लिखित प्रमाण फेला परेको छ ।

त्यसैगरी खेमबहादुर मगरले आफूले पाएको ठेक्का पनि कमिशनको आधारमा तेस्रो व्यक्तिलाई विक्रि गरेको पाइएको हो । यसरी निर्माण कम्पनीले ठेक्का सम्झौता अनुसार काम नगर्दा र कमिशनको आधारमा पेटी ठेकेदारलाई काम बेच्दा समयमा नसकिने र काममा पनि गुणस्तरहीन हुने देखिन्छ । जसले गर्दा निर्माण सम्पन्न विकास निर्माणका कामहरु निर्माण सम्पन्न भएको केहि महिनामै बिग्रिने गरेको पाइन्छ ।
सो ठेक्कालाई फेरी जोरायल गाउँपालिकाको सरस्वतिनगर बस्ने लिला ओलीलाई दोस्रो पक्ष बनाएर खेमबहादुर मगरले विक्रि गरेको प्रमाण पनि फेला परेको छ ।

उनीहरु बिच २०७७ कार्तिक १ गतेको दिन लिखित कागज भएको हो । खेम मगरले लिला ओलीलाई उक्त योजना एक करोड ३० लाखमा विक्रि गरेको देखिन्छ । मगरले पनि ठेक्काको ६० प्रतिशत पाउनेगरी तिजाली, पच्नाली मुडभरा खानेपानी आयोजना बेचेको पाइएको छ । खेमबहादुर मगरले पाएको ठेक्का फेरी कमिशनका आधारमा तेस्रो व्यक्तिलाई समेत विक्रि गरेको पाइएको हो ।

दुई करोड ९१ लाखको ठेक्कालाई एक करोड ७० लाखमा विक्रि गरेर काम गर्दा कस्तो काम भएको होला भन्ने प्रश्न चिन्ह्र खडा भएको छ । यसरी ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले कमिशन लिएर काम बेच्दा र कमिशनै कमिशनमा योजना निर्माण हुँदा गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग गरेर काम भएको हुनसक्ने बुझ्न सकिन्छ । खानेपानी आयोजनाका अध्यक्षको मृत्यु भएकाले हरेक आर्थिक गतिविधिहरुलाई सुचारु गर्न नसकिएका कारण ठेकेदारले अन्य उपभोक्तालाई हातमा लिएर काम गरेकोले गुणस्तरमा खस्किदो अवस्था देखिएको स्थानीयहरु बताउँछन् ।

यस विषय निर्माण कम्पनीका प्रतिनिधि धनश्याम भुषालसंग बुझ्दा उनले आफूले उक्त योजनाको काम पेटी ठेक्का मार्फत ४० प्रतिशत निर्माण कम्पनीको हुने र ६० प्रतिशत पेटी ठेकेदारको रहनेगरी काम दिएको स्वीकार गर्छन् । ।

शिखरनगरपालिका अन्तरगत पर्ने तिजाली, पच्नाली मुडभरा खानेपानी आयोजनाको १२ हजार लिटरको फिल्टरेशन ट्यांकी निर्माणका लागि उक्त बजेट विनियोजन गरिएको थियो । बजेट अनुसारको काम नहुँदा स्थानीयहरु आक्रोसित भएका छन् ।

पछिल्लो समय विकास निर्माणमा निर्माण कम्पनीहरुले काम पेटी ठेक्का मार्फत गराउँदा गुणस्तरहीन निर्माण सामग्रीहरुको प्रयोग गरेर काम गर्ने गरेको बताइन्छ । यो त एक उदाहरण मात्र हो ।

यस्ता थुप्रै निर्माण कम्पनीहरु छन, जो पेटी ठेक्का मार्फत काम गराइरहेका छन । जसले गर्दा गुणस्तरिय काम हुन सकेको छैन । गुणस्तरिय काम नहुँदा र गुणस्तरहीन निर्माण सामग्रीहरुको प्रयोग गरेर विकास निर्माण गरिदा निर्माण कार्य सम्पन्न नहुँदै र निर्माण कार्य सम्पन्न भएको महिना दिन नपुग्दै तहसनहस हुने गरेको देखिन्छ

प्रतिक्रिया दिनुहोस्